जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याइएको नभई लुटिएको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बैंक लुटेजसरी चार यारहरूले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबन्डा गरेको बताए। वैशाखमा बारामा मतपेटिका लुटेको सरकारले जेठमा बजेट लुटेको उनको आरोप छ।
‘बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्ने कुरा स्पष्ट देखिँदैन । यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ । बजेट बनाएको, ल्याएको होइन । बजेट लुटेको हो जस्तो स्पष्ट देखिन्छ । जसरी बैंक लुट्दाखेरि चार यारहरूले बैंक लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरूले लुटेर गएकाजस्ता देखिन्छन् । बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ । चार यारहरू मिलेर, अँध्यारोमा गएर बाँडफाँट गरेजस्तो स्पष्ट रूपमा देखिन्छ,’ उनले भने।
अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरू कार्यान्वयन नहुने गरेकोमा पनि असन्तुष्टि जनाए। एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टपसमेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद् र सांसदहरूको निरीहता भएको उनको भनाइ छ।