शंकाको सुविधा दिएर मधेसमा विश्वासको मत दियौँ : नेता भट्टराई

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन् ।एमालेले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलोपटक जनकपुरधाम आएका एमाले सचिव भट्टराईले शंकाको सुविधाकै आधारमा एमालेले मधेस सरकारलाई विश्वासको मत दिएको बताएका हुन् ।

मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकांकमा सबैभन्दा पछाडि परेको प्रदेश रहेकाले विकासको खाँचो रहेको बताए । उनले प्रदेशको विकासका लागि कोही पनि विरोधी बन्नु नहुने बताए । उनले एमालेबाट प्रदेश विकासमा कुनै विरोध नहुने स्पष्ट पारे ।  

उनले भने, ‘मधेस प्रदेश आर्थिक–सामजिक रूपमा पछाडि परेको प्रदेश हो, यो प्रदेशको विकासमा हामी अवरोध बन्नुहुँदैन भन्ने सोचेर नै मुख्यमन्त्रीजीलाई विश्वासको मत दिएका हौँ, यसमा हाम्रो कुनै राजनीतिक लेनदेन भएको होइन ।’ 

सचिव भट्टराईले नागरिकता समस्या समाधान गर्नका लागि फेरि नयाँ विधेयक नै ल्याउनुपर्ने स्पष्ट पारे । उनले जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताउँदै वर्तमान सरकारले प्रमाणीकरण गराएको विधेयकमा आफूहरूको केही विषयमा आपत्ति रहेको बताए । एमाले नागरिकता समस्या समाधान संविधानबाटै हुनुपर्छ, त्यसका लागि लडेको दल भएको भन्दै त्यसमा अवरोध नहुने बताए ।  
 

सुझावित समाचार