सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडमा ६ जना नयाँ सञ्चालक चयन भएका छन् । कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट तीनजना र सर्वसाधारण सेयरधनीका तर्फबाट तीनजना सञ्चालक निर्विरोध चयन गरेको हो ।
कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा भएको साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट अध्यक्ष कयालसहित दिलीप श्रेष्ठ र मिता मुरारका अग्रवाललाई निर्विरोध निर्वाचित गरेको जनाइएको छ । त्यस्तै, सर्वसाधारण सेयरधनीका तर्फबाट डा. हेमन्तकुमार दवाडी, प्रकाशमान श्रेष्ठ र सरस्वती गौतम (ज्ञवाली) निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।
साधारणसभामा आव ०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कयालले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिमको वित्तीय विवरण पेस गरेका थिए । सभाले उक्त विवरण सर्वसम्मत रूपमा पारित गरेको जनाइएको छ ।
त्यस्तै, आव ०७९/८० का लागि कम्पनीको वार्षिक लेखापरीक्षकमा एन अमात्य एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने सञ्चालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रूपमा पारित गरेको जनाइएको छ । सभामा अध्यक्ष कयालले कम्पनीको ध्यान अझ उत्कृष्ट सेवा दिनमा केन्द्रित गरी ग्राहकको मन जित्दै आफ्नो व्यवसाय थप विस्तार गर्नुपर्ने बताए । यसले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न थप सहयोग पुग्ने उनको भनाइ थियो ।