मनसुनका कारण खोलामा पानीको बहाब बढेर विद्युत् उत्पादन बढेपछि भारतमा पुनः बिजुली निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि भारतको इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गर्न सुरु गरेको हो । यसअघि १३ जेठमा सय मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गरेको थियो । तर, त्यसपछि खडेरी लागेर विद्युत् उत्पादन घटेपछि भारतबाट विद्युत् आयात भइरहेको थियो । तर, पछिल्लो समय भइरहेको झरीका कारण खोलामा पानीको बहाब बढ्दा विद्युत् उत्पादन पनि बढेको छ । त्यसपछि प्राधिकरणले भारतमा पुनः बिजुली बिक्री गर्न थालेको हो ।
प्राधिकरणका अनुसार अहिले भारतमा दैनिक तीन सयदेखि तीन सय ५० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको छ । प्रतियुनिट औसत नौ रुपैयाँ नेपालीमा भारतमा निर्यात भएको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भारतमा २४सै घन्टा बिजुली निर्यात हुन थालेको बताए । ‘अहिले भारतमा २४ घन्टा नै बिजुली निर्यात भइरहेको छ । पिक आवरमा अलि कम बिजुली निर्यात हुन्छ । तर, रातको समयमा भने धेरै बिजुली निर्यात भइरहेको छ,’ उनले भने, ‘अब खडेरी भएन भने यो सिजनको विद्युत् निर्यात रोकिँदैन ।’ योसँगै यो सिजनको विद्युत् निर्यात सुरु भएको छ ।
आयात भने कायमै
विद्युत् निर्यात सुरु भए पनि आयात भने रोकिएको छैन । सुदूरपश्चिम क्षेत्रलाई लक्षित गरेर टनकपुरबाट विद्युत् आयात भइरहेको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए । सुदूरपश्चिम क्षेत्रमा जलविद्युत् आयोजना कम हुँदा विद्युत् उत्पादन पनि कम हुन्छ ।
अहिले नेपालको कुल विद्युत् जडित क्षमता २७ सय मेगावाट हाराहारी छ । तर, खोलामा पानी कम हुँदा विद्युत् उत्पादन भने सात सय मेगावाटमा झरेको थियो । अहिले मनसुन सुरु भएसँगै विद्युत् उत्पादन बढेर १९ सय मेगावाट पुगेको छ । तर, स्वदेशी विद्युत् माग भने १५ सयदेखि १६ सय मेगावाट छ । रातिको समयमा विद्युत्को माग १२ सय मेगावाटदेखि १३ सय मेगावाटमा झर्छ । त्यसरी खपत भएर बढी हुने विद्युत् भारतीय बजारमा बिक्री गरिएको हो । प्राधिकरणले गत वर्ष जेठ १९ गतेबाट भारतको खुला बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गर्न सुरु गरेको थियो । तर, यसपालि सुक्खा याम लम्बिँदा विद्युत् निर्यातमा ढिलाइ भएको हो ।
प्राधिकरणले गत वर्ष जेठ १९ गतेबाट भारतीय बजारमा व्यापारिक रूपमा विद्युत् निर्यात गर्न थालेको थियो, जुन पुस ३ गतेसम्म कायम रहेको थियो । त्यस अवधिमा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँबराबरको विद्युत् निर्यात गरिएको थियो । त्यसवेला प्राधिकरणले चार सय मेगावाट हाराहारी विद्युत् निर्यात गरेको थियो । हिउँद लागेसँगै गत पुस ४ गतेदेखि भारतबाट विद्युत् आयात गरिएको थियो । तर, अहिले स्वदेशी उत्पादन बढेपछि विद्युत् निर्यात सुरु गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
१२ सय मेगावाट निर्यात गर्ने लक्ष्य
प्राधिकरणले यो वर्ष १२ सय मेगावाट हाराहारीमा विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ । भारतले चार सय ५२ मेगावाटका विभिन्न आयोजनाको विद्युत् आफ्नो खुला बजारमा बिक्री गर्न प्राधिकरणलाई स्वीकृति दिइसकेको छ । साथै, प्राधिकरणले चार सय ५६ मेगावाटलगायतका विभिन्न आयोजनाको विद्युत् बिक्री गर्ने स्वीकृति दिन पनि भारतमा प्रस्ताव पठाएको छ । नेपालले भारतमा विद्युत् बिक्री गर्न निश्चित आयोजनालाई स्रोत मानेर स्वीकृति लिनुपर्ने हुन्छ ।सोहीअनुसार पठाएको प्रस्ताव स्वीकृत भएपछि प्राधिकरणले विद्युत् निर्यात गर्न पाउँछ । त्यो प्रस्ताव स्वीकृत भएपछि यो वर्ष १२ सय मेगावाट विद्युत् निर्यात गर्ने प्राधिकरणको योजना छ ।
पुग्छ त निर्यात गर्ने विद्युत् ?
गत वर्ष यसै अवधिमा विद्युत्को जडित क्षमता दुई हजार मेगावाट हाराहारी थियो, जुनवेला प्राधिकरणले चार सय मेगावाट विद्युत् निर्यात गरेको थियो । तर, यसपालि विद्युत्को जडित क्षमता २७ सय मेगावाट पुगेको छ । चालू आवको अन्त्यसम्म विद्युत् जडित क्षमता २८ सय मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ । त्यसमा सय मेगावाटबराबरको कुलेखानी जलाशययुक्त आयोजना सञ्चालन हुँदैन ।
५३ मेगावाटको डिजेल पावर प्लान्ट पनि बन्द हुन्छ । यसका अलावा केही आयोजनाहरूलाई नियमित तथा आकस्मिक मर्मत गर्नुपर्ने हुन्छ । त्योअनुसार बर्खामा २६ सय मेगावाट हाराहारी विद्युत् उत्पादन हुन्छ । तर, नेपालको औसत माग भने १३ मेगावाट हाराहारी मात्रै छ । पिक आवरमा मात्रै एक हजार सात सय ५० मेगावाटको विद्युत् माग हुने हो । आधार माग (न्यूनतम माग) त एक हजार दुई सय ७५ मेगावाट रहेको छ । त्योअनुसार यो वर्ष एक हजार दुई सय मेगावाट (पिक टाइममा बाहेक) सम्म विद्युत् निर्यात गर्न सकिने प्राधिकरणको दाबी छ ।