सेनाको रणभीम गणद्वारा विद्यार्थी र विद्यालयलाई शैक्षिक सामग्री वितरण

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

एकडारा गाउँपालिका– ३ अजमरपट्टीस्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले पुरस्कार विवरण गरेको छ। मंगलबार एक कार्यक्रमबीच नेपाली सेनाको रणभीम गणले विद्यार्थीलाई पुरस्कार  वितरण गरेको हो।

कक्षा १ देखि ८ सम्मका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका छात्रछात्रालाई गणका गणपति प्रमुख सेनानी उत्तम कटुवाल, गाउँपालिका अध्यक्ष दीपनारायण मण्डल र उपाध्यक्ष महजवी खातुनले संयुक्त रूपमा कापी, कलमलगायतका सामग्री प्रदान गरेका हुन्।

प्रमुख सेनानी कटुवालले विद्यालयलाई समेत विभिन्न खेलसामग्री तथा सरसफाइ सामग्री हस्तान्तरण गरे । मध्यपूर्वी पृतना हेडक्वार्टरको अवधारणाअनुरूप सञ्चालित एक युनिट एक विद्यालय सहयोग कार्यक्रमअन्तर्गत रणभीम गणले सो विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सेनाको सहयोगमा  शिक्षामा सुधार ल्याउन  छनाेटमा परेका विद्यालयमा शैक्षिक र भौतिक सुधारका साथै विभिन्न कार्यक्रम र गतिविधि सञ्चालन हुँदै आएको छ। रणभीम गणले सो विद्यालयमा बेन्च–डेस्क मर्मतदेखि अन्य विभिन्न कार्यहरू गर्दै आएको छ।

सुझावित समाचार