फेब्रुअरीमा हुने भनिएको अमेरिकी विदेशमन्त्रीको भ्रमण आगामी आइतबार हुने भएको छ । फेब्रुअरीमा अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखिएपछि अन्तिम समयमा विदेशमन्त्रीको पूर्वनिर्धारित भ्रमण अचानक रद्द भएको थियो ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव बढिरहेका वेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमणलाई सकारात्मक रुपमा हेरिएको छ । भ्रमणअघि बुधबार ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङबीच टेलिफोन वार्ता भएको थियो । यस टेलिफोन वार्ताले दुई मुलुकबीचको कूटनीतिक गतिरोधलाई मत्थर बनाएको दुवै पक्षले दाबी गरेका छन् ।
अमेरिका र चीनबीच ताइवान, साउथ चाइना सी, व्यापारलगायत विषयमा विवाद छ । बेइजिङले आवश्यक परे ताइवानलाई बल प्रयोग गरेर कब्जा गर्न सक्ने चेतावनी दिँदै आएको छ ।
अमेरिकाले त्यस्तो कदमविरुद्ध कारबाही गर्ने बताउने गरेको छ । यो वर्षको प्रारम्भदेखि नै चीन र अमेरिकाबीचको सम्बन्ध नयाँ कठिनाइ र चुनौतीबाट गुज्रिरहेको सन्दर्भमा भ्रमणलाई विश्वले महत्वका साथ हेरेका छन् ।