चिकित्सकले निकाले सबैभन्दा ठूलाे पत्थरी, गिनिजबुकमा नयाँ रेकर्ड

बुधबार, ३१ जेठ, २०८०
डिजिटल संस्करण

श्रीलंकाका सैनिक चिकित्सकले ६२ वर्षीय अवकाशप्राप्त सैनिकको मिर्गौलामा रहेको विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेको श्रीलंकाको सेनाले बुधबार जनाएको छ ।

सेनाका अनुसार पूर्वसर्जेन्ट क्यानिस्टस कुन्जबाट निकालिएको पत्थरको तौल ८०१ ग्राम (२८.२५ औँस) थियो, जुन औसत पुरुष मिर्गौलाको तौलभन्दा पाँच गुणा बढी हो ।

कुञ्जको मिर्गौलाको पत्थरी १३.३७ सेन्टिमिटर (५.२६ इन्च) लामो थियो । औसत मिर्गौला १० देखि १२ सेन्टिमिटर लामो हुन्छ ।

कुञ्जले स्थानीय स्वर्णवाहिनी टिभीसँग कुरा गर्दै सन् २०२० देखि पेट दु:खेको र मुखको औषधिले सहयोग नगरेको बताए ।

उनले भने, ‘हालैको परीक्षणपछि मलाई शल्यक्रिया गर्न भनिएको थियो । म अहिले सामान्य महसुस गरिरहेको छु ।’

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार सन् २००८ मा पाकिस्तानमा एक बिरामीको मिर्गौलाबाट ६२० ग्राम पत्थर जम्मा भएको रेकर्ड थियो ।

मिर्गौलाको पत्थरी गत १ जुनमा निकालिएको भए पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डले मान्यता दिएपछि अधिकारीहरूले आज उक्त खोजको घोषणा गरेका हुन् ।

‘हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा पत्थरी निकालेपछि मिर्गौलाले सामान्य रूपमा काम गरिरहनु हो र यसमा हाम्रो टोली सफल भएको छ,’ सेनाका सर्जन के. सुदर्शनले भने ।
(एएफपीकाे सहयाेगमा)

सुझावित समाचार