गत वर्षबाट आक्रमण सुरु भएयता युक्रेनमा रुसी सैनिकहरूको खराब प्रदर्शनका लागि अत्यधिक मदिरा सेवनलाई जिम्मेवार मानिएको छ । रुसी सेनाले आफ्नो समाज र पियक्कडपनलाई प्रतिबिम्बित गर्छन् । लामो समयदेखि रुसी पुरुषहरूको छोटो आयु (करिब ६४)मा भोड्काको अत्यधिक खपत मूल कारण रहँदै आएको छ । तर, सैनिकहरूले मदिरा वा अझ कडा मादक वा नशालु पदार्थ सेवन गर्ने कुरा असामान्य भने होइन ।
प्राचीन कालदेखि यसको यथेष्ट प्रयोग हुँदै आएको छ । ग्रिक पैदल सेना र रोमन सेनाहरू मदिराको जोसमा नै युद्धमा होमिन्थे । सिपाहीका निम्ति रक्सी अनन्य मित्र र जानी दुस्मन दुवै रहँदै आएको छ । लुकास कामिएन्स्की आफ्नो ‘सुटिङ अप : ए हिस्ट्री अफ ड्रग्स इन वारफेय’मा तर्क गर्छन्, ‘अग्रमोर्चाका सैनिकले जुन स्तरको तनाव अनुभव गर्छन्, त्यो आमनागरिकका निम्ति लगभग अकल्पनीय हुन्छ । तिनले आफ्नै मृत्युको सन्त्रास, आफूवरपर छाउने मृत्यु र ध्वंस लीला अनि शत्रु सेनालाई निर्ममतापूर्वक मार्नुपर्ने बाध्यताको सामना गर्नुपरेको हुन्छ ।’
कालक्रममा उनीहरूले उचित मात्रामा लिइने मदिराले सैनिकहरूलाई यो तनाव व्यवस्थापनमा मद्दत गर्ने र छोटो समयका लागि उनीहरूको आत्मविश्वास बढाउने र डरलाई कम गर्ने पाए । यो कुरा युद्धमा अमूल्य हुन्छ । १७औँ शताब्दीमा नेदरल्यान्ड्ससँग लडिरहेका अंग्रेज सेनाले आफ्ना शत्रुको लडाकु भावनालाई ‘डच साहस’का रूपमा उल्लेख गरे, जुन साहसको भावना जिन (मदिराको एक प्रकार)बाट आएको थियो । सन् १८७५ मा बेलायती सेनाले सैन्य अभियानमा ५४ लाख ग्यालन रम खपत गरेको थियो । उसले आफ्ना नौसैनिकलाई हरेक दिन आधा पिन्ट रम दिएको थियो ।
युक्रेन युद्धमा रुसी सेनाले प्रचुर मदिरा र केही मामलामा कडा लागुऔषधको सहारा लिएको देखिएको छ
तर, अत्यधिक रक्सीले लापरबाही र अनुशासनहीनता निम्त्याउँछ । रोमनहरूले आफ्ना अजंगका टिउटोनिक (जर्मनभाषी) शत्रुहरूलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने कुरा बुझे । तिनलाई मार्नुअघि मताउन उनीहरूले जंगलमा बियरका विशाल भाँडाहरू राखिदिएका थिए । यसैगरी सन् १९०४–०५ को युद्धमा रुस जापानसँग पराजित हुनुमा भोड्काको ठूलो परिमाणमा खपत मूल कारण हुन सक्छ । यो युद्धमा गोलाबारुदको सट्टा १० हजार क्रेट भोड्का प्राप्त गरेपछि मन्चुरिया स्थित पोर्ट आर्थरको किल्लाका कमान्डरले आत्मसमर्पण गर्नुपरेको थियो । एक रुसी पत्रकारका अनुसार मुक्देनको युद्धमा रुसी सैनिकहरू रक्सीले यति चुर थिए कि जापानीहरूले हजाराैँ रुसी सेनलाई निहत्था सुँगुर मारेजस्तै सफाया गर्न सकेका थिए ।
शताब्दीयौँदेखि लडाकुहरूले लागुऔषधको पनि प्रयोग गर्दै आएका छन् । युनानी योद्धाहरू युद्धमा अफिमको प्रयोग गर्थे । १२औँ शताब्दीको अरब जगत्का हत्याराहरूको कट्टरताका पछाडि गाँजा रहेको अनुमान गरिन्छ । भनिन्छ– साइबेरियाका जनजाति एवं प्रसिद्ध भाइकिङ बर्बर लडाकुहरू आफ्ना शत्रुहरूमा आतंक मच्चाउन अमानिता मस्करिया नामक च्याउमा पाइने नशालु अल्कालोइड उपयोग गर्थे । मध्यअमेरिकी लडाकाहरूले कोकाको पातमा साहस भेट्टाए ।
दोस्रो विश्वयुद्धले सबै पक्षबाट औद्योगिक स्तरमा एम्फेटामाइनको उत्पादन र वितरण साक्षात्कार ग¥यो । तर, लागुऔषधको उपयोग गर्ने सवालमा वेहरम्याच (सन् १९३५–१९४५ को नाजी जर्मनीको युनिफाइड आर्म फोर्स)ले सबैलाई पछि पार्यो । मेडिकल हिस्टोरिसियन निकोलस रासमुसेन टिप्पणी गर्छन्, ‘जर्मन ब्लिट्जक्रेग (छोटो समयमा विजय हात पार्न नाजी जर्मनीले सञ्चालन गर्ने सघन सैन्य अभियान) जति मेसिनले चल्थ्यो, त्यति नै एम्फेटामाइनले चल्थ्यो ।’ ब्लिट्जका विशेषतः अविराम र तीव्र गतिको पान्जर (तोप सैन्य विभाग) डिभिजनहरूमा यदि पर्भिटिन (एक प्रकारको मेथाम्फेटामाइन)को नशाले चुर ट्यांकचालकहरू हुन्थेनन् भने ती त्यस स्तरमा प्रभावकारी हुने थिएनन् ।
कामिएन्स्कीका अनुसार यो औषधिले आत्मविश्वास र जोखिम मोल्ने क्षमता बढाउँछ, एकाग्रता बढाउँछ र भोक, तिर्खा र दुखाइप्रतिको संवेदनशीलता र सबैभन्दा ठूलो कुरा निद्राको आवश्यकतालाई कम गर्छ । सबैलाई हराउँदै गएका नाजीले सन् १९४० को अप्रिलदेखि जुलाईको बीचमा आफ्ना सिपाहीलाई तीन करोड ५० लाखभन्दा धेरै पर्भिटिन (कडा लागुऔषध)का चक्की खुवाएका थिए । रुसले जर्मनबाट यो कुरा सिकेको देखिन्छ ।
–द इकोनोमिस्ट