साउनदेखि श्रम स्वीकृतिमा स्वचालित प्रणाली

वैदेशिक रोजगारीमा जाने कामदारलाई दिने सबै सेवा–सुविधा अनलाइनमार्फत

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृतिमा स्वचालित प्रणाली लागू गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागू हुने गरी संस्थागत श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत प्रदान गर्ने भएको हो । यसका लागि वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन सिस्टम (फेमिस)को प्रयोग गरिनेछ । 

नयाँ व्यवस्थाअनुसार म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जाने कामदारले पहिलो तथा अन्तिम श्रम स्वीकृति लिनुपरेमा कम्पनीले फेमिस सिस्टममा सबै आवश्यक कागजपत्र भर्नेछ । फेमिसले छानबिन गरेपछि कागजपत्र सबै ठकी भएमा सिस्टमले नै प्रमाणीकरण गर्ने मन्त्रालयका श्रमसविच एकनारायण अर्यालले बताए । त्यस्तै, व्यक्तिगत श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागअन्तर्गत रहेको श्रम कार्यालयको एउटै तहले नै प्रमाणीकरण गर्ने व्यवस्था गरिनेछ । आगामी दिनमा व्यक्तिगत श्रम स्वीकृतिलाई पनि स्वचालित प्रणालीमार्फत नै प्रमाणीकरण गर्ने व्यवस्था गरिने उनले बताए । 

हालको व्यवस्थाअनुसार संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिन फेमिसमार्फत अनलाइनबाट नै निवेदन दिन सकिनेछ । तर, यसरी दिइएको निवेदनलाई श्रम कार्यालयले प्रमाणित गर्नेछ । तर, स्वचालित प्रणाली लागू भएपछि कार्यालयका कर्मचारीले श्रम स्वीकृतिका लागि परेको निवदेनको छानबिन गर्नुपर्नेछैन । सिस्टमले नै प्रक्रिया पूरा गर्नेछ । 

 गलत सूचना राख्नेलाई हदैसम्मको कारबाही
श्रम मन्त्रालयले श्रम स्वीकृतिका लागि स्वचालित प्रणाली लागू गरेसँगै म्यानपावर व्यवसायीलाई थप जिम्मेवार बनाएको छ । नक्कली कागजपत्र र झुटो विवरण भरेको पाइएमा हदैसम्मको कारबाही गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले बताए । ‘स्वचालित भए पनि केही समय कार्यालयका कर्मचारीले कागजपत्रको निरन्तर निगरानी राख्नेछन् । व्यवसायीले गलत विवरण राखेको भेटिएमा कारबाही गरिनेछ,’ उनले भने । स्वचालित प्रणालीले श्रम स्वीकृतिको प्रक्रियालाई सरल र पारदर्शी बनाउने विभागका महानिर्देशक दाहालले बताए । सरकारको डिजिटल गभर्नेन्स नीतिलाई पछ्याउँदै विभागले पनि स्वचालित प्रणालीलाई अँगालेको उनले बताए ।

 वैदेशिक रोजगारीका सबै सेवा अनलाइनबाटै
श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारका लागि प्रदान गर्ने सबै खालका सेवा–सुविधालाई अनलाइनमार्फत नै प्रदान गर्ने व्यवस्था गरेको छ । श्रमिकले वैदेशिक रोजगारी विभाग र वैदेशिक रोजगार बोर्डबाट पाउने सबै खालका सेवा–सुविधा अनलाइनबाट नै प्रदान गर्ने व्यवस्था गरेको छ । मन्त्रालयले वैदेशिक रोजगार बोर्डले सञ्चालन गर्ने पूर्वप्रस्थान, अभिमुखीकरण तालिम पनि अनलाइनमार्फत नै सञ्चालन गर्ने तयारी गरेको छ । हरेक श्रमिकको हातमा मोबाइल र इन्टरनेटको सुविधा हुने भएकाले मन्त्रालयले अनलाइनबाट तालिम लिन सक्ने व्यवस्था गर्न लागेको हो । 

नयाँ व्यवस्थाअनुसार म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जाने कामदारले पहिलो तथा अन्तिम श्रम स्वीकृति लिनुपरेमा कम्पनीले फेमिस सिस्टममा सबै आवश्यक कागजपत्र भर्नेछ । फेमिसले छानबिन गरेपछि कागजपत्र सबै ठीक भएमा सिस्टमले नै प्रमाणीकरण गर्छ । 

एकनारायण अर्याल, सचिव,
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवालाई समेत अनलाइनमार्फत प्रदान गर्न थालिएको छ । वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा, अंगभंग र अशक्त बिरामी भएको अवस्थामा वैदेशिक रोजगार बोर्डबाट पाउने सबै खालको सुविधा अनलाइनबाट नै प्राप्त गर्न सकिने व्यवस्था गरिएको हो ।

पीडित कामदारका नेपालमा रहेका आफन्तले मृत्यु भएकोमा पाउने रकम, शव झिकाउने, उपचार गर्नेलगायतका सुविधाका लागि अनलाइनबाट नै आवेदन दिन र सोधपुछ गर्न सकिने व्यवस्था गरेको छ । साथै, बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने रकम लिन पीडित कामदार वा कामदारका आफन्तले श्रम स्वीकृति लिएको–गएको भन्ने प्रमाणित गर्न विभाग धाइरहनुनपर्ने भएको छ । बिमा कम्पनीले बोर्डको अनलाइन सूचना व्यवस्थापन प्रणालीमार्फत कामदारले श्रम स्वीकृति लिएर गएको वा नगएको जाँचबुझ गर्न सक्ने विभागले व्यवस्था गरेको छ । 

त्यस्तै, मन्त्रालयले ०७९ जेठ ६ गतेदेखि श्रम कार्यालयका सबै सेवा अनलाइनबाट लिन सक्ने व्यवस्था गरेको हो । मन्त्रालयले सबै खालका श्रम स्वीकृतिलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाएको हो । कार्यालयले २ माघ ०७८ देखि पुनः श्रम स्वीकृति अनलाइनबाट नै लिन सकिने व्यवस्था गरेको थियो । 

त्यस्तै, २ वैशाख ०७९ देखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गर्न सकिने व्यवस्था गरेको थियो । त्यस्तै, जेठ ६ गतेदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट नै लिन सकिने व्यवस्था गरेको हो । नयाँ व्यक्तिगत श्रम स्वीकृतिका लागि भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, अनलाइनबाटै म्यादी जीवन बिमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण अनलाइनमा अपलोड गर्नुपर्नेछ । 

व्यक्तिगत श्रम स्वीकृति लिँदा सम्बन्धित देशको नेपाली राजदूतावासबाट कागजात प्रमाणीकरण आवश्यक पर्छ । यसअघि साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सबाट प्रमाणीकरण गर्ने व्यवस्था थियो । ०७९ वैशाखदेखि सरकारले क्रोएसिया, पोल्यान्ड, रोमानिया, हंगेरी, बेलारुस, माल्दोभा, अल्बानिया र स्लोभाकियालाई पनि थप गरेको छ । प्रमाणीकरणका लागि नेपाली राजदूतावासमा रोजगारदाता कम्पनी वा स्पोन्सरले राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि, करार वा सम्झौतापत्रको प्रतिलिपिलगायत विवरण पेस गर्नुपर्नेछ । रोजगारदाताले सबै कागजपत्र सम्बन्धित व्यक्ति र वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनुपर्नेछ । सम्बन्धित व्यक्तिले इमेलमा प्राप्त कागजात आफैँले प्रिन्ट गरी अनलाइनमा अपलोड गर्नुपर्नेछ ।

सुझावित समाचार