सत्तागठबन्धनका दलहरू एकताबद्ध हुनुको विकल्प छैन : माधव नेपाल

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्तागठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनका घटकहरूका बीचका धाराहरूमा केही मतान्तर हुनु स्वाभाविक रहेको बताए। सत्ताबाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्याउने र संघीयतामाथि विश्वास नगर्ने मात्र नभई संघीयता नै समाप्त पार्ने शक्तिहरू रहेको नेपालले जिकिर गरे।

‘अहिले हामी गठबन्धनमा सामेल छौँ। गठबन्धनका घटकहरूका बीचका धाराहरूमा केही केही मतान्तर पनि हुन सक्लान्। तर, म यसो हेर्दै छु, एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ताबाहिरको गठबन्धन छ। सत्ताबाहिरको गठबन्धनमा कस्ता कस्ता खालका शक्तिहरू छन्, संविधानमाथि गम्भीर आघात पुर्याउने शक्तिहरू छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरू छन्। अहिलेको गठबन्धन लोकतान्त्रिक हो, प्रगतिशील हो। यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यकता छैन। कमीकमजोरी हुन्छन्, आलोचना गर्ने पनि हो। कमजोरीप्रति आँखा चिम्लिने पनि होइन। त्यसमा बग्ने, समर्थन गर्ने पनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ। अहिलेका सत्ताधारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन,’ उनले भने।

सुझावित समाचार