सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाई होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई वर्षको सेनेटरी प्याडका साथसाथै तीनवटा सेनेटरी भेन्डिङ मेसिनहरू उपलब्ध गराएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले बालिकाहरूको सरसफाइ आवश्यकता सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीलाई कम गर्ने उद्देश्यले गैरनाफामूलक उक्त संस्थालाई एक समरोहबीच सो सामग्री हस्तान्तरण गरेको हो।
संस्थाकी संस्थापक अध्यक्ष पुष्पा बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमा पहुँच हुनुपर्छ भन्ने रहेको बताउँदै सोही उद्देश्यले सिटिजन्स बैंकले सहयोग प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरिन्।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठमन्दिरमा सहयोग गरेको छ।