कपिलवस्तुको बालाजी सिमेन्ट इन्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टि’ ब्रान्डका पिपिसी सिमेन्ट भारत निर्यात सुरु गरेको हो ।
भारत सरकारको गुणस्तर विभागद्वारा ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) प्रदान गरेसँगै भारतमा सिमेन्ट निर्यात सम्भव भएको उद्योगका संस्थापक ऋषिकेश अग्रवालले बताए। उनका अनुसार पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई आज ४२ टन सिमेन्ट निर्यात गरिएको हो । कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो ।
कपिलवस्तुबाट पहिलोपटक भारतमा सिमेन्ट निर्यात भएको हो। बिस्तारै निर्यातको परिमाण बढाउँदै लैजाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको अग्रवालले बताए। भारतमा आइएसआई चिह्न नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन ।
नेपाल सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरिसकेको छ । सरकारले रु. ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई आठ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीलाई सहज भएको उद्योगका संस्थापक सन्दीप काडियाले बताए। ‘वर्तमान असहज एवं आर्थिक मन्दीको अवस्थामा भारतमा सिमेन्ट निर्यातले सकारात्मक सन्देश दिएको छ। हाम्रो कम्पनीको स्थापना नै निर्यातको सोचसहित भएको थियो,’ उनले भने ।
सरकारले अझ बढी उद्योग र निर्यातमैत्री नीति ल्याउन उनको सुझाव छ। सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटा कम गर्न सहयोग गर्ने उनले बताए। बालाजी सिमेन्ट उद्योगसँग दैनिक एक हजार ६ सय टन सिमेन्ट उत्पादनको क्षमता रहेको कम्पनीका प्रबन्ध–निर्देशक रौनक अग्रवालको भनाइ छ ।
उद्योगबाट हाल बाहुबली र श्रृष्टि ब्रान्डमा ४३ ग्रेडको ओपिसी र पिपिसी सिमेन्ट उत्पादन हुँदै आएको छ । वि.सं २०७७ सालमा स्थापना भएको उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रविधि जडान छ ।