सिलिकन भ्यालीमा चर्चाको विषय बनेको हेडसेट

आइतबार, २८ जेठ, २०८०
डिजिटल संस्करण

विज्ञका अनुसार हेडसेट अत्यधिक महँगो भएकाले यसले आमउपभोक्तालाई धेरै आकर्षित गर्नेछैन

एप्पलले बहुप्रतीक्षित अग्मेन्टेड रियालिटी हेडसेट ‘भिजन प्रो’ लन्च गरेको छ । एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टिम कुकका अनुसार नयाँ हेडसेट भर्चुअल र वास्तविक संसारलाई सजिलैसँग मिलाउन सक्छ । 

टेक्नोलोजीको शीर्ष कम्पनी एप्पलले आइफोनका लागि नयाँ अपरेटिङ सिस्टम र म्याकबुक एयर ल्यापटपका लागि अपडेट पनि ल्याएको छ । सार्वजनिक भएको हेडसेट एकपटक चार्ज भएपछि दुई घन्टा चल्नेछ । यसको मूल्य ३४९९ डलर रहेको छ । उपभोक्ताका लागि आगामी वर्ष अमेरिकी बजारमा उपलब्ध हुने बताइएको छ ।

एप्पल हेडसेटको मूल्य बजारमा पाइने आमहेडसेटभन्दा कैयौँ गुणा महँगो हो । गत हप्ता मेटाले पनि क्वेस्ट हेडसेट लन्च गरेको थियो, जसको मूल्य ४९९ डलर थियो । यद्यपि, एप्पलले आर्टिफिसियल इन्टेलिजेन्सबारे धेरै केही बोलेको छैन । अहिले यो नयाँ प्रविधिको हेडसेट सिलिकन भ्यालीमा चर्चाको विषय बनेको छ । 

एप्पलको भिजन प्रो अन्य हेडसेटभन्दा बिल्कुलै फरक खालको हेडसेट हो । हेर्दा भर्चुअल रियालिटी हेडसेटको तुलनामा स्किइंगका गगल्सजस्तो देखिन्छ । कम्पनीले यो नयाँ डिभाइसमा ‘अग्मेन्टेड रियालिटी’ टर्म प्रयोग गरेको बताएको छ । अग्मेन्टेड रियालिटी (संवद्र्धित वास्तविकता)ले हाम्रो वरिपरि भर्चुअल जिचबिज राखिदिन्छ र एउटा स्क्रिनमार्फत मिल्दोजुल्दो वास्तविकता देखिन्छ । त्यसमा वास्तविक चिजका साथै भर्चुअल चिज पनि हुने कम्पनीको भनाइ छ ।

प्रयोगकर्ताले भर्चुअल दुनियाँमा फिल्म हेर्न, एप प्रयोग गर्न वा दस्तावेज लेख्न पनि सक्छ । तर, अहिलेसम्म यस्तो खालको प्रविधिका लागि पर्याप्त बजारको सुनिश्चितता छैन । यस्तो अवस्थामा नयाँ हेडसेटले प्रयोगकर्तालाई कत्तिको आकर्षित गर्छ, त्यो हेर्न बाँकी नै छ ।

विशेषज्ञका अनुसार हेडसेटले आमउपभोक्तालाई त्यति धेरै आकर्षित गर्नेछैन । कारण, यो अत्यधिक महँगो छ । अर्को कुरा, यो फस्र्ट जेनेरेसन डिभाइस भएकाले यसमा केही कमी पनि हुन सक्छन् । म्याकरुमर्जका सिनियर एडिटर हार्टले साल्र्टसनको भनाइमा एप्पलले आफ्ना डिभाइसमाथि गरिने हरेक शंकालाई गलत साबित गर्दै आएको छ । उसको इतिहास आममानिसलाई आफ्ना उत्पादनमा आकर्षित गरेको पाइन्छ । विगतको प्रदर्शन हेरेर पनि उपभोक्ताले हेडसेटमा पैसा लगाउन हिचकिचाउँदैनन् ।

भिजन प्रो डिभाइसबारे सिइओ कुकले हेडसेटले प्रयोगकर्तालाई वास्तविक संसारझैँ गरी डिजिटल कन्टेन्ट हेर्ने, सुन्ने र संवाद गर्ने अवसर दिन्छ । साथै, डिभाइसलाई हात, आँखा र आवाजमार्फत नियन्त्रण गर्न सकिन्छ । यस्तै, औँलाले छुँदा या हल्लिँदा कन्टेन्ट स्क्रोल गर्न सकिन्छ ।

मेटा र लेनेभोले भर्चुअल रियालिटी हेडसेटको नयाँ स्वरूप जारी गरेको हप्तादिनपछि एप्पलले यस्तो घोषणा गरेको हो । मेटा र लेनेभोका हेडसेटले वास्वतिक संसारको दृश्यमा कुनै भर्चुअल अब्जेक्ट मिश्रण गर्दैनन् । मेटाले पनि मिश्रित वास्तविकताको क्षेत्रमा लगानी गरेको छ । तर, यतिवेला यो सेक्टरले संघर्ष गरिरहेको छ । 

शोधकर्ता थोमस ह्युसनका अनुसार नयाँ डिभाइसले आफ्नो बजार खोज्न केही समय लाग्छ । ह्युसन भन्छन्, ‘यदि १०–१५ वर्षअगाडि उपभोक्ताले फोनमा करिब दुई हजार डलर खर्च गर्न सक्छन् भनेको भए सायदै खर्च गर्थे होलान् । तर, अब स्थिति अर्कै भएको छ । उपभोक्ता गुणस्तरीय चिज चिन्न सक्षम भएका छन् ।’

आइएसओ–१७ : भिजन प्रोको घोषणासँगसँगै एप्पलले नयाँ अपरेटिङ सिस्टम आइओएस–१७ पनि जारी गरेको छ । यो आइफोन पछिल्लो अपरेटिङ सिस्टम भएको बताइएको छ । यसको अपडेटमा कन्टेक्टर पोस्टर पनि छ । यसमार्फत प्रयोगकर्ताले कसैलाई फोन गर्दा दोस्रो व्यक्तिको स्क्रिनमा फोन गर्ने व्यक्तिको अनुहार देखिन्छ । यसबाहेक लाइभ भ्वाइसमेल पनि उपलब्ध छ । जसअन्तर्गत म्यासेज रियल टाइममा ट्रान्सक्रिप्ट पनि हुनेछ । एप्पल मेसेजअन्तर्गत पठाइने अडियो मेसेजमा यो सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ । 

यसैगरी, एप्पलले चेक–इन नामक नयाँ सिस्टम पनि ल्याउने तयारी गरेको छ । यो सिस्टममार्फत आफू कुनै ठाउँ पुग्दा आफ्ना साथीभाइ तथा परिवारलाई सम्बन्धित ठाउँमा पुगेको सन्देश पुग्नेछ । 

सुझावित समाचार