चर्च ब्वाइजले पहिलोपटकको सहभागितामै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । ‘ए’ डिभिजन लिगमा सर्वाधिक ४५ अंक बटुल्दै चर्च ब्वाइज ४४औँ संस्करणको विजेता बनेको हो । दशरथ रंगशालामा मंगलबार लिगको १७१औँ खेलमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेलअघि नै कीर्तिमानी रूपमा लिगको नयाँ विजेता बनेको हो । यी दुईबीचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । गत वर्ष ए डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइजलाई अनन्त तामाङले आफ्नो कप्तानीमा च्याम्पियन बनाए ।
ए डिभिजन लिगमा बढुवा भएकै वर्षमा च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो घरेलु क्लब बनेको छ । यसअघि मनाङ मस्र्याङ्दी क्लबले २०४३ सालमा यस्तै सफलता चुमेको थियो । चर्च ब्वाइजले च्याम्पियन बन्ने क्रममा दुई करोड खर्च गरेको छ । ०६६ सालमा स्थापना भएको चर्च ब्वाइज ०७७ मा ‘सी’ डिभिजन विजेता बन्यो । ०७८ मा ‘सी’ डिभिजन च्याम्पियन बनेको चर्च ब्वाइज ०७९ मा ‘बी’ डिभिजनको उपाधि जित्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।
०४३ सालमा ठमेल ११ सँग टुक्रिएपछि मनाङले ए डिभिजनमा बढुवा भएको पहिलो वर्ष नै उपाधि जितेको थियो । कीर्तिमानी आठपटकको च्याम्पियन मनाङले तत्कालीन समय डिभिजन लिगको डी, सी, बी र ए लगातार जितेको कीर्तिमान एक्लै राखेको छ । चर्च ब्वाइजले पनि मनाङर्कै कीर्तिमान बराबरी गरेको छ । चर्च ब्वाइज सी, बी र ए डिभिजन लिग विजेता बनेको छ । अहिले एन्फाले डी डिभिजन लिग सञ्चालन गरेको छैन ।
चुस्त व्यवस्थापनले दिलाएको उपाधि
नेपाली फुटबलका बालगोपाल महर्जन चिरपरिचित अनुहार हुन् । यसपटक चर्च ब्वाइजले उनलाई मुख्य प्रशिक्षकका रूपमा चयन गरेको थियो । संयोग कस्तो रह्यो भने महर्जन जहाँ प्रशिक्षक बन्छन्, त्यहाँ उपाधि चुम्छन् । यसअघि अन्य क्लबलाई समेत प्रशिक्षण दिलाएका महर्जनले चर्च ब्वाइजसँगको पहिलो आबद्धतामै ए डिभिजन लिग उचाले । महर्जनसँग नेपालको उमेरसमूह हुँदै राष्ट्रिय टोलीसँगको प्रशिक्षणको अनुभव छ । उनले उमेरसमूह र सिनियर नेपाललाई उपाधि पनि जिताए । तर, उनीसँग शीर्ष डिभिजन लिगको उपाधि जितेको रेकर्ड यसअघि थिएन ।
यद्यपि, उनी मनाङ र थ्री स्टारजस्तो नेपालकै शक्तिशाली क्लबका प्रशिक्षक नबनेका होइनन् । तर, उनले यी दुवै क्लबलाई लिग च्याम्पियन बनाउन सकेनन् । चर्च ब्वाइज च्याम्पियन हुनुको पछाडि चुस्त व्यवस्थापनकै कारण भएको उनले विश्लेषण गरेका छन् । ‘चुस्त व्यवस्थापनकै कारण उपाधि जित्न सफल भयौँ, व्यवस्थापनले आफ्नो काम गर्दा खेलाडीले त्यसलाई न्याय गरे,’ महर्जनले भने, लिग च्याम्पियनका रूपमा प्रशिक्षक बन्न पाउँदा एकदमै खुसी छु ।’
यसअघि चर्च ब्वाइजले लिगको आठौँ चरणपछि प्रदीप हुमागाईंको स्थानमा महर्जनलाई क्लब हेर्न जिम्मेवारी दिएको थियो । ‘टिम गेमले उपाधि जित्यौँ, अन्तिम खेल (खुमलटारविरुद्ध) पनि जित्न खेल्छौँ,’ उनले सुनाए, ‘यो श्रेय खेलाडीलाई जान्छ, मैले गुरुदक्षिणा पाएको जस्तो अनुभव भयो ।’ चर्च ब्वाइजलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएकामध्ये कप्तान अनन्त र अञ्जन विष्टलाई महर्जनले विभिन्न समयमा प्रशिक्षण दिएका थिए । सन् २०१२ देखि अञ्जन र अनन्तले महर्जनसँग सहकार्य गर्दै आइरहेका छन् ।
राष्ट्रिय यू–१६ र यू–१९ टोलीका प्रशिक्षक हुँदा महर्जनले दुवै खेलाडीलाई प्रशिक्षण गराएका थिए । यसैगरी, नेपालले बंगबन्धु गोल्डकप र १३औँ दक्षिण एसियाली खेलकुद (साग)कोे उपाधि जित्दा महर्जन नै टोलीका प्रशिक्षक थिए । यहाँ पनि अनन्त र अञ्जन टोलीका प्रमुख खेलाडी थिए । थ्री स्टारको प्रशिक्षक मेघराज केसीले रेलिगेसन भिडन्त रहेको र अन्तिम खेलसँगै दबाबबाट मुक्त हुने प्रतिक्रिया दिए ।
एएफसी कप खेल्न नपाउने
‘ए’ डिभिजन लिग जिते पनि चर्च ब्वाइजले एएफसी कप खेल्न नपाउने भएको छ । एएफसी ए लाइसेन्स नहुँदा पहिलोपटक लिग जितेको चर्च ब्वाइज एसियालीस्तरीय क्लब प्रतियोगिता खेल्नबाट वञ्चित भएको हो । लाइसेन्सप्राप्त मच्छिन्द्रले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ ।
मच्छिन्द्रले कम्तीमा दोस्रो वा तेस्रो स्थान पक्का गरेको छ । मच्छिन्द्रबाहेक नेपालबाट त्रिभुवन आर्मी र एपिएफ फुटबल क्लबले मात्र लाइसेन्स पाएका छन् । लाइसेन्सप्राप्त क्लबमध्ये शीर्ष स्थानमा रहेको मच्छिन्द्र भाग्यमानी रह्यो । ‘एएफसी कप खेल्न नपाउँदा दुःखी छौँ,’ चर्च ब्वाइजका स्ट्राइकर अञ्जनले भने, ‘मिहिनेत गरेर जितायौँ, तर एसियालीस्तरको प्रतियोगिता खेल्न नपाउँदा दुःख लागेको छ ।’ उनले मच्छिन्द्रलाई शुभकामना दिए ।
पुलिस तेस्रो स्थानमा उक्लियो
विभागीय डर्बीमा १–१ गोलको बराबरी खेल्दै नेपाल पुलिस क्लब तेस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अग्रता जोगाउन नसक्दा आर्मी अंक बाँड्न बाध्य भयो । खेलको दोस्रो मिनेटमा आर्मीका दिनेश हेम्जनले अग्रता लिएका थिए । लेबनानका अहमद हिजाजीले ३९औँ मिनेटमा बराबरी गोल गरेका थिए । अजित भण्डारीको लामो क्रसलाई घानाका मोसेजले हेडिङ गोल गरेका थिए ।
१३औँ चरणसम्म रेलिगेसन क्षेत्रमा रहेको पुलिस चेतकुमार घिमिरेको प्रशिक्षणमा तेस्रो स्थानमा उक्लियो । ११ जित, पाँच बराबर र ९ हार बेहोरेको पुलिसको ३८ अंक छ । जावलाखेल ३७ अंकसहित चौथो स्थानमा रह्यो । साबिक उपविजेता आर्मी ३१ अंकसहित सातौँ स्थानमा छ । अर्काे खेलमा खुमलटारले एपिएफलाई ३–१ र सातदोबाटोले जावलाखेललाई १–० ले हरायो ।
दुई करोड लगानी
चर्च ब्वाइजले लिग खेल्न दुई करोड लगानी गरेको क्लबका अध्यक्ष टंकलाल राईले बताएका छन् । यसमा ६० प्रतिशत प्रायोजकबाट प्राप्त भएको राईले बताए । ‘हामीले दुई करोड लगानी लिग खेल्न गरेका छौँ, त्यसको प्रतिफल आएको छ,’ नयाँ पत्रिकासँग राईले भने, ‘६० प्रतिशत स्पोन्सरबाट आएको छ । बाँकी सहयोग पनि छ ।’
राई विगत १२ वर्षदेखि चर्च ब्वाइज क्लबका अध्यक्ष हुन् । क्लबले च्याम्पियन बन्ने सपना पूरा गर्न राष्ट्रिय टोलीका अनुभवी खेलाडीलाई प्राथमिकतामा राखेको थियो । अञ्जन र अनन्तसँगै राष्ट्रिय टोलीबाट खेलिरहेका एरिक विष्ट, आशिष चौधरी तथा राष्ट्रिय टोलीबाट खेलिसकेका कमल श्रेष्ठ, सुवास गुरुङलाई अनुबन्ध गरेको थियो । तेज तामाङ र दिनेश राजवंशी अनुबन्धपछि अस्ट्रेलिया पुगेका हुन् । विदेशी खेलाडीको समेत प्रभाव चर्च ब्वाइजमा रह्यो ।