भारतको नयाँ संसद् भवनमा बढेका कुर्सीको अर्थ

भाजपाका चुनावी रणनीतिकार अमित शाह पार्टीलाई सत्तामा टिकाइराख्न जनगणना र संसदीय क्षेत्र निर्धारणको महत्वबारे जानकार छन्

सोमबार, २२ जेठ, २०८०
डिजिटल संस्करण

गत आइतबार २८ मेका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद्मा हरेक विपक्षी नेताले अखण्ड भारतको कल्पनासहितको नयाँ भारतको विचारमाथि प्रश्न उठाएका छन् । भारतीय जनता पार्टी (भाजपा)का प्रत्येक मतदाताका लागि मोदीले औपनिवेशिक इतिहासका प्रतीकलाई भारतीय सत्ताको प्रतीकका रूपमा प्रतिस्थापन गरिरहेका छन् । नयाँ संसद् भवनले यो सत्तालाई इंगित गर्छ । नयाँ भवनमा लोकसभा र राज्यसभा सांसदका कुर्सी बढाएर क्रमशः आठ सय ८८ र तीन सय ८४ पुर्याइएको छ । यी बढाइएका कुर्सीले सन् २०२६ पछि हुने संसदीय क्षेत्र निर्धारण प्रक्रियामा जनगणनाको भूमिकालाई उजागर गर्छ ।

केन्द्रीय गृहमन्त्री तथा भाजपा नेता अमित शाहले सन् २०१९ मा भाजपा ५० वर्षसम्म सत्तामा रहने दाबी गरेका थिए । भाजपाका चुनावी रणनीतिकार अथवा भाजपाको ‘चाणक्य’ भनेर चिनिने शाह पार्टीलाई सत्तामा टिकाइराख्न जनगणना र संसदीय क्षेत्र निर्धारण प्रक्रियाको महत्वबारे जानकार छन् । धारा ३७० लाई खारेज गरेपछि कस्मिरको संसदीय क्षेत्र निर्धारण र पुनर्गठनले भाजपा सत्तामा नियन्त्रण गर्न केसम्म गर्न सक्षम छ भन्ने देखाउँछ ।

सन् २००८ को संसदीय क्षेत्र निर्धारण प्रक्रिया पूर्वोत्तर क्षेत्रका आदिवासी समुदायले प्रतिनिधित्व गुमाएपछि धेरै विवादास्पद भएको थियो । सन् २०२० मा सरकारले पूर्वोत्तर राज्यका लागि गठन गरेको नयाँ संसदीय क्षेत्र निर्धारण आयोग पनि अस्थायी रूपमा रोकिएको छ ।

यदि अहिलेसम्म हुन नसकेको सन् २०२१ को जनगणना हुन्छ भने यो जनगणना भारतको इतिहासको सबैभन्दा महत्वपूर्ण अभ्यासमध्ये एक हुनेछ । जनगणनाको तथ्यांकले निर्वाचन क्षेत्रको पुनः सीमांकन कसरी हुन्छ भन्ने निर्धारण गर्नेछ । यो अभ्यासले संसद्मा प्रतिनिधित्वको अवस्था नै फेरिदिन सक्छ । राजनीतिक विज्ञका अनुसार यो कुनै असामान्य विषय होइन । गुजरातमा मोदी र शाहको नेतृत्वमा भएको संसदीय क्षेत्र निर्धारणले विपक्षी राजनीतिक दललाई चोट पुर्याउँदै भाजपालाई लाभ पुर्याएको थियो ।  

जनगणनाको अप्रशोधित तथ्यांक सधैँ गोप्य हुन्छ र यो गृह मन्त्रालयअन्तर्गतको जनगणना आयुक्तको अधीनमा रहन्छ । सन् १९४८ को जनगणना ऐनले अप्रशोधित जनगणनाको जानकारी कसैसँग साझेदारी नगर्ने सुनिश्चित गरेर नागरिकलाई सुरक्षित गरेको छ । त्यसकारण जनगणनाको सट्टा ‘नेसनल पपुलेसन रजिस्टर’ले सम्पूर्ण सूचनायुक्त ‘३६०– डिग्री प्रोफाइलिङ डाटाबेस’ बनाउनेछ । यो डाटाबेसमा पहुँच पाउने राष्ट्रिय राजनीतिक दलले संसदीय क्षेत्र निर्धारण प्रक्रियालाई प्रभावित पारेर संसदीय क्षेत्रको रूपरेखा नै परिवर्तन गर्न सक्छ ।    

भाजपाका चुनावी रणनीतिकार अमित शाह पार्टीलाई सत्तामा टिकाइराख्न जनगणना र संसदीय क्षेत्र निर्धारणको महत्वबारे जानकार छन्
 

तसर्थ, सन् २०२१ को जनगणना प्रक्रियामा संकलित तथ्यांकलाई न्यूनीकरण गर्दै यी तथ्यांकको सुरक्षा हुनुपर्छ । राष्ट्रिय जनसंख्या दर्ता र जन्म एवं मृत्युदर्ता ऐन १९६९ मा हुने आगामी संशोधनले ३६०– डिग्री प्रोफाइल डाटाबेस निर्माणलाई प्रोत्साहन गर्नेछ । सूचना सुरक्षा र जनगणनाका यी मुद्दा भारतका लागि नौला होइनन् । अमेरिकी जनगणना ब्युरोले समेत जनसंख्याको गोपनीयता र जनगणनाको लोकतान्त्रिक प्रभावको रक्षा गर्न गणितीय विकल्पका रूपमा विभेदक (डिफरेन्सियल) गोपनीयतातर्फ सोचिरहेको छ ।

निर्वाचन क्षेत्र पुनर्निर्धारणमा हुने छेडखानीका मामिलामा अमेरिका एक उपयुक्त उदाहरण हो, जहाँ छेडखानी ‘जेरिमेन्डरिङ’ प्रक्रियाबाट गरिन्छ । यस्तो छेडखानीबाट मुख्यतः रिपब्लिकन पार्टीलाई मात्र लाभ पुगेको छ । यदि संसदीय क्षेत्र निर्धारण प्रक्रिया सुरु हुन्छ भने संसदीय क्षेत्रको भौगोलिक सीमा राजनीतिक दलको मतदाता र मतदान ढाँचाको विवरण संकलन गर्ने क्षमताले निर्धारण गर्न सक्छ । भौगोलिक रूपमा जनसंख्या र यसको विवरण पहिचान गर्ने काम अब भारतीय राज्यले विभिन्न क्षेत्रमा कृषि, भूमि व्यवस्थापन, सहरी कर र अन्य आर्थिक माध्यमबाट गरिरहेको छ । भारत सरकारले घरधुरी हेर्न ड्रोन नक्साको प्रयोग गरिरहेको छ र यसरी आएको तथ्यांकलाई राजनीतिक दलले चुनावी छेडखानीका लागि प्रयोग गर्न सक्छन् । 

मैले सूचना सुरक्षाको आवश्यकताबारे कुरा गर्दा सन् २०२१ को जनगणनामा जनसंख्याको गोपनीयता मात्र नभई तथ्यांकीय शुद्धतामा पनि जोड दिइरहेको छु । जनगणनाले जनसंख्या निर्धारण मात्र गर्ने नभई यसले मतदाताको हिसाब पनि गरिरहेको छ । त्रुटियुक्त तथ्यांकले अल्पसंख्यक जनसंख्याको अधिकार खोस्न सक्छ । स्मरण रहोस्, अधिकार खोस्ने योजना कस्मिर र पूर्वोत्तर राज्यमा बनाइएको थियो । त्यसैगरी, राज्यले पाएको कुनै पनि जानकारी यदि जनसंख्यासँग साझा गरिएको छैन भने नागरिक र राज्यबीचको जानकारी असमानता सिर्जना हुन्छ ।

संसदीय क्षेत्र निर्धारणजस्ता भावी अभ्यास पेचिलो राजनीतिक प्रक्रिया हुनेछ जसले विभिन्न जनसंख्या समूहबाट नकारात्मक प्रतिक्रिया निम्त्याउन सक्छ । तर, जनगणना एउटा समस्या हो जुन हाम्रो ढोकामा आइपुगेको छ र यसको प्रशासनिक प्रक्रियामा जवाफदेहिताको कमीले विभिन्न जनसंख्या समूहको भाग्य निर्धारण गर्नेछ । नागरिक समाजको एक महŒवपूर्ण तप्काले एनआरसीमार्फत जनगणना र नागरिकता अभ्यासको विरोध गरेका भए पनि सन् २०२१ जनगणनाका सूचना अभ्यास निर्धारण गर्ने हाम्रो क्षमताको कमी लोकतन्त्रका लागि धेरै महँगो साबित हुन सक्छ ।

सन् २०२१ को जनगणना नभइरहेको अवस्थामा गृह मन्त्रालयले अनलाइन अभ्यास गरिरहेको छ, जहाँ नागरिक आफैँले आफ्नो जानकारी अद्यावधिक गरिरहेका छन् । जन्म र मृत्युदर्ता, सामाजिक सुरक्षाका अभिलेख, आधार मतदाता परिचयपत्र ‘लिंकिङ’ र निगरानीका लागि ‘नेटग्रिड’ निर्माणको समानान्तर अभ्यासले घर–घर नधाएर पनि सरकारलाई जनगणना गर्ने सुविधा दिएको छ । यदि यो तथ्यांक संकलन मात्रै हुन्थ्यो भने सरकारले बाध्यकारी रूपमा यसमा नागरिकलाई सहभागी गराउने थिएन ।

(कोडली तथ्यांकसम्बन्धी स्वतन्त्र अनुसन्धाता हुन्) द वायरबाट

सुझावित समाचार