अस्पताल चहार्दा–चहार्दै पैसा सकियो, रोग जस्ताको तस्तै

बिहिबार, १८ जेठ, २०८०
डिजिटल संस्करण
अस्पताल चहार्दा–चहार्दै पैसा सकियो, रोग जस्ताको तस्तै

बाराको कोहल्बी नगरपालिकाकी ११ वर्षीया अर्चना पासवान

विपन्नको बाध्यता

बाराको कोहल्बी नगरपालिकाकी ११ वर्षीया अर्चना पासवान डेढ महिनाअघि ज्वरोले थला परिन् । अभिभावकले उपचारका लागि पर्साको वीरगन्ज पुर्याए । सरकारी अस्पतालमा शय्या अभाव रहेको भन्दै फर्काइएपछि निजी अस्पतालहरू धाउनुपर्यो । 

आर्थिक अवस्था अत्यन्त कमजोर रहेको पासवान परिवारले निजी अस्पतालको महँगो शुल्क तिर्न सक्ने अवस्था थिएन । तैपनि अभिभावकले ऋण गरेर उपचार गराइरहे । डेढ महिना बितिसक्दा पनि अर्चनालाई सञ्चो भएन । अहिले कान्ति बाल अस्पतालमा उपचार भइरहे पनि आर्थिक अभावका कारण परिवार उपचार गराउन नसक्ने अवस्थामा पुगेको छ । 

‘डेढ महिनाअघि ज्वरोले थलिएपछि उपचारका लागि वीरगन्जका विभिन्न अस्पताल पुर्याउँदा भएको पैसा सकियो,’ अर्चनाका बाबु लक्ष्मीले भने, ‘सरकारी अस्पतालमा बेड छैन भने, निजीले पैसा मात्र लुटे, बिरामी निको पारेनन् ।’ उनका अनुसार अहिलेसम्म ९३ हजार रुपैयाँ खर्च भइसकेको छ । तर, स्वास्थ्य अवस्था सुधार भएको छैन । 

अहिले अर्चनालाई आइसियूमा राखेर उपचार भइरहेको छ । बाबु लक्ष्मी आफूले चिनेजानेका मान्छेसँग सहयोग मागिरहेका छन् । ‘आफूसँग भएको र ऋण लिएको गरी ९३ हजार रुपैयाँ सकियो । काठमाडौंमा चिनजानको मान्छे सबैजनालाई भनिसकेको छु । अहिलेसम्म रोग पत्ता लागेको छैन । थप उपचारका लागि पैसा छैन,’ उनले भने । 

अर्काको खेत जोतेर आफू र परिवारको जीविका चलाइरहेका लक्ष्मी थप उपचारका लागि सहयोग माग्नुभन्दा अर्को विकल्प नभएको बताउँछन् । अहिलेसम्म लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि थपिएको छ । 

थाप्लोमा बढ्यो ऋण
वैशाख पहिलो साता एक्कासि बिरामी भएपछि लक्ष्मीले छोरीलाई कोल्हबीको तामागढी अस्पतालमा उपचारका लागि पुर्याएका थिए । स्वास्थ्यकर्मीले सामान्य रहेको भन्दै फर्काइदिएपछि उनले छोरीलाई घर ल्याए । तर, ज्वरो आउने र बेहोस हुने समस्या झन् बढ्न थालेपछि उनले छिमेकीसँग १० हजार रुपैयाँ ऋण लिएर वीरगन्जस्थित नारायाणी अस्पताल पुर्याए ।

नारायणी अस्पतालले अर्चनाको अवस्था गम्भीर रहेकाले आइसियूमा भर्ना गर्नुपर्ने, तर तत्काल आइसियू बेड खाली नरहेको भन्दै फर्काइदियो । त्यसपछि परिवारले एड्भान्स मेडिकेयरमा अर्चनालाई भर्ना गरे । तर, पैसाकै अभावमा पुनः घर फर्काए । छोरी बारम्बार बेहोस हुन थालेपछि गत ५ जेठमा उनले नेसनल मेडिकल कलेज पुर्याए । अस्पतालले सुरुवातमै १० हजार डिपोजिट नगरी भर्ना गर्न मानेन ।

आफन्तले भर्ना गरिदिन अनुरोध गरेपछि केहीबेर क्रिटिकल केयरमा राखेर परीक्षण सुरु भयो । टाउकोमा पानी जमेको हुन सक्ने र निजीमा उपचार गराउँदा बढी खर्च लाग्ने भन्दै नेसनल मेडिकल कलेजले काठमाडौं रिफर गर्यो ।

त्यसपछि वीरगन्जबाट काठमाडौं ल्याउनुपर्नेमा एम्बुलेन्स चालकले ‘तराई अस्पताल’ पुर्याइदिए । ‘त्यहाँ आठ दिन उपचार चल्यो । तर, रोग पत्ता लागेन, उल्टै दिनको दिनको दश हजारको दरले खर्च भयो,’ उनले भने, ‘उपचार नलागेपछि कान्ति बाल अस्पताल ल्याएको छु । तर, उपचार गराउन पैसा अभाव छ ।’

सुझावित समाचार