शीर्ष स्थानमा चार अंकको अग्रता लिँदै चर्च ब्वाइज

नवप्रवेशी क्लब चर्च ब्वाइजले दोस्रो स्थानमा रहेको जावलाखेललाई शीर्ष स्थानमा चार अंकले पछि पारेको छ

बुधबार, १७ जेठ, २०८०
डिजिटल संस्करण

चर्च ब्वाइजले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ । दशरथ रंगशालामा चर्च ब्वाइजले नेपाल एपिएफमाथि ४–१ को सानदार जित निकाली दोस्रो स्थानको जावलाखेल युथ क्लबसँग चार अंकको अग्रता लिएको हो । जावलाखेलले लिगको २३औँ खेलमा त्रिभुवन आर्मीलाई २–० ले हरायो । चर्च ब्वाइजको २३ खेलबाट ४१ अंक जोडेको छ । समान खेलबाट जावलाखेलले ३७ अंक बनाएको छ । एक खेल कम खेलेको साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लबको ३६ अंक रहेको छ । चर्च ब्वाइजसँग पराजित एपिएफ २९ अंकका साथ नवौँ स्थानमा यथावत् छ । आर्मी ३० अंकका साथ पाँचौँ स्थानमा छ । 

उपाधितर्फ लम्केको चर्च ब्वाइजको जितमा कप्तान अनन्त तामाङले दुई गोल गरेका थिए । यसैगरी, मौसम सुब्बा र आशिष चौधरीले समान एक गोल गरे । एपिएफका आवास लामिछानेले एक गोल फर्काए । गत शनिबार चर्च ब्वाइज अप्रत्याशित रूपमा संकटासँग १–० ले पराजित भएको थियो ।

दशरथ रंगशालामा एपिएफविरुद्ध चर्च ब्वाइजले सुरुदेखि नै दबाब राखेको थियो । खेलको कुनै पनि समयमा एपिएफले चुनौती प्रस्तुत गर्न सकेन । चर्च ब्वाइजले खेलको तेस्रो मिनेटमा मौसम सुब्बाको गोलको सहयोगमा १–० को अग्रता लियो । एपिएफका डिफेन्डर एडमा डोम्बिया र गोलरक्षक राजु नगरकोटीबीच तालमेल नमिलेको फाइदा उठाउँदै मौसमले गोल गरेका हुन् । चर्च ब्वाइजले दोस्रो गोलको अग्रता लिन पहिलो हाफको इन्जुरी समयसम्म प्रतीक्षा गर्यो । इन्जुरी समयको सातौँ मिनेटमा कप्तान अनन्तले गोल गरे । फ्रान्कलिन कोटेको हेडिङमा अनन्तले टोलीलाई २–० को स्थितिमा राखे । 

मध्यान्तरपछि पनि चर्च ब्वाइज आक्रामक रूपमै प्रस्तुत भयो । खेलको ५५औँ मिनेटमा कप्तान अनन्तले चर्च ब्वाइजलाई ३–० को अग्रता दिलाए । उनले डिबक्सभित्र ओपन हेडिङ गोल गरेका थिए । गोल फर्काउन प्रयासरत एपिएफले ८३औँ मिनेटमा सफलता पायो । आवासले चर्च ब्वाइजको डिबक्सभित्र अनमार्क रहँदै गोल गरे । खेलको ८९औँ मिनेटमा आशिषले चर्च ब्वाइजको जित ४–१ को पक्का पारे । 

आर्मीविरुद्ध एनकोटो चम्किए
शीर्ष स्थानको चर्च ब्वाइजलाई पछ्याइरहेको जावलाखेलको जितमा विदेशी खेलाडी एनकोटो मासोएबीले आर्मीविरुद्ध दुई गोल गरेका थिए । जितसँगै जावलाखेलले पनि ऐतिहासिक रूपमा ‘ए’ डिभिजन लिग जित्ने सम्भावना कायमै राख्यो । एनकोटो मासोएबीले दुवै गोल मध्यान्तरपछि गरेका थिए । पहिलो हाफमा जावलाखेल र आर्मीबीच गोलरहित बराबरी भएको थियो । खेलको ५५औँ मिनेटमा मासोएबीले जावलाखेललाई १–० को अग्रता दिलाए ।

समिराज थोकरको पासमा मासोएबीले वान टचमै गोल गरे । खेलको ८०औँ मिनेटमा काउन्टर एट्याक्टमा मासोएबीले जावलाखेलको अग्रता २–० पुर्याए । खेलमा थप गोल नहुँदा जावलाखेलले उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा जित निकाल्यो । जावलाखेलले चार खेलपछि जित निकालेको हो । फ्रेन्ड्सलाई ४–१ ले पराजित गरेयता जावलाखेलले चार खेलमा जित निकाल्न सकेको थिएन । 

 चार पदाधिकारीको ‘नोट अफ डिसेन्ट’
अखिल नेपाल फुटबल संघ (एन्फा)मा नयाँ कार्यसमितिको आपत्कालीन बैठक समाप्त भएको तीन सातापछि एक उपाध्यक्ष र तीन सदस्यले नोट अफ डिसेन्ट बुझाएका छन् ।२५ वैशाखमा बसेको आपत्कालीन बैठकले सन् २०२३ का लागि ६७ करोड ८ लाख १५ हजार रुपैयाँ बजेट परिमार्जनसहित पारित गरेको थियो । सो निर्णयमाथि उपाध्यक्ष विराटजंग शाही, सदस्यहरू भोजराज शाही, रुपेश अधिकारी र रवीन्द्र चन्द ठकुरीले अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईलाई इमेलमातर्फ नोट अफ डिसेन्ट पठाएका हुन् ।

गत महिना नेम्वाङले विभिन्न निर्णय पारित गराउन आपत्कालीन बैठक डाकेका थिए । ‘बैठक समाप्तिको १५ दिनपछि लिखित निर्णय हामीले प्राप्त गर्यौँ, त्यसलगत्तै सात दिनभित्र हामीले आफ्नो नोट अफ डिसेन्ट इमेलमार्फत पठाएका हौँ,’ एन्फा सदस्यले नयाँ पत्रिकालाई भने ।

वार्षिक बजेट अध्ययन र गहन छलफलविना पास गर्न नसकिने उनले बताए । ‘एन्फाको वार्षिक बजेटदेखि अन्य निर्णयसम्बन्धमा बृहत् छलफल हुनुपर्छ, योविना हामीले सबै निर्णय पारित गर्न सक्दैनौँ,’ उनले भने, ‘हामीले आपत्कालीन बैठक सुरु हुनुअघि मात्र एजेन्डा पायौँ, सामान्यतः बैठकको २४ घन्टाअघि एजेन्डा प्राप्त हुनुपर्छ ।’ 

उनीहरूले आकस्मिक बैठकमा बजेटजस्तो विषय एजेन्डा बन्न नसक्ने दाबी गरेका छन् । कुनै छलफल र बहसविना अन्तिम समयमा बजेट कार्यक्रम ल्याइएकोमा उनीहरूको आपत्ति छ ।पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको एन्फाले अनावश्यक कर्मचारी थप गरेर संस्थालाई आर्थिक भार थपेकोमा पनि उनीहरूको असन्तुष्टि छ ।

सुझावित समाचार