सबै प्रकारका प्रोत्साहन भत्ता खारेज हुने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तालगायतका भत्ता खारेज गरेको छ। 

सोमबार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएको हो। सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमा यो व्यवस्था हटाइने भएको छ। 

त्यस्तै, अर्थमन्त्री महतले नयाँ सवारीसाधन, फर्निचर तथा फर्निसिङ खरिद नगर्ने बताए। उनले आगामी आर्थिक वर्षमा अत्यावश्यकबाहेकका नयाँ भवन निर्माण नगर्ने, इन्धन कार्यालयसम्बन्धी सामानलगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिने, नेपाल सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्नेबाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गर्ने बताए। 

अर्थमन्त्री महतले सवारीसाधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको आधारमा इन्धनबापत नगद नै प्रदान गर्ने व्यवस्था मिलाउने, सरकारी सवारीसाधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारी सवारीसाधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारीसाधनको सट्टा तोकेको मापदण्डको आधारमा एकमुष्ट नगद नै प्रदान गर्ने बताए। 

सुझावित समाचार