आठ महिनामा १०४ किमि सडक थपियो, ७५ वटा पुल बने

आइतबार, १४ जेठ, २०८०
डिजिटल संस्करण
आठ महिनामा १०४ किमि सडक थपियो, ७५ वटा पुल बने

फाइल तस्बिर

चालू आर्थिक वर्षको आठ महिनामा एक सय ४ किलोमिटर नयाँ सडक निर्माण भएको छ। त्यस्तै, ७५ वटा नयाँ मोटरेबल पुल निर्माण भएको छ।

आज सार्वजनिक आर्थिक सर्वेक्षणका अनुसार यो आठ महिनामा ३ सय १६ किलोमिटर सडक खण्डास्मित (ग्राभेल)स्तरमा स्तरोन्नति भएको छ। त्यस्तै, २ सय ४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ।

यही अवधिमा ८ हजार २ सय ५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ भने २ सय ७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ।

२०७९ फागुनसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ। जसमध्ये १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७ हजार ९ सय ५६ किलोमिटर ग्राभेल र ८ हजार ६ सय ६४ किलोमिटर कच्ची सडक रहेका छन्।

कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्राभेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत छ। २०७९ असारसम्म सडकको कुल लम्बाइ ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो।
 

सुझावित समाचार