डर्टमन्ड रोकिँदा बायर्नलाई बुन्डेस लिगा उपाधि

आइतबार, १४ जेठ, २०८०
डिजिटल संस्करण

एकै समयमा भएको खेलमा बोरुसिया डर्टमन्डले अंक बाँड्दा बायर्न म्युनिख जित निकाल्दै च्याम्पियन बन्यो 

बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबल २०२२–०२३ को उपाधि शनिबार जितेको छ । लिगको अन्तिम खेलमा बोरुसिया डर्टमन्ड मैन्जसँग २–२ गोलको बराबरीमा रोकिँदा बायर्नले कोल्नलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो । बायर्नले लगातार ११औँ पटक बुन्डेस लिगाको उपाधि जितेको हो । बायर्न सन् २०११–०१२ को सिजनपछि लगातार च्याम्पियन हुँदै आएको छ । समग्रमा बायर्नको यो ३२औँ बुन्डेस लिगा उपाधि हो ।

जितसँगै बायर्नले ३४ खेलमा ७१ अंक जोडेर च्याम्पियन बन्यो । दोस्रो स्थानको डर्टमन्डको पनि ७१ अंक छ । तर, गोलअन्तरले बायर्न अघि रहेको हो । घरेलु मैदानमा ८२ हजार दर्शकसामु अन्तिम खेल जित्दै डर्टमन्डको उपाधि जित्ने सपना भने पूरा हुन सकेन । 

यता, आठौँ मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८१औँ मिनेटमा डेजानले गोल गर्दै कोल्नलाई १–१ बराबरीमा ल्याए । 

एक मिनेट बाँकी रहँदा जर्मन अन्तर्राष्ट्रिय खेलाडी जमल मुसिआलाले गोल गर्दै बायर्नलाई २–१ को रामोञ्चक जित दिलाएका हुन् । यससँगै थोमस टुचेलले पहिलोपटक बुन्डेस लिगा उपाधि जितेका छन् । यसअघि उनले सन् २०१७ मा डर्टमन्डका लागि जर्मन कप उपाधि जितेका थिए ।

See More On

सुझावित समाचार