गणतन्त्र स्थापनाको डेढ दशक : पूर्वाधार विकास सुस्त छ, निराशाजनक होइन

डिजिटल संस्करण

९४ प्रतिशत नागरिकमा विद्युतकाे पहुँच पुगेको छ, ६० अस्पताल र ६ विश्वविद्यालय थपिएका छन्, थप १५ लाख हेक्टरमा सिँचाइ विस्तार भएको छ

गणतन्त्र स्थापनाको डेढ दशकमा पूर्वाधार विकासमा अपेक्षित उपलब्धि हासिल गर्न नसके पनि प्रगति निराशाजनक भने छैन । कतिपय उपलब्धि ऐतिहासिक नै छन् । 

गणतन्त्र घोषणा भएको वर्ष ०६५ को तुलनामा सडक सञ्जाल दोब्बरले बढेको छ भने कालोपत्रे सडकको लम्बाइ तीन गुणाले बढेको छ । त्यतिखेर चरम लोडसेडिङमा रहेको देश अहिले विद्युत्् निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ । 

०६५ यता थप १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । यहीबीचमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन् भने तीन आन्तरिक विमानस्थललाई रात्रिकालीन उडान सम्भव हुने गरी विकास गरिएको छ । बहुप्रतीक्षित मेलम्ची आयोजना यही अवधिमा सम्पन्न गरी काठमाडौंवासीका धारामा पानी झारिएको छ । दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइन ‘नेपाल–भारत पाइपलाइन’ पनि यही डेढ दशकको अवधिमा सञ्चालनमा आएको छ । 

गणतन्त्र स्थापनापछि नै देशमा सुरुङमार्ग निर्माणको ऐतिहासिक थालनी भएको छ । अन्तर्देशीय रेलमार्ग निर्माणको प्रक्रिया सुरु भएको छ । गणतन्त्र स्थापनापछि नेपालले जलविद्युत्, विद्युत् प्रसारण लाइन, सिँचाइ, खानेपानी, सडक, हवाई, औद्योगिक–व्यापारिकलगायत पूर्वाधारमा सन्तोषप्रद विकास हासिल गरेको देखिन्छ । 

१५ वर्षमा हासिल गरिएका यी उपलब्धि भव्य उत्साहप्रद मान्न नसकिए पनि निराशाजनक पनि नरहेको पूर्वसचिव देवेन्द्र कार्कीले बताए । ‘हामीले पूर्वाधारमा जे–जति प्रगति गर्नुपर्ने हो, त्यो प्राप्त हुन सकेको छैन, निर्माण सुस्त छ, उपलब्धि अपेक्षाअनुसार भएको छैन,’ उनले भने, ‘तर, पूर्वाधार विकासमा जे–जति उपलब्धि हासिल भएका छन्, ती सन्तोषप्रद छन्, निराशाजनक छैनन् ।’ 

०६५/६६ मा २५ हजार ८५० हेक्टर जमिनमा सिँचाइ पुगेको थियो । ०७८/७९ सम्म त्यो १५ लाख १२ हजार ४३२ हेक्टर जमिनमा पुगेको छ । ०६५/६६ सम्म देशमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा थियो, अहिले भैरहवा र पोखरामा पनि बनेका छन् । देशभर ३३ विमानस्थल सञ्चालनमा छन् भने २० उडानविहीन छन् । कालोपत्रे भएका विमानस्थल ३७ पुगेको छ । 

डेढ दशकअघि भारतको जयनगरदेखि जनकपुरसम्म ५१ किमि रेलसेवा थियो, जुन सन् २०१४ मा बन्द भयो । अहिले जयनगर–जनकपुर–बिजलपुर–बर्दिबास तथा बथनाहा–विराटनागर रेलमार्गको नेपालतर्फको ७९ किमिमध्ये ५६ किमि रेलमार्ग निर्माण भइसकेको छ । जयनगर–कुर्था खण्डमा रेलसेवा सञ्चालनमा आएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिबास–निजगढ खण्डमा ५०.५ किमि ट्र्याक बेड निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेची–महाकाली विद्युतीय रेलमार्ग नौ सय ४५ किलोमिटर (लिंकसहित १,०५६ किमि)को विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । 

यो डेढ दशकमा देशले दूरसञ्चार सेवामा त फड्को नै मारेको छ । ०६५/६६ सम्म तीन हजार नौ सय १५ गाविसमध्ये तीन हजार ६ सय २४ मा मात्रै टेलिफोन सेवा थियो । अहिले सात सय ३८ स्थानीय तहका कार्यालय, ६ हजार एक सय ९० वडा कार्यालय, पाँच हजार दुई सय ९९ सामुदायिक विद्यालय र चार हजार दुई सय ३७ स्वास्थ्य केन्द्रमा ब्रोडब्यान्ड इन्टरनेट जडान भएको छ । देशका मुख्य दुई सय नौ सहरमा अप्टिकल फाइबरमा आधारित फाइबर टु द होम सेवा विस्तार भएको छ । टेलिफोनको घनत्व एक सय ४० प्रतिशत र इन्टरनेटको ग्राहक घनत्व एक सय १७ प्रतिशत पुगिसकेको छ ।

गणतन्त्र स्थापनाको डेढ दशकमा ६ वटा विश्वविद्यालय थपिएका छन् । स्वास्थ्यतर्फ ६० अस्पताल थपिएका छन् भने करिब नौ हजार शय्या बढेका छन् । अहिले स्वास्थ्य संस्थाको संख्या सात हजार पाँच सय ९८ पुगेको छ । ती स्वास्थ्य संस्थामा ९७ हजार चार सय ४९ जनशक्ति कार्यरत छन् । त्यस्तै, अस्पतलको शय्या १५ हजार सात सय ९० पुगेको छ । 

सुझावित समाचार