सहकारीको रकम हिनामिना प्रकरण : नगर प्रमुख नेपाली एमालेबाट निलम्बित

बिहिबार, ११ जेठ, २०८०
डिजिटल संस्करण
सहकारीको रकम हिनामिना प्रकरण : नगर प्रमुख नेपाली एमालेबाट निलम्बित

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्षसमेत रहेका देवकुमार नेपाली

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्षसमेत रहेका देवकुमार नेपालीलाई एमालेले निलम्बन गरेको छ । एमाले गण्डकी प्रदेश कमिटी सदस्य रहेका नेपालीलाई प्रदेश कमिटीले घटनाको निरूपण नहुँदासम्मका लागि पार्टीबाट निलम्बन गरेको सचिव धनञ्जय दवाडीले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

‘बाग्लुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत हिनामिना भएको’ भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति एमाले गण्डकी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसक्रममा बचतकर्ताले जिल्ला प्रशासन कार्यालय बाग्लुङमा उजुरी दिएको र संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्द गर्न भनी गृह मन्त्रालयले निर्देशन जारी गरेको तथ्यसमेत जगजाहेर नै छ । यसर्थ यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकलाई बचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पुयाउन हाम्रो पार्टी सम्बद्ध सबैलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालीलाई सहकारीका ६ सय बचतकर्ताको करिब एक अर्ब ५० करोड हिनमिना गरेको आरोप लागेको छ । उनीसँगै परिवारका सदस्य ५ जेठदेखि सम्पर्कविहीन छन् । १ जेठमा बाग्लुङबाट बुर्तिबाङ हिँडेका उनी सपरिवार सम्पर्कविहीन भएका हुन् ।

सुझावित समाचार