दुग्ध व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा जोड

सोमबार, ८ जेठ, २०८०
डिजिटल संस्करण

दुग्ध व्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धाका साथै बजारमा न्यून गुणस्तरको दुध बिक्री वितरण भइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा संघअन्तर्गत गठित डेरी वस्तुगत समितिको संयोजनमा बुटवलमा भएको अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले यस्तो धारणा राखेका हुन्। उपभोक्तालाई स्वच्छ र स्वस्थ्यकर दुध तथा दुग्धजन्य उत्पादनको परिपूर्तिका लागि नियमनकारी निकायले कडाइका साथ मापदण्ड कार्यान्वयन गर्नुपर्ने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए।

अस्वस्थ्य प्रतिस्पधा गर्ने व्यवसायीका कारण मापदण्डअनुसार सञ्चालन भएका व्यवसायलाई समेत चुनौती भएको बताउँदै उनले सम्बन्धित व्यवसायीहरू एकजुट भएर मापदण्ड कार्यान्वयनको लागि पहल गर्नुपर्ने बताए।

बुटवल उपमहानगरपालिका शिक्षा, स्वास्थ्य तथा वित्त महाशाखा प्रमुख मित्रमणि खनालले बजारलाई व्यवस्थित गर्नको लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए। उनले दुधको गुणस्तर, खाद्य ऐन, अनुगमन, व्यवसाय दर्ता, मापदण्डलगायतका बारेमा पनि जानकारी गराए।

डेरी वस्तुगत समितिका सभापति गणेशसिंह भण्डारीले विना दर्ता व्यवसाय गरिरहेका व्यवसायीलाई दर्ताको प्रक्रियामा आउन र मापदण्ड पालना गर्न आग्रह गरे।

सुझावित समाचार