एर्दोगानले कसरी सोचेभन्दा राम्रो मत ल्याए ?

टर्की अहिले गम्भीर मुद्रास्फीतिबाट गुज्रिरहेको भए पनि मतदाताले एर्दोगानले उठाएको राष्ट्रिय सुरक्षाको मुद्दालाई आर्थिक मुद्दाभन्दा माथि राखेको देखिन्छ

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

टर्कीमा १४ मेका दिन राष्ट्रपति तथा  संसद्का लागि एकसाथ निर्वाचन भएको थियो । राष्ट्रपतीय मतदानमा सो दिन कुनै पनि उम्मेदवारले आधाभन्दा बढी मत ल्याउन सकेनन् । अब मे २८, २०२३ मा सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवार दोस्रो चरणको निर्वाचनमा भिड्नेछन् । दुई दशकसम्म देशमा शासन गरेका वर्तमान राष्ट्रपति रिसेप तैयप एर्दोगान मत सर्वेक्षणविपरीत पहिलो भए । 

एर्दोगानले झन्डै ४९.६ प्रतिशत मत ल्याए । राष्ट्रपतिका रूपमा एर्दोगानलाई उनको कन्जरभेटिभ विचारधारा बोक्ने ‘जस्टिस एन्ड डेभलपमेन्ट पार्टी (एकेपी), उग्र राष्ट्रवादी एमएचपी र विभिन्न साना इस्लामवादी पार्टीले समर्थन गरेका थिए । संसद्का लागि भएको निर्वाचनमा पनि यही गठबन्धनले बहुमत सिट अर्थात् कुल ६ सय सिटमध्ये ३२२ सिट हासिल गरेको छ । सन् २०१७ को जनमत संग्रहपछि संसद्को अधिकारमा ठूलो कटौती भएको भए पनि संसद्को बहुमतले एर्दोगानलाई विधायिकी कारबाहीको चिन्ता नगरी शासन गर्न बाटो खुलाएको छ । यदि उनले राष्ट्रपति पद जिते भने उनको एजेन्डाका लागि बलियो विधायिकी समर्थन हासिल हुनेछ । 

राष्ट्रपतिको पहिलो चरणको निर्वाचनमा एर्दोगान ४९.६ प्रतिशत मतसहित पहिलो भए भने ४४.९ प्रतिशत मत पाएका किलिच्दारोग्लुले दोस्रो स्थान सुनिश्चित गरे । किलिच्दारोग्लु ‘द टेबल अफ सिक्स’ नामको ६ दलको गठबन्धनका संयुक्त उम्मेदवार हुन् । यस विपक्षी गठबन्धनमा धर्मनिरपेक्षवादीदेखि रुढिवादी र राष्ट्रवादी दल सामेल छन्, जसमा दुइटा दल त एर्दोगानको एकेपीबाट चोइटिएर बनेका हुन् । दोस्रो चरणको निर्वाचनमा पनि ५० प्रतिशत मत पुर्याउने उम्मेदवार मात्र राष्ट्रपति बन्नेछ । तर, एर्दोगान स्पष्ट लाभ र गतिका साथ दोस्रो चरणको मतदानमा जाँदै छन् । 

टर्की अहिले गम्भीर मुद्रास्फीतिबाट गुज्रिरहेको भए पनि मतदाताले एर्दोगानले उठाएको राष्ट्रिय सुरक्षाको मुद्दालाई आर्थिक मुद्दाभन्दा माथि राखेको देखिन्छ
 

जब अधिकांश मतसर्वेक्षण गलत साबित भए :  पहिलो चरणको निर्वाचनअघि अधिकांश मतसर्वेक्षणले एर्दोगान दोस्रो हुने प्रक्षेपण गरेका थिए । तर, उनले अपेक्षाभन्दा बलियो प्रदर्शन गरे । यसका पछाडि धेरै कारण हुन सक्छन् । टर्की अहिले गम्भीर मुद्रास्फीतिबाट गुज्रिरहेको छ । तर, मतदाताले एर्दोगानले उठाएको राष्ट्रिय सुरक्षाको मुद्दालाई आर्थिक मुद्दाभन्दा माथि राखेको देखिन्छ । यसले देशको रुढिवादी र राष्ट्रवादी आधारलाई विश्वस्त तुल्याएको देखिन्छ । एर्दोगानको पार्टी एकेपीले महानगरीय क्षेत्रमा लोकप्रियता गुमाउँदै जाँदा राष्ट्रव्यापी समर्थनको प्रतिशत सन् २०१८ मा ४२.५ प्रशितबाट सन् २०२३ मा ३५.६ प्रतिशतमा घटेको छ । तर, यसले पनि उनी पहिलो हुनबाट रोकिएनन् । 

यद्यपि, एर्दोगान आफ्नो गठबन्धनमा साना इस्लामवादी र राष्ट्रवादी पार्टीलाई जोडेर सत्तामा पकड कायम राख्न सफल देखिन्छन् । यस वर्षको आरम्भमा भूकम्पबाट प्रभावित क्षेत्रमा कमजोर प्रारम्भिक प्रतिक्रियाका लागि एर्दोगानले त्यस भेगमा कम मत पाउने प्रक्षेपण थियो । तर, त्यहाँका मतदाताले पनि उनलाई दण्डित गरेको देखिएन । तथापि यहाँ यो जोड्न उल्लेखनीय हुनेछ कि टर्कीको स्वतन्त्र र निष्पक्ष चुनावको प्रतिबद्धतामा प्रश्न उठेको छ । एर्दोगानले राज्यका स्रोत र न्यायपालिकामाथिको आफ्नो नियन्त्रण र मिडियाको ठूलो हिस्सालाई उनकै हितका लागि प्रयोग गरेका छन् । केही ठाउँमा विपक्षी उम्मेदवारले डरधम्कीको सामना गर्नुपरेको छ । त्यसबाहेक एर्दोगानका मुख्य प्रतिद्वन्द्वीले चालेका गलत कदमले उनलाई फाइदा गर्यो । किलिच्दारोग्लु सन् २०१० देखि रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) का प्रमुख छन् ।

उनको अध्यक्षतामा उनको पार्टीले सन् २०१९ को स्थानीय चुनावबाहेक हरेक चुनाव र जनमत संग्रहमा हारेको छ । उनले आफ्नो उम्मेदवारीमा कुनै पनि सार्वजनिक बहस गराएनन् र गठबन्धनभित्र निकै लोकप्रिय दुई मेयर एकरेम इमामोग्लु र मन्सुर याभासलाई उम्मेदवारीको प्रतिस्पर्धामा उत्रिनै दिएनन् । यसबाट विपक्षी मतदातामा उत्साह देखिँदैनथ्यो । 

वर्षौंको पार्टी अध्यक्षका क्रममा किलिच्दारोग्लुले पार्टीभित्र आफूप्रति बफादारलाई पुरस्कृत गरेको र आफूलाई चुनौती दिनेलाई एक्ल्याउने गरेको आरोप लाग्दै आएको छ । उनको पार्टीले आर्थिक सहयोग गर्ने सञ्चार माध्यमले उनको आलोचना गर्ने पत्रकारलाई बर्खास्त गर्ने रेकर्ड बनाएका छन् । नतिजाका रूपमा रिपब्लिकन पार्टीनजिकका मिडियाले उनको उम्मेदवारीको आलोचनात्मक मूल्यांकन नै गरेनन् र उनको लोकप्रियताको समाचार बढाई–चढाई प्रस्तुत गरिए ।

किलिच्दारोग्लुको नेतृत्वमा उनको पार्टीले बोक्ने सामाजिक लोकतन्त्रको विधारधारा क्षय भएर पार्टी एक दिशाहीन संगठनका रूपमा बदलिँदै गएको प्रतीत हुन्छ । त्यसबाहेक ठूलो संख्यामा मतदाता गठबन्धन सरकारप्रति संशकित भएका हुन सक्छन् । राजनीतिक अस्थिरता र आर्थिक मन्दीका कारण सन् १९९० देखि २००२ सम्मको गठबन्धन सरकारको अवधिमा टर्कीका नागरिकले भोगेको पीडा धेरैको स्मरणमा अझै ताजा छ । 

अपेक्षाभन्दा राम्रो प्रदर्शनले एर्दोगान दोस्रो चरणको मतदानका मुख्य दाबेदार बनेका छन् । उनले जिते भने हालको अधिनायकवादी शासनशैली थप सुदृढ बन्न सक्छ । यसले विपक्षलाई अझ कमजोर बनाउन सक्छ । अझ दुई प्रमुख विपक्षी दलभित्र नेतृत्व संघर्ष सुरु हुन सक्ने संकेत प्राप्त भएका छन् । एर्दोगान सन् २००२ देखि सत्तामा छन् । यस हिसाबमा उनी टर्कीका कुनै राष्ट्रपति, अझ कैयौँ ओटोमन साम्राज्यका (सन् १९२२ अघिको टर्किस साम्राज्यको नाम) राजाहरूभन्दा लामो समयसम्म देशमा शासनमा छन् । अतिरिक्त पाँच वर्षको शासन कार्यकालले उनलाई राज्यका संस्थानमा आफ्नो शक्ति थप सघन बनाउन ढोका खोलिदिनेछ । 

(इन्डियाना विश्वविद्यालयका प्राध्यापक यासुन टर्किस राजनीतिका विज्ञ मानिन्छन्) द कन्भर्सेसनबाट

सुझावित समाचार