सांसदहरूले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद् सचिवालयमा बुझाएको प्रश्नहरू प्रतिनिधिसभा बैठकअगावै बाहिरिएकोमा एमाले सांसद रघुजी पन्तले असन्तुष्टि जनाएका छन्। संसदभित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेषाधिकार सांसदहरूको मात्रै भएको बताउँदै पन्तले सांसदले प्रश्न नसोध्दै सञ्चारमाध्यमहरूमा आउनु उपयुक्त नभएको बताए।
‘यो प्रश्न कसले आउट गर्यो? अरू सांसदहरूको प्रश्न कसले आउट गर्यो? यो संसदभित्र प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने विशेषाधिकार सांसदको मात्रै हो,’ उनले भने, ‘सांसदले प्रश्न नसोध्दै अखबार र सञ्चारमाध्यमहरूमा आउनु उपयुक्त हुँदैन। मैले बुझेसम्म यस्ता विषयहरु संसद्को, सांसदको विशेषाधिकारसँग सम्बन्धित कुरा हुन्।’
सांसद पन्तले आगामी दिनमा यसरी प्रश्नहरू आउट नगर्न ध्यानाकर्षण गराए। ‘हाई स्कुलको प्रश्न आउट भए पनि, कलेजको प्रश्न आउट भए पनि, संसद्को प्रश्न आउट भए पनि, त्यो राम्रो मानिँदैन।’