भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउन भारतीय राजदूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।
दुई परियोजनाको कुल अनुमानित लागत आठ करोड तीन लाख ३० हजार रुपैयाँ छ। रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसका लागि भारतले सहयोग दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
यी दुई परियोजनाको निर्माण क्रमशः रामेछाप नगरपालिका र बडिकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ।
‘यी परियोजनाको निर्माणले स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ,’ भारतीय दूतावासले विज्ञप्तिमा भनेको छ।