राजा र भिखारीको सभ्यता

बिहिबार, ४ जेठ, २०८०
डिजिटल संस्करण

एकपटक फ्रान्सका राजा हेनरी चतुर्थ कतै जाँदै थिए । उनी आफ्ना अंगरक्षकलाई साथमा लिई घोडा चढेर कतै घुम्न निस्किएका थिए । उनीहरू बिस्तारै दरबारबाट निस्केर निकै टाढासम्म पुगिसकेका थिए । राजा हेनरी यस्तो घुमफिरमा विशेष चासो राख्ने गर्थे । विशेषगरी सन्ध्याकालीन भ्रमणले उनलाई लोभ्याउने गथ्र्यो । स्वच्छ वातावरण, सन्ध्याकालीन चिसो बतास, वरिपरिको हरियाली, बगैँचाबाट आइरहेको फूलहरूको मिठो सुगन्ध सबैले उनमा एक प्रकारको स्फूर्ति पैदा भइरहेको थियो । राजा हेनरी अंगरक्षकसहित अघि बढिरहेकै थिए । बाटामा उनले एकजना भिखारीलाई देखे । भिखारीले पनि राजालाई देखे । ती भिखारीले राजालाई चिनिहाले । 

उनले राजाको सम्मानार्थ आफ्नो टोपी फुकालेर विशेष शैलीमा सलाम गरे । उनले सलाम गरेको देखेर राजाले पनि आफ्नो घोडा रोकेर आफ्नो टोपी फुकाले । अनि, उनले ती भिखारीलाई पनि त्यसैगरी सलाम गरे, जसरी भिखारीले उनलाई गरिरहेका थिए । साथै, उनले आफूले लगाइरहेको एउटा मूल्यवान् हार ती भिखारीलाई दिए र अघि बढे । 

राजा हेनरीको त्यस्तो हर्कत उनका अंगरक्षकलाई मन परेन । तर, अंगरक्षकले आफूलाई मन नपरेको झल्को नदेखिने गरी भने, ‘महाराज, मलाई क्षमा गर्नुहोला । म एउटा अत्यन्त ठूलो अन्योलमा परेको छु । हजुर यति ठूलो शक्तिशाली राजा हुनुहुन्छ । तैपनि, त्यति साधारण एउटा भिखारीलाई आफ्नो टोपी खोलेर सलाम गर्नुभयो । यसको कारण बुझ्न सकिएन । के राजाले एउटा भिखारीलाई यसरी सलाम गरिरहनु आवश्यक थियो र ?’

आफ्ना अंगरक्षकको जिज्ञासा सुनेर राजा हेनरीले भने, ‘हो, तिमीले भनेजस्तो मैले ती भिखारीलाई त्यसरी सलाम नगरेको भए पनि फरक त पर्दैनथ्यो सायद । तर, मैले त्यसो नगरेको भए मेरो मनले मलाई कति धिक्कार्दो हो ? के फ्रान्सको राजामा एउटा भिखारीको जत्ति पनि सभ्यता छैन ?’

सुझावित समाचार