असल मानिससँगको संगत र सान्निध्य पे्ररणा, ऊर्जा र ज्ञानको स्रोत बनेर बाँचिरहेको हुन्छ । जसको उपस्थिति जति प्रिय र प्रेरणादायी हुन्छ, उसको अनुपस्थिति र अवसान त्योभन्दा कैयौँ गुणा बढी पीडादायी हुन्छ । जननेता मदन भण्डारी मेरा लागि त्यस्तै आदरणीय पात्र हुनुभयो ।
४५ वर्षअघि २०३५ साल असारको अन्तिम दिन, मैले मदनलाई पहिलोपटक भेटेको थिएँ ! र, २०५० सालको जेठ १ गते बिहान साढे आठ बजेपछि उहाँसित कहिल्यै भेट हुन सकेन ! २०५० साल जेठ ३ गतेको षड्यन्त्रपूर्ण ‘दुर्घटना’मा उहाँ भौतिक रूपले हामी सबैसँग सदा–सदाका लागि बिदा हुनुभयो । मैले मदनसँग चौध वर्ष दश महिना निरन्तरको सम्बन्ध सम्पर्कमा बिताएँ । मित्रता र सानिध्यमा धेरै कुरा सिकेँ । अत्यन्त विश्वास र आत्मीयतामा हाम्रो सम्बन्ध रह्यो । एउटै कमिटीका सदस्य र सहयोद्धाका रूपमा उहाँसितको सम्बन्ध अगाडि बढेको थियो ।
२०३५ साल साउन ८ गते मदन भण्डारी तात्कालीन ‘को–अर्डिनेसन केन्द्र’को ‘केन्द्रीय नेतृत्व’मा निर्वाचित हुनुभएको थियो र २०५० साल जेठ ३ गते सहादत प्राप्त गर्ने वेलासम्म जम्मा ४२ वर्षको उमेरमा उहाँले कम्युनिस्ट पार्टीको अत्यन्त लोकप्रिय महासचिव, नवीन विचारक तथा मुलुककै चर्चित र उदीयमान राजनेताको स्थान बनाइसक्नुभएको थियो ।
२०४८ सालको आमनिर्वाचनमा बहुमत प्राप्त नेपाली कांग्रेस थामिनसक्नुको उन्मादमा थियो । उसमा सर्वसत्तावादी चिन्तन र व्यवहार जबर्जस्त रूपमा देखिएको थियो । नेकपा (एमाले) प्रमुख प्रतिपक्षी पार्टी बनेको यथार्थलाई उसले स्वीकार गर्न सकिरहेको थिएन र एमालेसँग प्रमुख प्रतिपक्षी दलकोजस्तो व्यवहार पनि गरिरहेको थिएन । कांग्रेसको त्यस्तो व्यवहारका कारण मुलुकमा तीव्र गतिमा राजनीतिक मुठभेडको स्थिति तयार हुँदै थियो ।
यस्तै असहज परिस्थितिमा क्रान्तिकारी संघर्षमा योग्यतापूर्वक सशक्त भूमिका खेल्दै आएको शक्ति भएका कारण र मदन भण्डारीजस्तो ओजस्वी र लोकप्रिय नेता आफूसित भएका कारण तत्कालीन नेकपा (एमाले)को पार्टी पंक्ति अरिंगालको गोलो भएर विरोधीमाथि जाइलाग्ने मानसिकतामा थियो ।
यसरी, भर्खर प्रारम्भ भएको संसदीय राजनीति नराम्ररी मुठभेडतर्फ धकेलिँदै थियो । सरकारी दमन, सत्ताको दुरुपयोग, भ्रष्टाचार आदि विषयका कारण जनतामा कांग्रेसविरोधी भावना दिनानुदिन बढिरहेको थियो । यिनै विषयमा तत्कालीन नेकपा (एमाले) द्वारा देशव्यापी रूपमा पार्टी परिचालन र विरोधसभाहरू आयोजना गरिएका थिए । मदन भण्डारी प्रायः प्रत्येक सभाहरूमा ओजस्वी र प्रभावकारी भाषणका माध्यमबाट जनतासमक्ष आफ्ना सशक्त विचार प्रवाहित गरिरहनुभएको थियो । त्यस अवधिमा मदनको प्रभाव र प्रतिष्ठाले शिखर चुम्दै थियो ।
मदन ऐतिहासिक जनआन्दोलनपछि गठन भएको अन्तरिम सरकारका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिसमेत रहेका कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै काठमाडौंका दुइटा निर्वाचन क्षेत्रबाट सानदार जित हासिल गरेपछि चर्चाको शिखरमा हुनुहुन्थ्यो । एमाले पंक्ति र आमजनतामा मात्र नभई अन्तर्राष्ट्रिय जगत्मा समेत मदनप्रतिको आकर्षण अभूतपूर्व रूपले बढेर गएको थियो । एकातिर मदनको लोकप्रियताको ‘ग्राफ’ माथि चढिरहेकोे थियो, अर्कोतिर उहाँका बारेमा अपशकुनले भरिएका समाचार रहस्यमय ढंगले सार्वजनिक हुन थालेका थिए । मदनको लोकप्रियता र प्रतिष्ठाको ताप यति जबर्जस्त थियो कि टाढा–टाढाबाट समर्थक, शुभचिन्तक मात्र होइन, आमजनतासमेत मदन पुग्नुभएका ठाउँमा पुग्ने गर्थे ।
मदन यही अभियानको सिलसिलामा २०५० साल जेठ १ गतेदेखि ३ गतेसम्म पार्टीको कास्की जिल्ला अधिवेशनमा जान लाग्नुभएको थियो । जीवराज आश्रित अगाडि नै मदनले चढ्ने गर्नुभएको बा.अ.च ८७९३ नं.को गाडीबाट पोखरा जानुभएको थियो । मदनले काठमाडौंमै विशेष कार्यक्रम भएका कारण त्यस दिन पोखरा नगई भोलिपल्ट जेठ १ गते जहाजबाट जाने निर्णय गर्नुभएको थियो । यसरी पोखराका लागि हिड्नुभन्दा पहिले उहाँले लगभग एक घन्टाजति मसित कुरा गरी एक महिनाको कार्यक्रमबारे मलाई नोट गराउनुभएको थियो ।
जेठ १ गते पोखराबाट सुरु भएर चितवन, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, सिरहा र तनहुँ आदि जिल्लामा जेठ २६ गतेसम्मका लागि तय गरिएका विभिन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने गरी उहाँ हिँड्न लाग्नुभएको कुरा मलाई उहाँले जानकारी गराउनुभएको थियो ।
वृद्धावस्थाका पार्टी अध्यक्ष मनमोहन अधिकारी स्वयं दुर्घटनास्थल पुगेर त्रिशूली नदीकिनारको बगर र बुट्यानमा मदनको कुनै दसी र संकेत पाइन्छ कि भनेर खोज्दै हिँड्नुभयो । जेठको उखरमाउलो गर्मी भए पनि बगर र बुट्यानमा मदनलाई खोज्दै हिँड्नुभएका मनमोहन अधिकारी मदनको केही संकेत नपाएपछि डाँको छोडेर रुनुभएको थियो ।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको नेपाली कांग्रेसभित्र देखापरिरहेको अलोकतान्त्रिक चरित्र र गतिविधिविरुद्ध एमालेलगायत प्रतिपक्षी मात्र नभएर स्वयं कांग्रेसभित्रै पनि विरोध हुन थालेको थियो । कांग्रेसभित्र यसको अगुवाइ कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले गर्नुभएको थियो । यसरी गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको कांग्रेसी सर्वसत्तावादविरुद्ध एउटा बृहत् मोर्चाबन्दी खडा भइरहेको थियो ।
यही मोर्चाबन्दीको एउटा महत्वपूर्ण भूमिकामा रूपमा मदन भण्डारी देखा पर्नुभएको थियो । गणेशमानजीलगायत नेताहरूसित मदनले धेरैपटक भेटघाट र छलफल गर्नुभएको थियो । २०५० जेठ १ गते बिहान नक्सालस्थित उहाँको कोठामा लगभग एक घन्टाजतिको उहाँसितको भेटमा मलाई यसबारे जानकारी गराउँदै अन्य केही सम्भावित विषयबारे पनि संकेत गर्नुभएको थियो । गणेशमानजीहरूसित त्यसबीच पटक–पटक भएका भेटघाटबारे जानकारी गराउँदै आफू काठमाडौंबाहिर रहेका वेला उहाँहरूलाई सम्पर्क बिन्दुका रूपमा सम्पर्क गर्न भन्नुभएको, त्यस प्रयोजनका लागि मदनले मेरो कोठाको ल्यान्डलाइन टेलिफोन नम्बर दिएको र कुनै पनि वेला उहाँहरूले सम्पर्क गरेपछि आफूलाई तुरुन्त सूचना गर्न विभिन्न मितिमा आफू पुग्ने ठाउँ र सम्पर्क गर्नुपर्ने व्यक्तिबारे विवरणसहितको एउटा टिपोट दिनुभएको थियो ।
मैले त्यसवेला मदनले भन्नुभएका सबै विषयलाई गम्भीरतासाथ सुनिरहेँ, केही–केही आवश्यक कुरा नोट गरेँ र आफूलाई लागेका केही विषयबारे जिज्ञासा पनि राखेँ । यी सबै कुराबारे जानकारी गराइरहँदा मदन गम्भीर देखिनुहुन्थ्यो, त्यसवेला मेरो मनमा लागेको थियो– यी सबै कुरा अरू नेतालाई थाहा छ कि छैन होला ? तर, प्रश्न गरौँ कि भन्ने लाग्दालाग्दै पनि त्यसवेला मदनलाई यो प्रश्न भने गरिनँ । उहाँले नै बरु भन्नुभएको थियो, ‘यी धेरै गम्भीर र दूरगामी महत्व राख्ने विषय हुन्, कसैसित पनि यससम्बन्धी कुरा नगर्नुहोला, गोपनीयता बचाउनुहोला, मैले दिएको मेरो कार्यक्रमको चिट पनि सुरक्षित राख्नुहोला ।’
हामीबीच कुराकानी सकिनासाथ मदन हिँड्ने तयारीमा लाग्नुभयो । म एकछिन त्यहीँ बसेँ । मदनले भन्नुभएका सबै कुरा मनमा गुनिरहेँ । एकछिनपछि मदन कमरेडलाई शुभ यात्रा भन्दै आफ्नो ज्ञानेश्वरको कोठातिर लागेँ । यसरी, मदन भण्डारीले मलाई गराउनुभएको जानकारी र दिनुभएको त्यो निर्देशन नै मेरा लागि अन्तिम हुन पुग्यो !
मदनसित भएका कुराहरूले त्यस दिनभरि नै मेरो दिमागमा चक्कर काटिरहे र दिनभरि नै मैले मदनले दिनुभएको कार्यक्रम र समयतालिकालाई दोहोर्याई–तेहर्याई हेरिरहेँ । त्यसबीच मैले कुनै नेतासित पनि मदनसित भएका कुराबारे जानकारी गराइनँ । मैले एकोहोरो मदन कमरेडलाई संम्झिँदै, घरमा कहीँ कतैबाट फोन आइहाल्छ कि भनेर विशेष ध्यान मात्र दिइरहेँ ।
२०५० साल जेठ ३ गते बेलुका साढे पाँच वा ६ बजेको थियो होला ! म बागबजारस्थित केन्द्रीय कार्यालयमै थिएँ । अफिसमा गर्नुपर्ने काममा म घोत्लिँदै थिएँ । त्यसैवेला केन्द्रीय कार्यालयका लेखा शाखा प्रमुख लेखनाथ कोइरालाले अत्तालिँदै आएर एउटा सूचना दिनुभयो । उहाँले हतार–हतारमा दिनुभएको सूचनापछि म हतप्रभ भएँ ! मदन चढ्नुभएको गाडीको ड्राइभर अमर लामाबाट चितवन पुगेर केन्द्रीय कार्यालयमा फोन गरी’ ‘गाडी दुर्घटना भएर त्रिशूली नदीमा डुबेको, मदन र आश्रित दुवैजना बेपत्ता हुनुभएको, आफू भने बचेर नारायणगढ पुगेर फोन गरेको’ भन्ने जानकारी आएको रहेछ !
यो अप्रत्यासित सूचनापछि मलाई भाउन्न होला जस्तो भयो । के गरौँ, कसो गरौँ जस्तो भयो, कसलाई के भनेर जानकारी गराऊँ जस्तो भइरह्यो । म एक किसिमले अत्तालिएको थिएँ । हतार–हतार जता–जता फोन लाग्यो, ती–ती ठाउँमा फोन गर्न थालेँ । कार्यालय उपसचिव मनकुमार गौतमलाई पनि फोन गर्न लगाएँ । एकैछिनमा धेरै नेता–कार्यकर्ताको घुइँचो लाग्न थाल्यो । अन्य पार्टीका नेता–कार्यकर्ता पनि आउन थाले । केन्द्रीय कार्यालयमा जम्मा भएको भिड थामिनसक्नु हुँदै गयो । चारैतिर टेलिफोन हुन थाले । केही साथीहरू दुर्घटनास्थल (चितवनको दासढुंगा) नै पुग्ने र यथार्थ स्थिति बुझ्ने योजना बनाउन लागे । यी सबै काम चिन्ता, शोक र पीडाका बीचमा भइरहेका थिए । कति साथीहरू त रोइरहेका थिए !
हामी पार्टीका जिम्मेवार केही व्यक्तिहरू पार्टी अफिसको कोठामा चिन्तित हुँदै यता र उता गरिरहेका थियौँ ।
आउनेहरूलाई केही बताउँदै, कसैलाई सम्झाउँंदै, आएका सूचना केही लिँदै समन्वय गर्ने कोसिस गरिरहेका थियौँ । म, राधाकृष्ण मैनाली, प्रदीप नेपालहरू यी सबै काम गरिरहेका थियौँ र अफिसका केही स्टाफ हामीसँगै रहेर हाम्रा काममा सघाइरहेका थिए । तर, पार्टीका केही जिम्मेवार साथीहरू त्यस्तो वेला पनि अफिसमा आएका थिएनन् । वा, आएर पनि एकछिन यताउति गरेर ‘भोलि उज्यालो भएपछि खोजीकार्यमा लाग्नुपर्ला’ भन्दै घरमा सुत्न गएका थिए ! (यस्तो अशोभनीय, अमर्यादित र कृतघ्न व्यवहार देखेपछि राधाकृष्ण मैनालीले फोनबाटै त्यस्ता नेताहरूलाई हकार्नु पनि भएको थियो ।)
मदनको लोकप्रियता र प्रतिष्ठाको ताप यति जबर्जस्त थियो कि टाढा–टाढाबाट समर्थक, शुभचिन्तक मात्र होइन, आमजनतासमेत मदन पुग्नुभएका ठाउँमा पुग्ने गर्थे ।
हामी रातभर पार्टी अफिसमै बस्यौँ, चिन्ताको पोखरीमा डुबेर । हामी अफिसमा बसेका थियौँ, तर हामी थाहा पाउँदै थियौँ– काठमाडौंदेखि मुग्लिन र नारायणघाटसम्मको सडकभरि मदन र आश्रितको खोजीमा निस्केका मानिसको भिड बढिरहेको छ । सबैजना मदन–आश्रित दुर्घटनामा पर्नुभएको ठाउँ (दासढुंगा) पुग्न हान्निइरहेका थिए ! काठमाडौंका सामान्य जनता मदनको यथार्थ खबर बागबजारको पार्टी अफिसमा सुन्न, बुझ्न धाइरहेका थिए । मैले राति नै मेरो डेरा ज्ञानेश्वरबाट मिरालाई शोकविह्वल विद्याजीको रेखदेखका लागि जान भनिसकेको थिएँ र उनी कोठामा दुईजना साना छोराहरूलाई छोडेर त्यहाँ गइसकेकी थिइन् । मदन दुर्घटनामा पर्नुभएको खबर सबैका लागि एउटा कहालीलाग्दो घटना बनेर आएको थियो ! हामी पार्टीभित्र त विशेष मर्माहत नै बनेका थियौँ !
हामीले झिमिक्कै नगरी रात बितायौँ । भोलिपल्ट बिहानै प्रशासनसँग समन्वय गरेर सुरक्षा क्षेत्रका गोताखोरहरूलाई गाडी दुर्घटना भएको ठाउँमा पठाइयो । गाडी पत्ता लगाउन र डुबेको गाडी निकाल्ने उद्देश्यका साथ क्रेनहरू पठाइए । नेताहरूको टोली पनि दुर्घटनास्थलतिर गयो । वृद्धावस्थाका पार्टी अध्यक्ष मनमोहन अधिकारी स्वयं दुर्घटनास्थल पुगेर त्रिशूली नदीकिनारमा बगर र बुट्यानमा मदनको कुनै दसी र संकेत पाइन्छ कि भनेर खोज्दै हिँड्नुभयो । जेठको उखरमाउलो गर्मी भए पनि बगर र बुट्यानमा मदनलाई खोज्दै हिँड्नुभएका मनमोहन अधिकारी मदनको केही संकेत नपाएपछि डाँको छोडेर रुनुभएको थियो । ‘म बुढो बाँचेकै छु, तिमी कहाँ गयौ नि मेरो कमरेड !’ भन्दै मनमोहनले मन थाम्न नसकेको दृश्यले त्यहाँ जम्मा भएका धेरै मानिसलाई रुवाएको थियो ।
जति–जति समय बित्दै थियो, मदनको कुनै सुइँको मिलिरहेको थिएन, र मानिसहरू आत्तिँदै गइरहेका थिए । त्यहाँ उनीहरू मदनलाई प्रकट भएको देख्न चाहन्थे । मेरो मनको एउटा कुनामा पनि कता–कता मदन कतै घाइते अवस्थामा, जीवितै अवस्थामा भेटिनुहुन्छ कि भन्ने लागिरहेको थियो । दासढुंगादेखि दसौँ कोस टाढा–टाढासम्म आममानिस, पार्टी कार्यकर्ता, सुरक्षाकर्मी स्वतःस्फूर्त रूपमा मदन र आश्रितको खोजीमा निस्किरहेका थिए । शोकमा डुबेको मानव सागर मदनको खोजीमा अविश्रान्त रूपमा खटिरहेको थियो ।
दुर्घटना भएको झन्डै ३९ घन्टापछि जेठ ५ गते बिहान साढे आठ बजे, झन्डै ३२ किलोमिटर टाढा गुन्जनगरको गाजीपुरमा नारायणी नदीको किनारमा मदनको लास भेटिएको खबर हावाझैँ फैलियो । दुर्घटना भएको ३२ किलोमिटरजति टाढा, अस्वाभाविक अवस्थामा मदनको मृत शरीर भेटिएको थियो । माथि लगाएका लुगा जस्ताको तस्तै थिए, तर प्यान्टचाहिँ गायब भएको थियो ! त्यस्तो अवस्थामा रहेको मदनको शवको सनाखत तत्कालीन जिल्ला कमिटीका सदस्य हरि सापकोटाले गर्नुभएको थियो ।
मदनको शव निकालेपछि देखियो– उहाँको अनुहारमा आँखा वरिपरि नराम्ररी घाउचोट लागेका थिए । लामो बाहुला भएको सर्ट, दुइटै खुट्टामा मोजा लगाएको, पाइन्ट नभएको, हातमा घडी नभएको, बायाँ आँखामा चोट भएको, हात, कुहिना र दुइटा घुँडामा चोट रहेको र छालाको बेल्टले कस्सिएको प्यान्टसमेतÞ गायब भएको अवस्थामा मदनको लास भेटिएको थियो ! बेल्टसहितको प्यान्ट गायब हुनु अत्यन्त अस्वाभाविक थियो । लास भेटिएपछि मदनलाई जीवितै भेटिन्छ कि भन्ने हाम्रो आशामा तुसारापात भएको थियो भने उहाँ हामीहरूसित सदा–सदाका लागि भौतिक रूपले बिदा हुनुभयो भन्ने कुराले एउटा अत्यासलाग्दो भविष्य अगाडि खडा भएको थियो ।
यतिका वर्ष बिते, जननेता मदन भण्डारी हामीबीच हुनुहुन्न । तर, उहाँका विचार, योगदान र घटनापूर्ण जीवन प्रेरणाको स्रोत बनेर सधैँ–सधैँ रहिरहेका छन् । विश्व कम्युनिस्ट आन्दोलनले धक्का खाएर रक्षात्मक अवस्थामा पुगेका वेला नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा दिने र ऐतिहासिक उचाइमा पुर्याउने जननेता मदन भण्डारी विचार र संगठन कौशलका कारण हामीमाझ आज पनि जीवितै हुनुहुन्छ । मदन–आश्रितका हत्यारा यसका योजनाकार र सूत्रधारलाई कुनै न कुनै दिन जनता अगाडि ल्याउन सकिएला कि नसकिएला भन्ने पीडादायी प्रश्न हामीबीच रहिरहेको छ !
हार्दिक श्रद्धाञ्जली जननेता मदन भण्डारी ! मदन–आश्रित हामीबीच सधैँ–सधैँ बाँचिरहनुहुनेछ ।