नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोके पनि ब्रोकरको भने अघि बढाएको छ । स्टक र ब्रोकर लाइसेन्स वितरणमा भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । प्रधानमन्त्रीको निर्देशनपछि स्टकको लाइसेन्स प्रक्रिया रोकिएको छ, तर बोर्डले ब्रोकर लाइसेन्स वितरणको प्रक्रियालाई भने तीव्रता दिएको हो ।
बोर्डले २ असोजमा सूचना जारी गर्दै स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो । ब्रोकर लाइसेन्सका लागि ३० दिन र नयाँ स्टक एक्सचेन्जका लागि ४५ दिनको समय दिएको थियो । तोकिएको अवधिमा स्टकका लागि तीनवटा र ब्रोकरका लागि ४६ वटा कम्पनीका आवेदन परे ।
लाइसेन्स वितरणमा नीतिगत भ्रष्टाचार भएको र त्यसको छानबिन गर्नुपर्ने आवाज संसद्देखि सडकसम्म उठेको छ । स्टकको लाइसेन्समा अनियमितता भएको गुनासो आएपछि सरकारले प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिइसकेको छ । बोर्डले स्टक लाइसेन्स वितरणको प्रक्रिया तत्काललाई रोकेको छ । तर, विरोध र विवादलाई बेवास्ता गर्दै ब्रोकर लाइसेन्स वितरणको प्रक्रियालाई भने निरन्तरता दिएको छ । नयाँ ब्रोकर लाइसेन्स वितरणविरुद्ध अख्तियारमा उजुरीसमेत परेको थियो । धितोपत्र दलाल अनुमतिपत्र आफैँले दिने गरी बोर्डले आवेदन आह्वान गर्नु धितोपत्रसम्बन्धी कानुन र धितोपत्र बजारको सिद्धान्तविपरीत रहेको उजुरीमा उल्लेख छ ।
बोर्डले हालसम्म ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र (एलओआई) दिएको छ । लाइसेन्सका लागि आवेदन दिने ४६ मध्ये मापदण्ड पूरा गर्ने ४३ कम्पनीलाई आशयपत्र (एलओआई) दिएको हो । अख्तियारमा उजुरी रहँदै ब्रोकर लाइसेन्सको पक्रिया अघि बढाइएको भन्दै पुराना ब्रोकर कम्पनीहरूले भने विगतदेखि नै विरोध जनाउँदै आएका छन् । सीमित व्यक्तिलाई नाफा हुने गरी ब्रोकर लाइसेन्स दिएको भन्दै यसमा नीतिगत भ्रष्टाचार भएको र छानबिन गर्नुपर्ने नेपाल ब्रोकर एसोसिएसनको भनाइ रहेको छ । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सर्वोच्चबाट नै क्लिन चिट पाएपछि लाइसेन्सको पक्रिया अघि बढाएको बताए ।
तर, अहिले आशयपत्र पाएका ४३ नयाँ ब्रोकर कम्पनीले भने पहिलोपटक निष्पक्ष ढंगले लाइसेन्स वितरण भएको उल्लेख गर्दै भ्रष्टाचारको आरोपलाई कपोलकल्पित र भ्रामक भनेका छन् । उनीहरूले विज्ञप्ति निकाल्दै सञ्चालनमा रहेका ब्रोकरको आरोपलाई खण्डनसमेत गरेका छन् । ‘स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले मिति ०८० साल २९ वैशाखमा जारी गरेको भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताले गरेको अपेक्षामाथिको तुषारापात भएको हाम्रो ठहर छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।