संस्थापन समूह अनुसन्धानको टुंगो नलागेसम्म पर्खने, इतर समूह तत्काल निलम्बन गर्नुपर्ने पक्षमा
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणलाई पार्टी केन्द्रीय सदस्यबाट निलम्बन गर्ने विषयमा कांग्रेस केन्द्रदेखि तल्लो तहसम्म विभाजित बनेको छ । पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई मुद्दाको किनारा नलागेसम्म पार्टीको जिम्मेवारीबाट अलग राख्ने विषयमा कांग्रेसमा दुई धार देखिएको हो । संस्थापन समूह तत्काल निलम्बन नगर्ने पक्षमा छ भने इतर समूहले निलम्बन गर्दा पार्टी हितअनुकूल हुने मत राख्दै आएको छ । हालसम्म यस विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
प्रवक्ता डा. प्रकाशशरण महतले खाणको विषयमा अनुसन्धान टुंगो नलागेसम्म कुनै निर्णय लिने तयारी नभएको बताएका छन् । मंगलबार राजधानीमा पत्रकार भेटघाटमा प्रतिक्रिया दिँदै उनले अनुसन्धानबाट नतिजा आइसकेपछि निर्णयमा पुग्ने बताए । उनले कांग्रेस सांसदद्वय आरजु राणा र मञ्जु खाणको विषयमा आधार अनर्गल प्रचार र मिडिया ट्रायल भएको उनको जिकिर थियो ।
‘नक्कली शरणार्थी प्रकरण गम्भीर विषय हो । पार्टीले गम्भीरताका साथ लिएको छ । आरोपित व्यक्तिमा बालकृष्ण खाण पनि हुनुहुन्छ । उहाँले आफूलाई निर्दोष साबित गर्छु भन्नुभएको छ । नक्कली शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस् । पार्टी स्पष्ट छ, निर्दोष नफसून्, दोषी नउम्किऊन् । परिपक्व अनुसन्धानबाट नतिजा आइसकेपछि हामी के गर्ने भन्ने निर्णय गर्छौँ,’ उनले भने, ‘मञ्जु खाणको विषयमा विदेश पुग्नुभयो भनेर आएको छ । यसमा पार्टीले फलो गर्ने कुरा भएन । आरजु राणाको केसमा उहाँले आफ्नो भनेर आएको अडियो छानबिन होस् भनेर आफैँले साइबर ब्युरोमा उजुरी गर्नुभएको छ । आधारविना मिडिया ट्रायल गरेर दोषी करार गर्नुहुँदैन ।’
सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसँग भने छलफल र राय लिइरहेका छन् । निर्णय लिन कार्यसम्पादन या कार्यसमितिको बैठक भने आह्वान गरिएको छैन । यसकारण तत्काल खाणलाई निलम्बन गर्ने निर्णय हुने अवस्था छैन । कांग्रेसका एक पदाधिकारीका अनुसार खाण पक्राउ परिसकेको अवस्थामा पनि संस्थापन केही नेताहरू भने निलम्बनको विपक्षमा छन् । महामन्त्री गगन थापाले मंगलबार नै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको जिम्मा पार्टीले नलिने स्पष्ट पारेका छन् । शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने भन्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । थापाले पटक–पटक यस विषयमा आफूले पार्टी बैठकमा धारणा राखेको, तर सुनुवाइ नभएको वक्तव्यमा उल्लेख गरेका छन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो । पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन । पार्टीको तर्फबाट हामीले भन्ने यति मात्र हो– अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दाेष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दाेष छुट्याउने कानुनी प्रक्रियाबाट हो,’ थापाले भनेका छन् ।
थापाले आरोप लागेपछि मुद्दाको किनारा नलागेसम्म जिम्मेवारीबाट अलग राख्नुपर्ने पक्षमा आफू अडिग रहेको उल्लेख गरेका छन् । कांग्रेसमा विगतका परम्परा देखाएर आरोप लागेकालाई निलम्बन नगर्नु गलत रहेको तर्क गरेका छन् । आफ्नो धारणाबारे अडिग रहने र पार्टीमा प्रस्तुत हुने उनको भनाइ छ । ‘यति गम्भीर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ । पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चमा मैले यो विचार राखेको छु । पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि, आज पनि र भोलि पनि मेरो धारणा यही नै रहनेछ,’ थापाले भनेका छन्, ‘पार्टीका कतिपय साथीहरूबाट कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रस्ट छु । गलत परम्परा तोडिनुपर्छ । परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन ।’
यस विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक नगरे पनि महामन्त्री थापाले वक्तव्यमा यो नै कांग्रेसको आधिकारिक धारणा भएको जिकिर गरेका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा यो नै नेपाली कांग्रेस पार्टीको धारणा हो,’ थापाले भनेका छन् । उनले यो प्रकरणमा हुने प्रवृत्तिको पक्षपोषण सबैको मापनको विषय हुने उनको तर्क छ । शरणार्थी प्रकरण ठगीको विषय मात्र नभई संगठित अपराध, मानव बेचबिखन र देशद्रोह भएको महामन्त्री थापाको ठहर छ ।
कांग्रेसमा यसअघि आरोप लागेका नेताहरूलाई पनि निलम्बन गरिएको विगत छैन । चर्चित बालुवाटर प्रकरणमा आरोप लागेका तत्कालीन उपसभापति विजय गच्छदारलाई पनि कांग्रेसले निलम्बन गरेको थिएन । बरु मुद्दा विचाराधीन रहेकै अवस्थामा गच्छदार १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट उपसभापतिमा उम्मेदवार बने । साथै, गत प्रतिनिधिसभा निर्वाचनमा पनि उनले प्रत्यक्षतर्फ सुनसरी ३ बाट टिकट पाएका थिए । तर, दुवै निर्वाचनमा गच्छदार पराजित बन्न पुगे । सभापति देउवाले मनोनयनको अधिकार प्रयोग गर्दै उनलाई केन्द्रीय सदस्य बनाएका छन् ।
त्यस्तै, विशेष अदालतबाट भ्रष्टाचार आरोप ठहर भएका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई पनि कुनै कारबाही गरिएको छैन । उनी पनि हाल केन्द्रीय सदस्यकै हैसियतमा छन् । गत २५ फागुनमा ३१ करोड भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गुरुङसहित नौजनालाई दोषी ठहर गरेको थियो । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ सांसदबाट भने निलम्बित छन् ।
भ्रातृसंस्था पनि विभाजित
शरणार्थी विषयलाई लिएर कांग्रेसका भ्रातृसंस्थाहरूसमेत विभाजित बनेका छन् । लामो समयसम्म पनि बसेको नेविसंघ भने भर्खरै सडकमा आएको छ । तरुण दलले भने आरोप लागेका नेताहरूको बचाउमा विज्ञप्ति निकालिरहेको छ । २७ वैशाखमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गरेर नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाई दोषीलाई कानुनबमोजिम कारबाही हुनुपर्ने भन्दै आधिकारिक धारणा जारी गरेका थिए । नेविसंघ पछिल्लो समय भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने भन्दै सडक आन्दोलनमा देखिन थालेको छ ।
तर, तरुण दलले भने खाणको संलग्नताबारेको विषय बाहिरिएपछि विज्ञप्ति निकालेर आधारहीन भएको संज्ञा दिएको थियो । २३ वैशाखमा तरुण दल अध्यक्ष विद्वान् गुरुङले खाणको नाम जोडिएको विषयमाथि विज्ञप्ति निकालेर आधारहीन भएको संज्ञा दिएका थिए । त्यस्तै, यो प्रकरणमा समानुपातिक सांसद तथा केन्द्रीय सदस्य आरजु देउवाको नाम जोडेर अनर्गल प्रचार भएको भन्दै विज्ञप्ति जारी गरेको छ । तरुण दलले विज्ञप्तिमार्फत यस्ता संवेदनशील विषयमा आधारहीन आरोप नलगाउनसमेत आग्रह गरेको छ ।