अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ सेवालाई सुलभ बनाउनुपर्ने बताएका छन्। काठमाडौंको सोल्टी होटेलमा मंगलबार आयोजित ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’को उद्घाटन गर्दै उनले वित्तीय पहुँच बढाउन तथा लगानीको लागत घटाउन बैंकिङ सेवालाई सुलभ बनाउनुपर्ने बताएका हुन्।
‘बैंकिङ क्षेत्रले आर्थिक रुपान्तरणमा ठूलो भूमिका खेलेको छ,’ उनले भने, ‘अझ पहुँच बढाउन, साना उद्यमीलाई ऋणमा पहुँच बढाउन तथा व्यावसायिक लागत घटाउन सेवालाई अझ सुलभ बनाउनुपर्छ।’ उनले बैंकिङ सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै साना उद्यमीलाई समेत ऋणमा पहुँच बढाउन आग्रह गरे।
अर्थमन्त्री डा. महतले मौद्रिक नीतिको समीक्षाबाट पोलिसी रेट घट्ने आफ्नो अपेक्षा भए पनि प्राविधिक कारणले त्यो पूरा नभएको बताए। ‘मौद्रिक नीतिले पोलिसी रेट घट्छ भन्ने आशा लागेको थियो, केही प्राविधिक कारणवश हुन सकेनछ,’ उनले भने, ‘बैंक रेट घटेको छ, अब छिट्टै पोलिसी रेट पनि घट्नेछ र त्यसको लाभ व्यवसायीले लिनेछन्।’
‘चिर्दै अभूतपूर्व समस्याका चुनौतीहरू’ भन्ने नाराका साथ आयोजित बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’मा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा र इकोसिस्टमको डिजिटलाइजेसन, रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य, दिगो अनि समावेशी विकासका लागि अहं वित्तीय साक्षरताको अपरिहार्यता र स्थितिलगायतका विषयमा छलफल हुँदै छ।
बैंकिङ समाचारले आयोजना गर्ने यस कार्यक्रमलाई नबिल बैंकले प्रायोजन गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकरलगायतको समेत सहभागिता रहेको छ।