संलग्नहरूमाथि राष्ट्रद्रोहको मुद्दा पनि चलाउन संसदमा संकल्प प्रस्ताव दर्ता

मंगलबार, २ जेठ, २०८०
डिजिटल संस्करण
संलग्नहरूमाथि राष्ट्रद्रोहको मुद्दा पनि चलाउन संसदमा संकल्प प्रस्ताव दर्ता

संसद्मा संकल्प प्रस्ताव दर्ता गराउँदै रास्वपा सांसद सुमना श्रेष्ठ

रास्वपा सांसद सुमना श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसद्मा विशेष छलफल गर्न र सरकारलाई आवश्यक निर्देशन दिन संकल्प प्रस्ताव दर्ता गराएकी छिन् । ‘यो प्रकरणप्रति सदन र सरकारलाई उत्तरदायी बनाउन आवश्यक निर्देशन दिन आज मैले संकल्प प्रस्ताव दर्ता गराएकी छु,’ उनले भनिन् । 

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउन गृह मन्त्रालयसमेतका उच्चपदस्थ कर्मचारी र पदाधिकारीहरूले घुस लिएको, सचिव र मन्त्रीको पद दुरुपयोग गरी मन्त्रालयमा भएको संवेदनशील सरकारी कागजात (कार्यदलको प्रतिवेदन) गैरकानुनी तवरले हेरफेर, नष्ट र किर्ते गरेको, राजनीतिक दलका नेता र कर्मचारीले मानव तस्करी (बेचबिखन)का लागि बिचौलियासँग पैसा उठाएको र सयौँ नेपाली नागरिक भुटानी शरणार्थीको रूपमा तेस्रो मुलुकमा तस्करी भइसकेको भन्ने सूचना आएकाले निष्पक्ष र प्रभावकारी अनुसन्धान हुनुपर्ने उनको माग छ ।

‘त्यसकारण यस प्रकरणमा भ्रष्टाचार (घुस, सरकारी कागजात किर्ते र नीतिगत भ्रष्टाचारसमेत), संगठित अपराध (मानव तस्करी/बेचबिखन उद्योग) र राष्ट्रद्रोह (नागरिकलाई अर्कै मुलुकको नक्कली शरणार्थी बनाउने कार्य गरी राज्य र नागरिकप्रति घात/द्रोह)मा कुनै कसर बाँकी नराखी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिनुपर्छ,’ प्रस्तावमा छ । संकल्प प्रस्तावमा निर्देशनका १० वटा विषय उल्लेख गरिएको छ ।

निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण
सत्तापक्ष र विपक्षी बेन्चमा रहेका सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदले गम्भीर प्रकृतिको अपराध भएको भन्दै यस प्रकरणमा जोसुकै दोषी भए पनि कुनै हालतमा छाड्न नहुनेमा जोड दिए । प्रमुख तीन दलका शीर्ष नेताका शृंखलाबद्ध भेटघाटलाई लिएर सांसदहरूले छानबिन प्रभावित हुन सक्ने आशंका पनि गरेका छन् । 

एमाले सांसद ठाकुर गैरेले भुटानी शरणार्थी प्रकरणमा भएको प्रगति सरकारले सदनलाई जानकारी गराउन माग गरे । रास्वपाका मनीष झाले तीन दलका नेताको नियमित भेटघाटले अनुसन्धान निष्पक्ष र प्रभावकारी हुनेमा आशंका बढेको बताए । दोषीलाई जोगाउने खेल भए चुप लागेर नबस्ने उनले चेतावनी दिए । 

माओवादीका देवेन्द्र पौडेलले भुटानी शरणार्थीको विषय गम्भीरतापूर्वक उठेको र छानबिन चलिराखेको वेला अर्को विषय उठाइदिएर विषयान्तर नगर्न आग्रह गरे । सत्यतथ्यलाई निष्कर्षमा पुर्याउन सरकारलाई, सम्बन्धित निकायहरूलाई सहयोग पुर्याउनुपर्ने र अख्तियार, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागजस्ता राज्यका निकाय सुस्ताएर बस्न नहुने बताए ।

जसपाका राजकिशोर यादवले ठूला नेताको भेटघाटले आशंका जन्माएको भन्दै यो राष्ट्रद्रोह भएकाले दोषीलाई कारबाही गर्न माग गरे । एकीकृत समाजवादीका अमरबहादुर थापाले बिचौलियालाई समयमै कारबाही नगर्दा समस्या विकराल बनेको र दोषी जोसुकै भए पनि छोड्न नहुने बताए । 

रास्वपाका सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीतिलाई नै लज्जित बनाएको भन्दै घटनाको छानबिनबारे सदनमा जवाफ दिन गृहमन्त्रीलाई आग्रह गरे । उनले घटनाप्रति लज्जाबोध गरेर खेद प्रस्ताव पारित गर्न सरकारलाई अनुरोध पनि गरे । 

कांग्रेसकी आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आएको आफ्नो फेक अडियो छानबिन नभएको भन्दै गृह मन्त्रालयसँग जवाफ माग गरिन् । फेक अडियो बनाएर आफ्नो चरित्रको बलात्कार गरिएको भन्दै आरजुले सत्यतथ्य उजागर गर्न र दोषी प्रस्ट पार्न माग गरिन् । 

एमाले सांसद सुनिता बरालले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक व्यक्तिको जीवनशैलीसम्बन्धी कानुन बनाउन माग गरिन् । 

रास्वपाका गणेश पराजुलीले सुशासनको नारा लगाउने दलहरूले आफ्नो नेता मुछिँदा बचाउमा निकृष्ट नाटक मञ्चन गरिरहेको भन्दै जनतालाई भ्रम छर्ने र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल नगर्न चेतावनी दिए।

राप्रपाका ज्ञानबहादुर शाहीले भ्रष्टाचार नियन्त्रण गर्न सडक आन्दोलनभन्दा संसद्मा आन्दोलन गर्नुपर्ने माग गरे । नेमकिपाका प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीलाई पनि कानुनी दायरामा ल्याउन माग गरे ।

रास्वपा सांसद सुमना श्रेष्ठले दर्ता गराएको संकल्प प्रस्तावमा निर्देशन गर्न माग गरिएका विषयहरू
- प्रमाण संकलन र अभियोजन प्रक्रिया स्वतन्त्र, स्वच्छ र निष्पक्ष ढंगले सञ्चालन गर्न आवश्यक प्रबन्ध गर्ने ।

- अपराधका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखिपठाउने र आयोगद्वारा मुद्दा तामेलीमा नराखिने गरी अनुसन्धानको प्रबन्ध गर्ने ।

- लेनदेनमा प्रत्यक्ष संलग्न नदेखिने, तर नीतिगत निर्णयमार्फत शरणार्थी प्रकरणमा जोडिएका राष्ट्रसेवकलाई कानुनी दायरामा ल्याउने ।

- गृहमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्बन्धित क्षेत्र हेर्ने आयुक्तले संसद्समक्ष यथार्थ जानकारी गराउने ।

- सरकारले कुनै किसिमको अनुचित राजनीतिक हस्तक्षेप, दबाब र प्रभाव पर्न नदिने प्रबन्ध गर्ने ।

- प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धानका लागि लेखिपठाउने ।

- अहिलेसम्म नेपालबाहिर गएका भुटानी शरणार्थीबारे छानबिन गर्ने ।

- अन्तर्राष्ट्रिय निकाय, संगठन वा मित्रराष्ट्रसँग उचित सम्पर्क समन्वय गरी आवश्यक कागजात झिकाउने ।

- कार्यदल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिले तामेलीमा राख्ने निर्णयमा संलग्न पदाधिकारीमाथि अनुसन्धान गर्ने ।

सुझावित समाचार