काठमाडौंमा भोलि मंगलबार आयोजना हुने ‘द नेसनल बैंकिङ डिस्कोर्स’ कार्यक्रमको तयारी पूरा भएको छ । ‘चिर्दै अभूतपूर्व समस्याका चुनौतीहरू’ भन्ने नाराका साथ काठमाडौंको सोल्टी होटेलमा हुने बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
बैंकिङ समाचारले आयोजना गर्ने यस कार्यक्रममा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेसनको स्थिति र चुनौती, रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य, दिगो अनि समावेशी विकासका लागि अहम् वित्तीय साक्षरताको अपरिहार्यता र स्थितिलगायतका विषयवस्तुमा मूलभूत छलफल हुनेछ । कार्यक्रम नबिल बैंकको प्रायोजनमा हुँदै छ ।
‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’को पूर्वसन्ध्यामा विशेष अन्तर्क्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। काठमाडौंको होटेल याक एन्ड यतीमा आइतबार डिस्कोर्सको पूर्वतयारीको लागि अन्तर्क्रिया गरिएको हो।
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको सहभागितासमेत रहेको अन्तर्क्रियामा मंगलबार आयोजना हुने डिस्कोर्स कार्यक्रमका मुख्य चारवटा सत्रहरूका विषयमा छलफल भएको थियो ।
मुख्य सत्रमा गरिने बहसका विषयहरू र यसले पार्ने प्रभावको बारेमा गहन छलफल गरिएको इम्प्रेसन अ क्रियटिभ डिजाइनका राजु ढुंगेलले बताए । बैंकिङ डिस्कोर्स कार्यक्रमको व्यवस्थापकको काम इम्प्रेसनले गरेको हो ।
अन्तर्क्रियामा उपस्थित राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेलले डिजिटल इको सिस्टममा नेपालको अवस्था अत्यन्तै चिन्ताजनक भएको भन्दै सुधार गर्नुपर्नेमा जोड दिए ।

राष्ट्र बैंकले पनि वित्तीय डिजिटल इको सिस्टम निर्माणमा गम्भीर भएर काम गरिरहेको उनले बताए ।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले रेमिट्यान्सले धानेको अर्थतन्त्रमा हामी कहिलेसम्म खुसी हुने हो ? भन्दै यसमा परिवर्तन आवश्यक रहेको बताए ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले डिजिटलाइजेसनमा गइरहँदा क्रिप्टोकरेन्सी र डिजिटल फ्रडका विषयहरूमा बहस गर्न आवश्यक रहेको औँल्याए ।
मंगलबार हुने डिस्कोर्स कार्यक्रममा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेसनको स्थिति र चुनौती, रेमिट्यान्सले धानेको अर्थतन्त्रको प्राण र यसको भविष्य, दिगो अनि समावेशी विकासका लागि अहम् वित्तीय साक्षरताको अपरिहार्यता र स्थितिलगायतका विषयवस्तुमा मूलभूत छलफल हुने आयोजकले जनाएको छ ।