विद्युतीय शवदाहगृह निःशुल्क गर्ने तयारी

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण
विद्युतीय शवदाहगृह निःशुल्क गर्ने तयारी

फाइल तस्बिर

पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई  निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार विद्युतीय शवदाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने निर्णय गरेको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए। 

‘कोषले कार्यविधि निर्माण गरेपछि कोष सञ्चालक परिषद्ले उक्त कार्यविधि पारित गर्नेछ। यसका लागि केही समय लाग्नेछ,’ उनले भने। पशुपतिमा रहेका दुईवटा विद्युतीय शवदाहगृहमध्ये एउटाको यन्त्र बिग्रिएको छ। हाल एउटा शवदाहगृह मात्र सञ्चालनमा रहेको सदस्यसचिव थापाले बताए।  

सोही स्थानमा थप चार विद्युतीय शवदाहगृह निर्माण गरी घाटमा आउने सबै शवलाई निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने तयारी गरिएको कोषले जनाएको छ। 

पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा रु. १५ हजार र विद्युतीय शवदाहगृहमा रु. चार हजार शुल्क तोकिएको छ। 

इच्छुक दाताका लागि स्वेच्छाले कोषको खातामा आर्थिक सहयोग गर्न चाहेमा विकल्प खुला राखिने कोषले जनाएको छ। थप विद्युतीय शवदाहगृह यन्त्र खरिदका लागि कोषले आफ्नै स्रोतबाट रु. आठ करोड छुट्याएको छ। शवदाहगृह निर्माणपछि निःशुल्क सञ्चालनका लागि कोषले रु. एक करोडको अक्षयकोष स्थापना गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। रासस 

सुझावित समाचार