जागिर (श्रम, मजदुरी)को भरमा दैनिकी गुजारा गर्नेको संख्या वैश्विक रूपमै ठूलो छ । समयअनुसार जागिरसँगसँगै जागिरको बजार पनि परिवर्तन हुँदै गएको छ । नयाँनयाँ रोजगारी सिर्जना भएका छन् भने पारम्परिक रोजगारी गुमेका छन् ।
वर्ल्ड इकोनोमिक फोरम (डब्लुइएफ)को फ्युचर अफ जब्सको पछिल्लो रिपोर्टअनुसार आगामी पाँच वर्षमा विश्वभरिबाट आठ करोड ३० लाख रोजगारी समाप्त हुनेछ । यसमा ६ करोड ९० लाख नयाँ रोजगारीसमेत सिर्जना हुनेछ । अर्थात्, आजको हिसाबमा सन् २०२७ सम्म एक करोड ४० लाख रोजगारी कम हुनेछ ।
डिजिटल कमर्स, शिक्षा र कृषिमा अवसर
आगामी पाँच वर्षमा डिजिटल कमर्स, शिक्षा र कृषि क्षेत्रमा भने रोजगारीको अवस्था तीव्र गतिमा बढ्ने डब्लुइएफको रिपोर्टमा उल्लेख छ । जहाँ शारीरिक श्रमको आवश्यकता पर्छ, त्यस्तो काम या त कृत्रिम बौद्धिकता (एआई)ले गर्नेछ या रोबोट प्रयोग गरी अटोमेसनमार्फत काम हुनेछ ।
विश्वमा कुल २३ प्रतिशत रोजगारीमा परिवर्तन हुनेछ । डब्लुइएफको रिपोर्टअनुसार पर्यावरण बचाउनका लागि गैरपारम्परिक ऊर्जामा आधारित रोजगारी बढ्नेछ भने सप्लाई चेनको स्थानीयकरण हुनेछ ।
रोजगारी गुम्नुमा प्रविधि मुख्य कारण
वर्ल्ड इकोनोमिक फोरमले विश्वका आठ सय ३० कम्पनीमा सर्भे गरेपछि यो रिपोर्ट तयार गरेको हो । रिपोर्टमा बढिरहेको प्रविधि र त्यसको प्रयोगले गर्दा रोजगारीका अवसर गुम्ने उल्लेख छ ।
आगामी पाँच वर्षमा विश्वभरिबाट आठ करोड ३० लाख रोजगारी समाप्त हुनेछ । यसमा ६ करोड ९० लाख नयाँ रोजगारीसमेत सिर्जना हुनेछ । अर्थात्, आजको हिसाबमा सन् २०२७ सम्म एक करोड ४० लाख रोजगारी कम हुनेछ ।
त्यसो त केहीले यसैलाई पूर्ण सत्य मानेका छैनन् । रोजगारीको संख्यामा कमी आउनुका अन्य थुप्रै कारण छन् । यसमा मुख्य कारण भनेको कौशलको अभाव हो । नयाँ रोजगारीका लागि नयाँ सीपको खाँचो पर्छ, जसका लागि कुनै पनि तयारी नरहेको डब्लुइएफको भनाइ छ ।
४४ प्रतिशत कर्मचारीले रोजगारीमा टिक्न सीप बढाउनुपर्ने
डब्लुइएफका अनुसार कर्मचारीलाई रोजगारीको आवश्यकताअनुसार तयार हुन समय लाग्न सक्छ । यसले बेरोजगारी र दक्ष कामदारको अभाव एकैपटक देखाउँछ । रिपोर्टमा भनिएको छ, ‘४४ प्रतिशत कर्मचारी रोजगारमा टिकिरहन आफ्नो सीप बढाउनुपर्छ ।’
डिजिटल कमर्समा २० लाख थप रोजगारी
आगामी पाँच वर्षमा डिजिटल कमर्समा करिब २० लाख थप रोजगारी सिर्जना हुनेछ । यसमा पनि सबभन्दा बढी एआई र मेसिन लनिङ विशेषज्ञको माग बढ्नेछ । सूचना सुरक्षा विशेषज्ञ र बिजनेस एनालिस्टको रोजगारी निरन्तर वृद्धि हुनेछ । तर, सन् २०२७ सम्म १० मध्ये सातजना कर्मचारीलाई विशेष खालको टे«निङको आवश्यकता पर्ने डब्लुइएफको रिपोर्टमा उल्लेख छ ।
नयाँ परिवर्तनमा भारतीय कम्पनीको प्रदर्शन राम्रो
आगामी पाँच वर्षमा भारतमा २२ प्रतिशत रोजगारीको आवश्यकता परिवर्तन हुने बताइएको छ । यद्यपि, विश्वमा भने यो परिवर्तन २३ प्रतिशत हुनेछ । कर्पोरेट भारत श्रम बजार बनिरहनुका साथै नयाँ रोजगारी पनि सिर्जना हुनेमा विश्वस्त छ । यस्तै, ६१ प्रतिशत भारतीय कम्पनीले श्रम बजारमा उत्कृष्ट प्रदर्शन गर्ने बताइएको छ ।
सुस्त आर्थिक विकास र सप्लाईको कमीले रोजगारी घट्छ
अहिले विश्वभर महँगीको मार छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारी र त्यसपछि सुरु भएको रुस–युक्रेन युद्धले महँगी दर उच्च बनेको छ, जुन तत्काल पूर्ववत् अवस्थामा फर्कने संकेत देखिँदैन । भारतमा पनि महँगी, सुस्त आर्थिक विकास र आपूर्ति शृंखलामा उत्पन्न हुने अनेक समस्याका कारण श्रम बजारमा समस्या उत्पन्न हुनेछ । त्यसपछि विशिष्ट प्रविधि र डिजिटलीकरणको बढ्दो प्रयोगले पनि रोजगारी सिर्जनामा कमी आउनेछ ।
तर, आशावादी हुने ठाउँ पनि छ । विशिष्ट प्रविधि र डिजिटलीकरणको प्रयोगले थप रोजगारी सिर्जनासमेत हुनेछ । वर्ल्ड इकोनोमिक फोरमका प्रबन्ध निर्देशक सादिया जाहिदीले सरकार र कारोबारी दुनियाँ दुवै मिलेर रोजगारीको परिवर्तनशील तथ्यलाई स्वीकार गर्दै कर्मचारीलाई नयाँ खालको शिक्षा, प्रशिक्षण र सामाजिक सहयोग संरचना दिनुपर्ने बताएकी छिन् ।
पाँच वर्षमा आठ हजार कर्मचारी निकाल्दै आइबिएम
टेक कम्पनी इन्टरनेसनल बिजनेस मेसिन्स कर्प (आइबिएम) ले पनि नयाँ कर्मचारी भर्ती रोकेर एआई जब डेभलपमेन्ट गर्ने योजना बनाएको छ । आगामी दिनमा कम्पनीमा सीधा भर्ती रोकेर एआईबाट जब रिप्लेस हुने अनुमान गरिएको छ । यसबाट विशेष गरी मानव संसाधन स्रोत र प्रशासनका कर्मचारी प्रभावित हुन सक्नेछन् ।
आइबिएमका सिइओ अरविन्द कृष्णाका अनुसार हाल कम्पनीमा नन कस्टमर फेसिङ रोलमा करिब २६ हजार कामदार छन् । आगामी पाँच वर्षमा एआई र अटोमेसनबाट ३० प्रतिशत कर्मचारी रिप्लेस हुने उनको भनाइ छ । यसो भएको खण्डमा झन्डै आठ हजार कर्मचारीले खाइपाई आएको जागिरबाट हात धुनुपर्नेछ ।