नक्कली भुटानी शरणार्थी र नेपाली नोरिएगाहरू

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाल सरकारका मन्त्री तथा उच्च तहका कर्मचारीले आर्थिक लाभ लिन मानव बेचबिखनजस्तो संगठित आपराधिक क्रियाकलापको सहारा लिनु अक्षम्य अपराध हो 

नक्कली भुटानी शरणार्थी काण्ड विश्वव्यापी समाचार बनेको छ । सत्ताधारीले आफ्ना नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने र विदेश पठाउने गरेकाले राष्ट्रको बदनाम गरेकामा नेपाली आक्रोशित देखिन्छन् । यस विषयमा अनुसन्धान सुरु गरेको र केहीलाई पक्राउ गरेकामा कतिपयले वर्तमान प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रशंसा गरिरहेका छन् । अरूले प्रधानमन्त्रीविरुद्ध पनि छानबिनको माग गरिरहेका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग बोल्ने एजेन्डा छैन । पूर्वप्रधानमन्त्री केपी ओली विश्वसनीयता गुमाउँदै छन् । रवि लामिछाने गृहमन्त्री श्रेष्ठको छायामा परेका छन् । जनता र राजनीतिबीचको विश्वास टुटेको छ । नक्कली भुटानी शरणार्थी काण्डले नेपाली राजनीतिमा भूकम्प ल्याएको छ । 

सन् १९५१ मा संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धी महासन्धिअन्तर्गत यदि कसैको शरणको दाबी, कुनै भौतिक तथ्य जानाजानी बनाइएको वा नक्कली पहिचान गरेको देखिन्छ भने त्यस्तो व्यक्ति शरणको अयोग्य हुन्छ । शरण अस्वीकार गरिएका सबैले ठगी गरेको मानिँदैन । केही आवेदक सत्य कथा सुनाउन असफल हुन सक्छन् । केही आवेदकका कथामा सानातिना विसंगति हुन सक्छन्, जुन स्पष्ट वा जानाजानी झुटजस्तो देखिँदैन, तर सत्यकथा सुनाउन असफल भएमा विश्वसनीयता घटाउँछ । 

शरणार्थीसम्बन्धी महासन्धिअन्तर्गत शरणार्थीले अन्य कुनै विकल्प नभएको खण्डमा झुटा कागजात प्रयोग गर्ने सुविधा छ । तर, नेपालका नक्कली भुटानी शरणार्थीलाई त्यस्तो सुविधा छैन । नक्कली शरणार्थी परिचय खोज्ने र उनीहरूलाई नक्कली परिचय बनाउन मद्दत गर्ने दुवै अपराधी हुन् । तिनीहरूविरुद्ध विभिन्न नेपाली कानुन प्रयोग हुन सक्छन् । मानव बेचबिखन र लागुऔषध ओसारपसारजस्ता मुद्दा छलफलका लागि सबैभन्दा सान्दर्भिक हुन सक्छ । सबैभन्दा गम्भीर भनेको सत्तामा रहेका व्यक्तिले कानुन पालना गर्ने शपथ भंग गर्नु हो । जालसाजी र ठगीका अतिरिक्त यो राज्यविरुद्धको अपराध हुन सक्छ । वर्तमान विश्वमा प्रवासन, आप्रवासन, निर्वासन र मानव तस्करी जटिल समस्याका रूपमा रहेको सर्वविदित छ । नेपाल सरकारका मन्त्री तथा कर्मचारीले गैरकानुनी रूपमा आर्थिक लाभ हासिल गर्न मानव बेचबिखनजस्तो संगठित आपराधिक क्रियाकलापको सहारा लिनु अक्षम्य अपराध हो ।

सन् २०१८ मा उत्तरी युगान्डाका शिविरमा हजारौँ नक्कली शरणार्थी फेला परेका थिए । राष्ट्र संघीय एजेन्सीका अनुसार, शरणार्थी दर्ता प्रक्रियाका कमजोरी र बस्तीमा ठगी अधिक व्यापक थियो । यसका लागि युगान्डा सरकारबाट केही मद्दत भएन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने नेपाली सत्ताधारीको भ्रष्ट कथा आजसम्म कसैले नगरेको वा नसुनेको कुकृत्य हो । 

नक्कली भुटानी शरणार्थीका सम्बन्धमा निम्न विषयमा ध्यान दिन आवश्यक छ, जसलाई सर्वप्रथम नेपाली नोरिएगाहरू भन्न सकिन्छ । यसका साथै भुटानी राज्य आतंकवाद र नेपालीभाषी भुटानीको देशनिकाला, अन्तर्राष्ट्रिय समुदायले शरणार्थी महासन्धिलाई बेवास्तामा छलफल केन्द्रित छ । जनताले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण तर्क छ– संसदीय शासन प्रणालीअन्तर्गत मन्त्रिपरिषद्को सामूहिक दायित्वका आधारमा नक्कली शरणार्थी काण्डमा आरोपित गृहमन्त्री र उपप्रधानमन्त्रीजस्तै सम्बन्धित प्रधानमन्त्री पनि उत्तिकै जिम्मेवार हुन्छन् ।

नक्कली शरणार्थी काण्ड र नेपाली 
नोरिएगाहरू : गैरकानुनी रूपमा आर्थिक लाभ गर्न मानव बेचबिखनजस्तो संगठित आपराधिक क्रियाकलापको सहारा लिनु अक्षम्य अपराध हो । नेपाल सरकारका मन्त्रीहरूले व्यक्तिगत आर्थिक स्वार्थका लागि मानव बेचबिखनको नयाँ तरिका आविष्कार गरेका छन् । यस प्रकारको मुद्दा पहिले कहिल्यै देखिएको छैन र यसले अन्तर्राष्ट्रिय कानुनको नयाँ मुद्दा खडा गरेको छ । यस सम्बन्धमा सान्दर्भिक अमेरिकी अदालतको मुद्दासँग हेर्न सकिन्छ । त्यो मुद्दा हो लागुऔषध ओसारपसारसँग सम्बन्धित संयुक्त राज्य अमेरिका वादी र म्यानुअल एन्टोनियो नोरिएगा प्रतिवादी (सन् १९९१) रहेको मुद्दा । नोरिगा पानामाका पूर्वतानाशाह, कुनै समयमा संयुक्त राज्य अमेरिकाका सहयोगी थिए । लागुऔषध तस्करीसँग उनको सम्बन्धले सन् १९८९ को अमेरिकी सैन्य कारबाहीबाट उनी पक्राउ परेका थिए । यस मुद्दामा विदेशी सरकारका पूर्वप्रमुखले अमेरिकी अदालतमा आपराधिक आरोपको सामना गरेको पहिलो ऐतिहासिक सुनुवाइ भएको थियो । सुरुमा नोरिएगालाई ४० वर्षको सजाय गरिएको थियो, पछि घटाएर ३० वर्षमा पुर्याइयो । उनी सन् २००० मा प्यारोलमा छुट्न पाउने भएका थिए । नोरिगाको २०१७ मा मृत्यु भयो । नोरिएगा लागुऔषधको तस्करी गर्थे नेपाली मन्त्रीहरू नक्कली शरणार्थी तस्करी गरिरहेका छन् । एउटा महत्वपूर्ण समानता लागुऔषधको तस्करी र नक्कली शरणार्थी तस्करी संयुक्त राज्य अमेरिकासँग सम्बन्धित छन् । कानुनको शाब्दिक व्याख्याको सट्टा ‘एनालॉगिकल’ व्याख्यामा आधारित यो तर्क गर्न सकिन्छ । कुनै पनि अदालतले निर्णय नगरेको नयाँ विषय जब उठ्छ, सबैभन्दा सान्दर्भिक मुद्दा प्रयोग गर्न सकिन्छ । नोरिएगा मुद्दा नेपालको नक्कली शरणार्थी मुद्दासँग सम्बन्धित छ । अमेरिकी अदालतमा नक्कली शरणार्थी मुद्दामा नेपाल सरकार प्रमुखविरुद्ध मुद्दा दायर गर्न सम्भव हुन सक्छ । जे भए पनि अमेरिकी सरकारले नेपाललाई दबाब दिइरहेको छ भन्ने समाचारमा केही–केही आधार छ ।

भुटानी राज्य आतंकवाद र नेपालीभाषी भुटानीको देशनिकाला : सन् १९९० दशकको प्रारम्भमा भुटानी–नेपालीको जातीय सफायाको जिम्मेवारी भुटान सरकार जिम्मेवार छ । ९० को दशकको सुरुतिर भुटान सरकारले दक्षिणी भुटानमा नेपाली मूलका आफ्ना नागरिकमाथि दमन सुरु गर्यो । नेपालीभाषी भुटानी नागरिकको गाउँबस्तीमा सुरक्षाकर्मीबाट यातना, बलात्कारसहित बर्बर राज्य आतंक मच्चाइयो । त्यहाँका नागरिकलाई जबर्जस्ती देश छोड्न बाध्य पारियो र उनीहरूलाई जातीय सफाया (एथेनिक क्लिन्जिङ) सहित देशनिकाला गर्यो । भुटान सरकारको अमानवीय, क्रूर तथा बर्बर दमनपछि निहत्था नेपालीभाषी भुटानी नागरिक देश छाड्न बाध्य भए । त्यसरी लेखेटिएका भुटानीको पहिलो गन्तव्य भारत थियो । तर, भारतले ती तिनलाई शरण दिएन । भुटानबाट त्यसरी लखेटिएकाहरूको आश्रयस्थल पूर्वीनेपालको झापा र मोरङ बन्यो । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग युएनएचसिआरले शरणार्थीलाई गाँसवासमा सघायो ।
भाषिक वा जातीय आधारमा नागरिकलाई देशनिकाला गर्ने भुटान सरकारको निर्णय मानव अधिकारको विश्वव्यापी घोषणापत्र र संयुक्त राष्ट्र संघीय शरणार्थी महासन्धिविरुद्धको कदम थियो । २०औँ शताब्दीको एक दुःखद तथा समाधानविहीन घटना थियो । तर, यस मुद्दामा भुटानलाई मानवताविरुद्धको अपराधको कठघरामा उभ्याइएन । यस परिघटनालाई पछि भुटानी शरणार्थी समस्या नाम दिइयो । समस्या समाधानका लागि नेपाल भुटानबीच दर्जनौँपटक भएका वार्ता असफल रहे । भुटानले त्यसरी निकालिएकाहरू आफ्ना नागरिकलाई नभएको रटान लगाइरह्यो । पञ्चायत सरकारले सन १९८९ मै भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई झापाबाट गिरफ्तार गरी भुटानलाई बुझाएको थियो । नेपालको कारबाही शरणार्थी महासन्धिको उल्लंघन थियो ।

अन्तर्राष्ट्रिय समुदायद्वारा शरणार्थी महासन्धिलाई बेवास्ता : शरणार्थी महासन्धिअनुसार भारत भुटानी शरणार्थी आगमनको पहिलो देश हो । शरणार्थीसम्बन्धी महासन्धिको धारा ३१ अनुसार शरणार्थीले पहिलो आगमन देशमा शरण दाबी गर्नुपर्छ । सो देशले शरण दिनुपर्छ । भारतले भुटानी नागरिकलाई ट्रकमा हालेर नेपालको काकडभिट्टामा छाडेर शरणार्थी महासन्धिको उल्लंघन गर्यो । वार्ताबाट भुटानीलाई स्वदेश फर्काउने नेपाल सरकारको प्रयास असफल रह्यो । शरणार्थी प्रमाणीकरणका नाममा नेपालले कच्चा काम गर्यो । भुटानबाट लेखिएकाहरू भुटानी नागरिक हुँदाहुँदै फेरि भुटानी कि गैरभुटानी भनेर प्रमाणित गर्नेमा सहमत हुनु नै गलत थियो । यसरी भुटानीलाई स्वदेश फर्काउन नसकेपछि तेस्रो मुलुक बसोवासको विकल्प खोजियो । सोही विकल्पअनुसार सन् २००७ मा नेपालमा रहेका एक लाख आठ हजार शरणार्थीलाई युएनएचसिआरको अगुवाइमा तेस्रो मुलुकमा बसोवासको योजना अघि सारियो । सहमतिअनुसार संयुक्त राज्य अमेरिका ६० हजार भुटानी शरणार्थीलाई आफ्नो मुलुकमा बसोवास गराउन राजी भयो । र, २००८ देखि भुटानी शरणार्थी अमेरिका बसाइँ सर्ने क्रम सुरु भयो । बाँकी शरणार्थीलाई लैजान अस्ट्रेलिया, क्यानडा, नर्वे, नेदरल्यान्डस्, डेनमार्क र न्युजिल्यान्ड सहमत भए । सन् २०१७ सम्म एक लाख आठ हजार पाँच सय १३ भुटानी शरणार्थी तेस्रो मुलुक बसाइँ सरे । तर, बाँकी ६ हजार हाराहारी शरणार्थी नेपालमै छन् । उनीहरूको तेस्रो मुलुक बसाइँ सराइ हुन सकेको छैन । न उनीहरूले स्वदेश फर्किनै पाएका छन् । 

नक्कली शरणार्थीको पछिल्लो काण्ड : यिनै छुटेका भुटानी शरणार्थीको समस्या समाधान गर्ने नाममा नेपाल सरकार, गृह मन्त्रालयले कार्यदल गठन गर्यो । कार्यदलको उद्देश्य समस्या समाधान गर्नेभन्दा पनि छुटेका भुटानीसँगै नक्कली शरणार्थी बनाएर नेपाली नागरिकलाई गैरकानुनी रूपमा पैसा असुल गरी अमेरिका पठाउनु थियो । त्यसपछि त्यस प्रकरणमा मुछिएकाहरू तत्कालीन गृहमन्त्रीहरू र गृहसचिवलगायत नक्कली भुटानीका नाममा पैसा बुझाउनेहरू पूर्पक्षका लागि थुनामा छन् । एकजना उपप्रधानमन्त्री ‘फरार’ छन् । यस प्रकरणमा थप अरू पात्र जोडिएको तथ्य अनुसन्धानले अगाडि ल्याउने सम्भावना छ । यसरी आफ्ना नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने सरकारी पदाधिकारीको भ्रष्ट चरित्रले सबैलाई चकित तुल्याएको छ । आजसम्म कसैले नगरेको वा नसुनेको यस्तो कुकृत्यका कारण सारा संसार अचम्मित छ । अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले बेइज्जतीको सामना गर्नुपरेको छ । राजनीतिक दलका नेता, तिनका कार्यकर्ता, मन्त्री र बहालवाला सचिवकै मानव बेचविखन तथा ओसारपरारजस्तो गम्भीर आपराधिक क्रियाकलापमा संलग्नता देखिनु शासनको असफलताको सबैभन्दा गम्भीर सूचक हो ।

प्रधानमन्त्रीहरू पनि जिम्मेवार हुन्छन् : मानव तस्करी जटिल समस्या हो । नेपालका गृहमन्त्री र उपप्रधानमन्त्रीहरूले नक्कली शरणार्थी बनाएर मानव बेचबिखन गरेको खुलासा भएको छ । नक्कली शरणार्थी बेचबिखनको आरोप लागेका गृहमन्त्री र उपप्रधानमन्त्रीहरू कानुनी रूपमा जवाफदेही छन् । प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नक्कली प्रतिवेदन फेला पार्यो भन्ने समाचार आएको छ । त्यसैले, आरोपित गृहमन्त्री र उपप्रधानमन्त्रीसँगै प्रधानमन्त्रीहरू पनि उत्तिकै जिम्मेवार हुन्छन् किनकि संसदीय लोकतन्त्रअन्तर्गत मन्त्रिपरिषद्को संयुक्त जिम्मेवारी हुन्छ ।

नेपालको स्वच्छ छवि बचाउन नक्कली शरणार्थी र नेपाली नोरिएगाहरूलाई कानुनको दायराभित्र ल्याउनुपर्छ । अर्थात्, आरोपित गृहमन्त्री र उपप्रधानमन्त्री मात्रै होइन, तत्कालीन समयका प्रधानमन्त्रीहरूसमेत जवाफदेही हुनुपर्छ । भ्रष्टाचार नेपालको छवि बिगार्ने माहारोग हो । नयाँ संविधान जारी भएपछि दुईपटक संसद् विघटन हुनु लोकतन्त्रमाथिको धक्का थियो । सरकारका तीनै अंगको निष्क्रियता राष्ट्रमाथिको अर्को प्रहार हो । ‘आफ्नो मान्छे’ संस्कृति, वैज्ञानिक स्वभावको कमी, भविष्यमुखी हुनुको सट्टा विगतको इतिहासमा झुटो गर्व, संस्थागत जात–जाति प्रणाली, निजामती कर्मचारीमा व्यावसायिकताको अभाव नेपालमा देखिएका केही गम्भीर समस्या हुन् । स्वतन्त्र मिडिया, इमानदार प्रहरी अनुसन्धान र स्वतन्त्र अदालतले यी व्यक्तिलाई जवाफदेही बनाउनुपर्छ । भ्रष्टाचारविरुद्ध नागरिक जागरण, राजनीति र जनताबीच विश्वासको पुनस्र्थापना तथा जनता र कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको विश्वासको पुनस्र्थापना सार्वजनिक बहसको अत्यावश्यक विषय हुन् । राष्ट्रिय जीवनमा परिवर्तन गर्न समस्यालाई सम्बोधन गर्नुपर्छ । सरकारबाट राष्ट्रिय रूपान्तरणको आशा गर्न छोड्नुपर्छ । 

(कानुनका प्रोफेसर मल्ल हाल स्विडेनको स्टकहोम विश्वविद्यालयको ‘सेन्टर फर इन्टरनेसनल ल एन्ड जस्टिस’का सिनियर फेलो हुन्)

सुझावित समाचार