भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिँदै नागरिक

शनिबार, ३० बैशाख, २०८०
डिजिटल संस्करण

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिन खबरदारीका लागि शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा ‘भ्रष्टाचारविरोधी हामी’ भन्दै प्रदर्शन गरिँदै छ । 

भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त
भ्रष्टाचारको विरोध जसले गरे पनि त्यो राम्रै हो । अझै स्वस्फुर्तमा रूपमा हुन्छ भने झन् राम्रो । भ्रष्टाचारविरुद्ध नागरिकले खबरदारी गर्न छाड्नुहुन्न ।

विरोध कार्यक्रममा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, रास्वपा सभापति रवि लामिछाने, एमाले नेता ठाकुर गैरे, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, नागरिक अगुवाहरू डा. गोविन्द केसी, केदारभक्त माथेमा, भोजराज पोखरेल, देवेन्द्रराज पाण्डेलगायतले उपस्थित हुने प्रतिबद्धता जनाएको कार्यक्रमको व्यवस्थापन गरिरहेका सञ्चारकर्मी विश्वदीप लामिछानेले बताए । ‘भ्रष्टाचार देशकै ठूलो रोग हो । यसको विरोध गर्न कुनै दलको झन्डा नबोकौँ, जसले जहाँबाट हुन्छ, विरोध गरौँ भनेर स्वस्फुर्त रूपमा कार्यक्रम तय भएको हो,’ उनले भने । कविद्वय विप्लव प्रतीक र अर्जुन पराजुलीले कविता वाचन गर्ने कार्यक्रम छ । 

विरोध कार्यक्रममा सहभागी हुन कांग्रेस महामन्त्री थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले सामाजिक सञ्जालमार्फत नागरिकलाई आह्वान गरेका छन् । ‘भ्रष्टाचारविरुद्धको अभियानमा जो जहाँ छौँ, त्यहीँबाट आवाज उठाऔँ, खबरदारी गरौँ, दबाब दिऔँ । नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ । भोलि (शनिबार)को कार्यक्रमप्रति ऐक्यबद्धता,’ थापाले आन्दोलनको पोस्टर सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन् । 

रास्वपा सभापति लामिछानेले पनि ‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो’ भन्दै सामाजिक सञ्जालमा नारायणचौरको विरोध कार्यक्रमको पोस्टर सेयर गरेका छन् । उनले थप लेखेका छन्, ‘त्यसैले म दलको नेता भएर होइन, सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदै छु । राम्रो काम जसले गरे पनि सघाउनुपर्छ । देशभर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झन्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनुहोला । भ्रष्टाचारविरुद्ध एक हौँ । नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौँ ।’ 

सामाजिक सञ्जालमा सेयर भइरहेका भ्रष्टाचारविरोधी आन्दोलनका पोस्टरमा आयोजक खुलाइएको छैन । यसलाई कुनै एक संस्था या दलको भन्दा पनि आमनागरिकको बनाउन यसो गरिएको विश्वदीप लामिछानेले बताए । ‘आयोजक भएपछि प्रायोजक हुन्छ । त्यहाँ अनेक स्वार्थका कुरा जोडिन सक्छन् । कम्तीमा भ्रष्टाचारको विरुद्ध त यस्तो नगरौँ, सबै निस्वार्थ एक ठाउँमा उभियौँ भनेर यस्तो गरिएको हो । देशभर नै यस्तो आह्वान गरिरहेका छौँ,’ उनले भने । 

विश्वदीपका अनुसार नारायणचौरमा हुने आन्दोलनमा नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीले खुट्टा नकमाऊन् भनेर फूलसहित प्रोत्साहन गर्ने कार्यक्रम छ । ‘प्रहरी मुख्यालयको पश्चिम गेटमा एउटा टेबुल राखिएको हुनेछ । हामीले त्यही टेबुलमा नेपाल प्रहरीले मुटु दह्रो बनाई यस प्रकरणका दोषीलाई कठघरामा ल्याउन सकोस् भन्ने शुभकामना दिन फूल लगेर राख्ने कार्यक्रम छ,’ उनले भने ।

शनिबार बिहान ११ बजे माइतीघर मण्डलामा पनि स्वस्फुर्त भ्रष्टाचारविरोधी कार्यक्रम तय छ । ‘भ्रष्ट, नालायकविरुद्ध सबै एकजुट हुने दिन आयो , पार्टी, संस्था, वादलाई आफैँसित राखेर राष्ट्रका लागि उत्रिने वेला आयो,’ नारासहित विरोधमा सहभागी हुन नागरिकलाई आह्वान गरिएको छ । त्यस्तै, ‘भ्रष्टाचारविरुद्ध एक हौँ’ भन्दै कुनै पनि दलको झन्डा नबोकीकन शनिबार सिन्धुली, पोखरालगायत सहरमा पनि विरोधका कार्यक्रम तय भएका छन् । 

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भ्रष्टाचारविरोधी आन्दोलन जसले आयोजना गरे पनि सहभागी हुने बताए । ‘भ्रष्टाचारको विरोध जसले गरे पनि त्यो राम्रै हो । अझै स्वस्फुर्तमा रूपमा हुन्छ भने झन् राम्रो । भ्रष्टाचारविरुद्ध नागरिकले खबरदारी गर्न छाड्नुहुन्न,’ उनले भने ।
 

सुझावित समाचार