नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत विन्दुले घटाएको छ।
राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत् राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत विन्दुले घटाएर ७.५ प्रतिशत कायम गरेको हो। ब्याजदर करिडोरअन्तर्गतका अन्य दरलाई भने यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केही मौद्रिक व्यवस्था खुकुलो बनाइएको राष्ट्र बैंकले जनाएको छ। ‘मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ,’ राष्ट्र बैंकले भनेको छ।
राष्ट्र बैंकले साढे आठ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षादेखि नीतिगत दर सात प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेकाले अहिले अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत विन्दुले कमी आएको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थामा निरन्तरता दिइएको छ।
बैंक तथा वित्तीय संस्थाबाट जारी भएका ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) गणना गर्ने प्रयोजनका लागि स्रोत (निक्षेप)को रूपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई ०८० पुस मसान्तसम्मका लागि निरन्तरता दिइएको छ।
मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी केही नयाँ व्यवस्था गरेको छ। पछिल्लो ६ महिनाको अवधिमा वृद्धिदर नकारात्मक देखिएका क्षेत्रका लागि यस्तो पुनर्कर्जा उपलब्ध गराइनेछ।
‘राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गर्ने तथ्यांकको आधारमा पछिल्ला दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रसँग सम्बद्ध ऋणीले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ।
त्यस्तै, होटेल तथा रेष्टुराँ, पशुपन्छी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र रु. पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई ०८० असार मसान्तभित्र पुनर्संरचना–पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था ल्याइएको छ। रासस