बंगलादेशको राजधानी ढाकानजिकै ठूलो संख्यामा कपडा कारखाना रहेको आठतले व्यावसायिक भवन राना प्लाजा २४ अप्रिल २०१३ मा भत्केको एक दशक भइसकेको छ । राना प्लाजा भत्किँदा एक हजार एक सय ३४ जनाले ज्यान गुमाए, दुई हजारभन्दा बढी गम्भीर घाइते भए ।
ज्यान गुमाउने र घाइते हुनेमा आधिकांश महिला थिए । यो त्रासदी तीन हजारभन्दा बढी मानिसको ज्यान लिने सन् १९८४ को भोपाल ग्यास त्रासदीपछिकै सबैभन्दा ठूलो औद्योगिक प्रकोप र आधुनिक कपडा उद्योग इतिहासकै सबैभन्दा खतरनाक दुर्घटना हो । कैयौँ दिनसम्म भवनको भग्नावशेषमा दबिएका हजारौँ मजदुरले भोक र प्यासले ज्यान गुमाएका थिए भने केहीले आफ्नै पिसाबसमेत सेवन गर्नुपरेको थियो ।
पहिल्यै यो दुर्घटना हुन सक्ने अनुमान थियो र यसलाई रोक्न सकिने अवस्था पनि थियो । यो भवन पोखरी पुरेर तयार पारिएको जमिनमाथि गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी ठड्याइएको थियो । स्वभावतः भवनले भारी मेसिन र उपकरण थेग्न सक्दैनथ्यो । त्यसमाथि भवनका चार तला अवैधानिक रूपमा थपिएका थिए, जसले भवनको संरचनालाई थप जर्जर बनाएको थियो । भत्किनुभन्दा केही दिनअघि भवनमा दरार आएको थियो र केही तला खाली पनि भएका थिए । तर, भवनका मालिक सोहेल रानाले भवनमा दैनिक कामकाज नियमित चलिरहनुपर्ने अड्डी कसेका थिए । आपूर्ति लक्ष्य पूरा गर्ने दबाबका कारण रानाले काममा नआउने मजदुरको ज्याला (मासिक करिब पाँच हजार) रोक्का गर्ने धम्की दिए । रानाको धम्कीसामु निरीह भएका मजदुर मृत्युजालमा परे ।
राना प्लाजाजस्ता त्रासदी विकासोन्मुख मुलुकका भ्रष्ट सरकार र अनियन्त्रित व्यापारका कारण भएको हो भन्दै सजिलै खारेज गरिन्छ । वास्तवमा विकसित पश्चिमा मुलुक पनि उत्तिकै दोषी छन् । भग्नावशेषमा विश्वका ठूला विक्रेता र फेसन ब्रान्ड अंकित कपडा देख्न सकिन्थ्यो । सो भवनका कारखानामा बेनेटन, मोनसुन, म्यांगो, वालमार्ट, प्रिमार्कलगायत २९ ठूला विक्रेताका स्रोत गोदाम थिए । विकासोन्मुख मुलुकले बहुराष्ट्रिय निगमबाट हुने विदेशी लगानीको प्रतिस्पर्धा गरिरहेका अवस्थामा अन्तर्राष्ट्रिय व्यापार संयन्त्रले यी मुलुकमा चरम शोषण गरेर उत्पादन बढाउने होडबाजीका कारण राना प्लाजाजस्ता कारखाना अस्तित्वमा आएका हुन् । बंगलादेशमा नियमनको कमीले न्यून पारिश्रमिकलाई प्रोत्साहन गरेको छ र त्यहाँको दोहनकारी कार्यस्थलको अवस्थालाई आधुनिक दासतासँग तुलना गर्न मिल्छ ।
पुँजीवादको गणितले राष्ट्रिय आर्थिक वृद्धिलाई प्राथमिकतामा राख्छ, जहाँ मुलुकभित्र र बाहिर मुनाफाको समतामूलक वितरण गौण बन्छ
विश्व आपूर्ति शृंखलामा ४५ करोडभन्दा बढी मानिसले रोजगारी पाएका छन् र यो शृंखलाले एकैपटक शोषण पनि गर्छ र यसलाई लुकाउँछ पनि । विकासोन्मुख मुलुकका मजदुरमाझ रोजगारी सारेर (आउट सोर्सिङ) बहुराष्ट्रिय निगम अन्तर्राष्ट्रिय श्रम मानकलाई छल्छन् र यी मजदुरलाई उपलब्ध गराउनुपर्ने अधिकार एवं लाभ दिँदैनन् । यो बदमासी विकासोन्मुख मुलुकमा मात्रै सीमित छैन । अमेरिकाका कपडा उद्योगमा पनि चरम शोषण देख्न सकिन्छ, लस एन्जलसका मजदुरले एक घन्टामा १.५८ डलर मात्रै ज्याला पाउँछन् । एमेजोनजस्ता प्रविधि कम्पनीमा समेत मजदुरले विषम परिस्थितिमा काम गर्छन् र ज्यालाका मामिलामा अत्यधिक शोषणमा पर्छन् ।
पोप फ्रान्सिस समेतबाट राना प्लाजा त्रासदीमा व्यापक निन्दा नभएको होइन, तर १० वर्ष हुँदा पनि भवन भत्किनु र त्यसले निम्त्याएको मानवीय क्षतिको कारणलाई सम्बोधन गर्न खासै कुनै पहलकदमी लिइएको छैन । उदाहरणका लागि सन् २०१३मा हस्ताक्षर गरिएको कानुनी रूपमा बाध्यकारी एकर्ड अन फायर एन्ड बिल्डिङ सेफ्टी सम्झौताको सन् २०१८मा नवीकरण हुँदा लेभी स्ट्रस, ग्याप, वालमार्ट र एमेजोनजस्ता ठूला कम्पनीले नवीकरणलाई स्विकारेनन् । बरु यी कम्पनीले सन् २०१८ को अन्त्यताका बाध्यकारी नहुने एलायन्स फर बंगलादेश वर्कर सेफ्टीको विकल्पलाई अँगालेका थिए । तर, अन्तर्राष्ट्रिय श्रम संगठन, अन्य दाता, गैरसरकारी संस्था, बंगलादेशी सरकार, ट्रेड युनियन र कपडाका ब्रान्डले स्थापना गरेको राना प्लाजा एरेन्जमेन्टले बाँच्न सफल भएका र पीडित परिवारलाई सहयोग गरेर घाउमा मलम लगाएका थिए ।
राना प्लाजाको घटना कुनै पृथक् होइन, बरु यो एक वैश्विक पुँजीवादमा हुने दुव्र्यवहार एवं शोषणको सूक्ष्म रूप हो । दक्षिणी गोलार्धका मुलुकले उपनिवेशको धङधङीबाट पार पाएर शताब्दीयौँको विकास केही दशकमै पूरा गर्ने अपेक्षा गरिएको छ । केही मुलुक यो अपेक्षामा खरो उत्रिइरहेका छन् ।
सन् १९७१ मा स्वतन्त्रता हासिल गरेपछि बंगलादेशले अत्यधिक आर्थिक वृद्धि गरेको छ र यसमा विश्वकै दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ताको हैसियतले काम गरेको छ । तर, पुँजीवादको गणितले राष्ट्रिय आर्थिक वृद्धिलाई प्राथमिकतामा राख्छ, जहाँ मुलुकभित्र र बाहिर मुनाफाको समतामूलक वितरण गौण बन्छ । रोजगारदाता/मालिकले ज्यालामा दोहन गरिरहँदा बजारले मजदुरलाई उपयुक्त क्षतिपूर्ति दिन सकेको छैन । सम्पत्ति र स्रोतको न्यायपूर्ण वितरणका लागि एडम स्मिथको अदृश्य हातमा नियन्त्रण गर्दै नियमन एवं पुनर्वितरणका नीति लागू गर्नुपर्छ ।
विकासोन्मुख र विकसित मुलुकबीचको शक्ति असन्तुलनले वैश्विक पुँजीवादको जग पोखरीमाथि ठड्याइएको कारखानाजत्तिकै कमजोर छ भन्ने देखाउँछ । राना प्लाजा भत्किनुअघि चिरा परेझैँ मौजुदा असमानता र बढ्दो जलवायु परिवर्तनले यो पुँजीवादी व्यवस्थामा दरार ल्याइरहेको छ । तर, लिओनार्ड कोहेनले भनेझैँ ‘हरेक ठाउँमा चिरा परेका छन् र तिनै चिराबाट प्रकाश भित्र पस्ने’ गर्छ । हामी विवेकी छौँ भने दरारलाई बेवास्ता गर्नेछैनौँ र प्रकाशलाई देख्नेछौँ ।
(हल्दार क्याम्ब्रिज विश्वविद्यालयकी सहप्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट