डुंगा डुब्दा २२ को मृत्यु

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण

भारतमा एउटा पर्यटक डुंगा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुंगा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन ।

डुबेको डुंगाको खोजी सोमबारसम्म जारी राखिएको थियो । एक प्रहरी अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार अहिलेसम्म १५ महिला र सात पुरुष गरी २२ जनाको शव निकालिएको छ । ६ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । उद्धार कार्य जारी छ । स्थानीय प्रकाशन ओन्मानोरमाका अनुसार दुर्घटनामा तीन बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ । 

पति र छोरीसँगै डुंगामा रहेकी रजिसाले डुंगामा सवार अधिकांश यात्रु बालबालिका रहेको र यात्राका क्रममा डुंगाबाट धुवाँ निस्केको बताइन । डुंगामा ठोक्किएर घाँटीमा चोट लागेकी रजिसाले भनिन्, ‘हामी लाइफ ज्याकेट लगाएका कारण मात्र बाँच्न सफल भयौँ ।’ उनले आफू र आफ्नो परिवारका लागि तीनवटा लाइफ ज्याकेट ल्याइएको र डुंगाको माथिल्लो डेकमा रहेका बालबालिकालाई चारवटा ज्याकेट दिइएको बताइन् । 

एनडिटिभीका अनुसार राष्ट्रिय विपत् प्रतिकार्य बल र भारतीय तटरक्षक बलका कर्मचारीसहित उद्धार टोलीले पानीमुनिको क्यामेरा प्रयोग गरेर हराइरहेकाहरूको खोजी गरिरहेका छन् ।  कांग्रेस पार्टीका नेता भिडी सतिसनले दुर्घटना हेलचेक्य्राइँका कारण भएको भन्दै यसको छानबिनको माग गरेका छन् । केरलाका खेलकुद तथा मत्स्यपालनमन्त्री भी अब्दुरहिमानले मृत्यु हुनेमा अधिकांश विद्यालय बिदामा रहेका बालबालिका रहेको बताएका छन् । 

See More On

सुझावित समाचार