आफैँले बनाएको कानुन मिचेर दलहरूले संसदीय समितिमा पठाए स्वार्थ बाझिने सांसद

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण

संसदमा प्रतिनिधित्व गर्ने दलहरूले दुई महिना लगाएर बनाएको प्रतिनिधिसभा नियमावलीमा ‘समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगरिने’ व्यवस्था गरिएको छ । तर, आफैँले बनाएको कानुन मिचेर दलहरूले संसदीय समितिमा स्वार्थ बाझिने गरी सांसदलाई पठाएका छन् । 

दफा १७५ (२) मा स्वार्थ बाझिने समितिमा सदस्य हुन नपाउने व्यवस्था गरिए पनि स्वार्थको परिभाषा भने उल्लेख छैन । स्वार्थ बाझिने विषयवस्तु प्रचलित कानुनबमोजिम हुने भनिए पनि स्वार्थसम्बन्धी छुट्टै कानुन छैन । संसद् सचिवालय कानुन महाशाखा प्रमुख सहसचिव लक्ष्मी शर्मा गौतमका अनुसार स्वार्थसम्बन्धी छुट्टै ऐन छैन ।

यद्यपि, नियमावली बनाउँदा स्वार्थ बाझिने सांसदलाई समितिमा नपठाउनेमा एकमत भएका दलहरूले व्यवहारमा भने स्वार्थ बाझिने गरी समितिमा सांसदलाई सदस्य बनाएर पठाएका हुन् । प्रतिनिधिसभाले गत शुक्रबार १० वटा विषयगत समिति गठन गर्दै सदस्य मनोनयन गरेको थियो । जसमध्ये स्वार्थ बाझिने गरी आफ्नो पेसा व्यवसायसँग सम्बन्धित कार्यक्षेत्र भएको समितिमा केही सांसदहरू सदस्य मनोनीत भएका छन् । 

अर्थ समितिमा अस्पताल र होटेल व्यवसायी रहेकी एमालेकी जुलीकुमारी महतो महासेठ, जलविद्युत् व्यवसायमा संलग्न कांग्रेसका दीपक खड्का, कांग्रेसकै निर्माण व्यवसायी पूर्णबहादुर तामाङ, फरवार्ड लघुवित्तकी पूर्वअध्यक्ष तथा हाल लगानीकर्ता एमालेकी भगवती चौधरी मनोनीत भएका छन् । 

अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड, राष्ट्रिय योजना आयोग र सम्बद्ध विषय तथा निकायको काम–कारबाहीको निगरानी गर्ने कार्यक्षेत्र भएको समितिमा कांग्रेसले खर्बपति व्यापारी विनोद चौधरीलाई पठाएको छ । उनको खाद्यान्न, पेय, अटो मोबाइल्स, दूरसञ्चार सेवाप्रदायक, होटेललगायत थुप्रै व्यवसायमा लगानी छ । बैंक तथा वित्तीय संस्थामा संलग्न जसपाका वीरेन्द्रप्रसाद महतो पनि सदस्य मनोनीत भएका छन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सदस्य मनोनीत भएका कांग्रेसका उदयशमशेर जबरा ह्यान्डी क्राफ्ट व्यवसायमा संलग्न छन् । उनको यो व्यवसाय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा फैलिएको छ । 

परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बद्ध विषय तथा निकाय कार्यक्षेत्र भएको यो समितिका अर्का सदस्य एमालेका एकनाथ ढकाल अन्तर्राष्ट्रिय क्रिस्चियन मिसनरीका नेपाल प्रमुख हुन्, उनी विभिन्न एनजिओ र आइएनजिओमा पनि संलग्न छन् । एमालेकै देवीप्रकाश भट्टचन प्रभु ग्रुपका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी हुन् । राप्रपाका धवलशमशेर जबराको होटेल, रिसोर्टलगायत पर्यटन व्यवसायमा लगानी छ । कांग्रेसका मोहन आचार्य निर्माण व्यवसायमा संलग्न छन्, उनले पर्यटन क्षेत्रमा लगानी गरेका छन् । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सदस्य मनोनीत एकीकृत समाजवादीका किसान श्रेष्ठ ग्यास व्यवसायी हुन्, यसका अलावा होटेल र हार्डवेयर व्यवसायमा पनि लगानी छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उपभोक्ता हित सम्बन्ध र सम्बद्ध विषय तथा निकाय हेर्ने यो समितिका अर्का सदस्य कांग्रेसका मोहनबहादुर बस्नेत बैंक तथा वित्तीय संस्थाको व्यवसायमा संलग्न छन्, क्रसर व्यवसाय पनि छ । यही समितिमा रहेका रास्वपाका गणेश पराजुली ठमेलमा क्याफे, कपडालगायत पर्यटन व्यवसायसँग जोडिएका छन् । रास्वपाकै डोलप्रसाद अर्यालको मेनपावर, कन्सल्टेन्सी, होटेललगायत थुप्रै व्यवसाय छ । एमालेका लालप्रसाद सावाँ लिम्बूको पनि मेनपावर व्यवसाय छ । यद्यपि उनले आफूले आबद्धता छोडिसकेको जिकिर गर्दै आएका छन् । कांग्रेसका दुर्लभ थापा क्षेत्री होटेल व्यवसायी हुन् । एमालेका रघुवीर महासेठको स्वास्थ्य र पर्यटन उद्योगमा लगानी छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र सम्बद्ध विषय तथा निकाय क्षेत्राधिकार भएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सदस्य मनोनीत स्वतन्त्र सांसद योगेन्द्र मण्डल लद्युवित्तका सञ्चालक हुन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय र सम्बद्ध विषय तथा निकाय कार्यक्षेत्र भएको पूर्वाधार विकास समितिमा सदस्य मनोनीत भएका एकीकृत समाजवादीका धनबहादुर बुढा निर्माण व्यवसायी हुन् । एमालेका प्रेमबहादुर महर्जन पनि निर्माण व्यवसायसँग जोडिएका छन् । 

सार्वजनिक लेखा, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकाय हेर्ने यो समिति सदस्य रहेका एमालेका तारा लामा तामाङ सहकारीकर्मी हुन् । त्यस्तै, कांग्रेसका तेजुलाल चौधरी विद्यालय सञ्चालक हुन् । एकीकृत समाजवादीका प्रेम आलेको घरजग्गा व्यवसायमा लगानी छ । राप्रपाका विक्रम पाण्डे निर्माण व्यवसायी हुन् । सिक्टा सिँचाइ आयोजनामा उनले भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट सफाइ पाएर सर्वाेच्च अदालतमा पुनरावेदन अवस्थामा विचाराधीन छ । रास्वपाका हरि ढकाल सेयर लगानीकर्ता हुन् । 

संसदीय मामिलामा स्वार्थको द्वन्द्वको विषयका अनुसन्धानकर्ता किरण चापागाईंले प्रतिनिधिसभाको अहिलेको नियमावलीबाट स्वार्थको द्वन्द्वको व्यवस्थापन हुन नसक्ने बताए । ‘पहिलो त नियमावलीमा स्वार्थको द्वन्द्वको परिभाषा छैन । स्वार्थको द्वन्द्वमा बहुआयामिक विषयवस्तु जोडिएको हुन्छ, त्यो नियमावलीमा समेटिएको छैन,’ उनले भने, ‘प्रत्यक्ष र सम्भावित स्वार्थको द्वन्द्वका विषयहरू प्रायोजित भ्रमण, गोप्य सूचना, स्वार्थ घोषणाबारे केही छैन, सांसदको सम्पत्ति सार्वजनिक गरिँदैन । सांसदका बाह्य गतिविधि नियन्त्रण भएको छैन । यो नगरीकन स्वार्थको द्वन्द्वको व्यवस्थापन हुन सक्दैन ।’ 

कतिपय सांसद भइसकेपछि पनि व्यवसायबाट अलग नभएकाले स्वार्थको द्वन्द्व व्यवस्थापन नहुने उनको भनाइ छ । ‘हाम्रोमा स्वार्थ घोषणा गर्ने औपचारिक प्रचलन छैन । सांसदले बुझएको सम्पत्ति विवरण सार्वजनिक नहुँदा स्वार्थ कहाँ छ भन्ने थाहा हुँदैन । त्यसैले अहिलेको व्यवस्था विगतको भन्दा खासै केही फरक छैन, स्वार्थको द्वन्द्व व्यवस्थापन हुन सक्दैन । र यो संसद्ले दिने कानुनहरू स्वार्थको द्वन्द्वबाट प्रभावित प्रबल सम्भावना छ,’ उनले भने ।

सुझावित समाचार