‘वायम ब्यान्ड’को दशक यात्रा

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाली सांगीतिक क्षेत्रका दुई साथीहरू सुवास पौडेल र सुशान्त विष्टले एक दशकअघि स्थापना गरेका थिए– ‘वायम ब्यान्ड।’ सन् २०१३ मा स्थापित वायम एउटा ‘आर्ट फ्युजन’ ब्यान्ड हो। यसलाई शिखरमा पुर्याउन उनीहरू फेरि सक्रिय बनेका छन्।

यसै क्रममा अघिल्लो हप्ता गायक सुशान्तको पहिलो गीति एल्बम ‘लुकेका कथा’का गीतहरू ब्यान्डमार्फत लाइभ प्रस्तुति गरिएको थियो। वायम ब्यान्डको पहिलो एल्बम ‘सुन्नेलाई सुनको माला’ हो, जसले गीत संगीतका पारखीको राम्रै ध्यान खिच्न सफल पनि भयो। यस डेब्यु एल्बममा सुवासले वाद्यबादक, संगीतकार र निर्माताको भूमिका निभाएका छन् भने विष्टले गायक, गीतकार र संगीतकारको। 

‘वायम एउटा आर्ट फ्युजन ब्यान्ड हो,’ सुवासले भने, ‘वायम ब्यान्डका गीतहरू जति गहिराइमा पुगेर सुनिन्छ, त्यति नै गीतको गहिरो भाव महसुस गर्न सकिन्छ।’ उनी चर्चित बहुराष्ट्रिय र स्वदेशी ब्रान्डका डिजिटल विज्ञापनमा म्युजिक र साउन्ड डिजाइनको काम गर्छन्। एसियन पेन्ट्स, कोकाकोला, झन्डुबाम, स्प्राइट, पठाओ, होङ्सी सिमेन्टलगायत चर्चित बहुराष्ट्रिय कम्पनीका विज्ञापनमा उनले काम गरिसकेका छन्।

वायम ब्यान्डको सिर्जनामा संगीतका विभिन्न तहहरू हुन्छन्। ‘जसरी एउटा चित्रकारले आफ्नो सिर्जनामा विभिन्न रङहरू भरेर सुन्दर आर्ट तयार पार्छ, त्यसरी नै वायमका सिर्जनामा पनि सांगीतका विभिन्न तहहरू हुन्छन्,’ सुशान्तले भने, ‘एउटा चित्रलाई जति गहिरिएर हेर्यो, त्यति नै गहिरोपन महसुस हुँदै जान्छ, वायम ब्यान्डको गीतसंगीत मनैदेखि सुन्नेहरूले पनि फरकपन महसुस गर्छन्।’ सुन्नेलाई सुनको माला एल्बममा ६ वटा गीत समावेश छन् ।

बहुराष्ट्रिय ब्रान्डका विज्ञापनमा काम
सुवासले म्युजिक क्षेत्रमा काम गर्न थालेको पनि दशक नाघिसकेको छ। उनी भन्छन्– ‘यही क्षेत्रमै केही गर्ने हो, म्युजिक मेरो लागि कुनै प्रतिस्पर्धा होइन, दौडिने पनि रहर छैन, मेरो रुचिको क्षेत्रबाट सन्तुष्टि लिन पाइयोस्, त्यति नै हो।’

उनले धेरै बहुराष्ट्रिय कम्पनीका विज्ञापनहरूका लागि म्युजिक एन्ड साउन्ड डिजाइनको काम गरिसकेका छन्। एसियन पेन्ट्स, कोकाकोला, झन्डुबाम, स्प्राइट, पठाओ, होङ्सी सिमेन्टलगायत ब्रान्डका विज्ञापनमा काम गरिसकेको बताउँछन्। यस्तै, वर्ल्डलिंक, भायाेनेट, खुकुरी रम, फोन पे, माई पे, अर्ना बियर, बाबा आयल, होङ्सी सिमेन्ट, नबिल बैंक, एनएमबि बैंकलगायत स्वदेशी कम्पनीका विज्ञापनका लागि काम गरिसकेको उनको भनाइ छ।

कुराकानीको बिट मार्दै उनले भने, ‘अहिले मैले आफ्नै होम स्टुडियोमा साथीहरूका लागि म्युजिक प्रोडक्सन र मुभी स्कोरिङको काम पनि गरिरहेको छु।’

सुझावित समाचार