अव्यवस्थित तार व्यवस्थापन आजबाट

पहिलो चरणमा माइतीघरदेखि एयरपोर्ट र न्युरोड क्षेत्रको हटाइने

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

आजबाट काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन सुरु हुने भएको छ । महानगर प्रहरी बलका प्रमुखको कार्यकक्षमा साझेदारबीच आइतबार भएको छलफलबाट सोमबारबाट तार व्यवस्थापन थालिने सहमति भएको हो ।

 सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षमा छलफल गर्दै बैठकले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेका अनुसार सोमबार बिहान माइतीघर मण्डला र न्युरोड गेटबाट व्यवस्थापनको काम थालिनेछ । यसमा नेपाल विद्युत् प्राधिकरण, दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवाप्रदायक संस्थाका प्रतिनिधि रहनेछन् । 

ती क्षेत्रमा सेवाप्रदायकले आ–आफ्नो तारमा संकेत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवाप्रदायक आफैँ जिम्मेवार हुनुपर्ने बैठकले गरेको अर्को महत्वपूर्ण निर्णय हो । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणका इन्जिनियरहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल, द इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइएसपिएएन)का कोषाध्यक्ष पुष्कर कडाल, प्रमुख प्रशासकीय अधिकृत सुवेश खड्कासहित महानगरका अधिकारीहरू सहभागी थिए । 

बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न (ट््याग) लगाउन १५ दिनको समय दिएर काठमाडौं महानगरपालिकाले ११ वैशाखमा सार्वजनिक सूचना जारी गरेको थियो । 

सुझावित समाचार