आयोगका सदस्य डा. बुढाथोकीले लिए शपथ

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष बुढाथोकीले शपथ लिएका हुन्। 

बुढाथोकी दोस्रोपटक आयोगको सदस्य नियुक्त भएका हुन्। यसअघि डा. श्रेष्ठ उपाध्यक्ष रहेकै वेला बुढाथोकी आयोगको सदस्य थिए। सरकारले गत ८ वैशाखमा नै बुढाथोकीलाई सदस्य नियुक्त गरे पनि शपथ भने बाँकी थियो। 

बुढाथोकीले आइतबारै शपथसँगै पदभार ग्रहणसमेत गरेका छन्। आयोगको कामकारबाहीलाई सशक्त रूपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताएका छन्। 

आयोगको सदस्यका रूपमा यसअघि नै डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, प्रा.डा. आरपी बिच्छा र डा. रमेशचन्द्र पौडेलले जिम्मेवारी सम्हालिसकेका छन् । 

को हुन् बुढाथोकी ? 

बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लामो अनुभव भएका व्यक्ति हुन् । रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक स्राेत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको रिसोर्स गभर्नेसमा विद्यावारिधि गरेका छन्। 

त्रिभुवन विश्वविद्यालयबाट तथ्यांकशास्त्रमा स्नातक गरेका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गरेका छन्। 

नेपालबाहेक बुढाथोकीसँग इरान, बेलायत, बंगलादेशजस्ता मुलुकमा काम गरेको अनुभवसमेत छ। 

राष्ट्रिय योजना आयोगको सदस्य भइसकेका बुढाथोकीसँग त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको अनुभव साथै युएनडिपी, युएसआइडी, युनेस्कोजस्ता संस्थाहरूमा काम गरेको अनुभवसमेत छ। 
 

सुझावित समाचार