सुपरदोर्दी ‘ख’को ५४ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थपियो

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण

लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको ५४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ।

पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरेको सुपरदोर्दी (ख) जलविद्युत् आयोजनाको विद्युत् शनिबार राष्ट्रिय ग्रिडमा थपिएको हो। आयोजनाको निर्माण पूरा गरी परीक्षण सफल भएपछि ग्रिडमा जोडेर परीक्षण उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ।

आयोजनाबाट उत्पादन भएको विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिएको आयोजनाका निर्देशक अर्जुन गौतमले बताए। उनका अनुसार यसअघि नै विद्युत् उत्पादन गर्ने तालिका भए पनि भूकम्प, नाकाबन्दी, बाढी तथा कोभिड– १९ महामारीका कारणले निर्माण प्रभावित भएको थियो। 

०७४ सालमा सुरु भएको आयोजनाको निर्माण कार्य ०७८ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। कुल आठ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी लागत अनुमान गरिएको थियो । तर, आयोजना अवधि लम्बिएसँगै लागत पनि बढेको छ।

आयोजना निर्माणमा सानिमा बैंकको अगुवाइमा विभिन्न सातवटा बैंकले पाँच अर्ब ८० करोड लगानी गरेका छन् । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए)सम्झौता भएको छ । ०७१ सालमा नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच पिपिए सम्झौता भएको थियो।

आयोजनाबाट वार्षिक ३१४.९८३ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ। आयोजनाको ०७२ सालमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको हो। आयोजनाको ०७३ असारबाट निर्माण कार्य सुरु भएको थियो। आयोजनाको उत्पादन क्षमता निर्माण थाल्दा ४९.६ मेगावाट भनिए पनि हाल त्यो बढेर ५४ मेगावाट पुगेको छ ।

सुझावित समाचार