मलेसियाको सुरक्षा क्षेत्रमा करिब ६० हजार नेपाली कार्यरत रहेको गैरआवासीय नेपाली संघको अनुमान
मलेसियाले विश्वका १५ भन्दा बढी मुलुकबाट आप्रवासी कामदार भित्र्याउने गरेको भए पनि सुरक्षा गार्डमा भने नेपालीलाई मात्रै भर्ना गर्दै आएको छ । नेपालीप्रति विश्वास र सम्मान देखाउँदै मलेसियन सरकारले सुरक्षा गार्डमा नेपाली कामदारलाई मात्रै नियुक्ति गर्दै आएको हो । मलेसियाको उद्योग, निर्माण, प्रशासन, व्यापारिक भवन, हाउजिङ, विमानस्थललगायत सरकारी निकायमा समेत नेपाली सेक्युरिटी गार्ड भेटिन्छन् । एकाध मलेसियन नागरिकबाहेक अन्य मुलुकका कामदार मलेसियाले सुरक्षा गार्डमा राख्ने गरेको छैन । करिब ६० हजार नेपाली कामदार सुरक्षा क्षेत्रमा रहेको गैरआवासीय नेपाली संघ मलेसियाको अनुमान छ । कोभिडपछि मलेसिया जाने नेपाली कामदारको संख्या ह्वात्तै बढेका कारण अहिले संख्या योभन्दा बढी रहेकोे संघको भनाइ छ ।
दक्ष कामदार आपूर्तिमा चुक्दै नेपाल
मलेसियाले माग गरे पनि सुरक्षा क्षेत्रमा नेपाली कामदार उपलब्ध गराउन नसकिएको मलेसियामा सेक्युरिटी सप्लाई कम्पनी सञ्चालन गर्दै आएका नेपाली व्यवसायीहरूको गुनासो छ ।
मलेसियन सरकारले सेक्युरिटी गार्ड सप्लाईको जिम्मा सेक्युरिटी सर्भिस एसोसिएसन अफ मलेसिया (पिपिकेकेएम)लाई दिएको छ । एसोसिएसनले आठ सयभन्दा बढी कम्पनीलाई सप्लाईका लागि अनुमति दिएको छ । सप्लाई कम्पनीले सेक्युरिटी गार्ड डिमान्ड स्वीकृति गराउँदा मलेसियास्थित नेपाली दूतावाससँग सेक्युरिटी गार्डको मासिक पारिश्रमिक दुई हजार ६ सय ५० (करिब ७७ हजार रुपैयाँ) रिंगेट तोक्छ । मलेसियन सरकारले कामदारको न्यूनतम पारिश्रमिक एक हजार पाँच सय (४३ हजार पाँच सय रुपैयाँ) रिंगेट तोकेको छ । सेक्युरिटी गार्डको हकमा पनि न्यूनतम एक हजार पाँच सय र ओभर टाइमसहित दुई हजार ६ सय ५० तोकेको छ । तर, मलेसियन सरकारले सेक्युरिटी गार्डका लागि तोकेको योग्यताअनुसारका कामदार नपाउने भएपछि तोकिएबमोजिमको पारिश्रमिक दिन नसकिएको एक सप्लाई कम्पनी सञ्चालकले बताए । मलेसियाको मापदण्डअनुसार सेक्युरिटी गार्ड हुन पूर्वआर्मी हुनुपर्नेछ । त्यस्तै, अंग्रेजी भाषा जानेको, स्थानीय आधारभूत भाषा जानेको, ५.४ इन्च उचाइ हुनुपर्नेलगायत मापदण्ड छ ।
तर, नेपालमा यस्तो योग्यता भएको सेक्युरिटी गार्ड पाउन मुस्किल हुने टप गार्ड सेक्युरिटी एन्ड कन्सल्टेन्सीका सञ्चालक बालध्वज लिम्बू बताउँछन् । उनका अनुसार मलेसियन सरकारले तोकेअनुसारको सेक्युरिटी गार्ड नभेटिएपछि तोकेबमोजिमको पारिश्रमिक पनि दिन सकिएको छैन । ‘सेक्युरिटी गार्ड भर्ना गर्दा नै कामदारलाई जानकारी गराउँछौँ, उनीहरू राजी भएको अवस्थामा मात्रै कामदार नियुक्त गर्छौँ,’ उनले भने । मलेसियामा सेक्युरिटी गार्ड र क्लिनरको जिम्मा सप्लाई कम्पनीलाई दिइएको छ । सप्लाई कम्पनीले नै नेपालबाट यस्ता कामदार डिमान्ड गरी भर्ना गर्छन् । यस्ता कामदारका लागि निश्चित रकम तोकिएको छैन । कम्पनीहरूले टेन्डर निकाल्छन् । टेन्डरमा जति कम रकम कबोल्यो, त्यति नै डिमान्ड पाउने सम्भावना हुन्छ । त्यसैले सप्लाई कम्पनीले प्रतिस्पर्धाका कारण थोरै रकम राख्ने गरेको उनले बताए । उपलब्ध गराउने कम्पनीबाट नै कम रकम लिएपछि कामदारले पनि थोरै रकम भुक्तानी गर्ने गरेको उनको भनाइ छ ।
उनका अनुसार अहिले मलेसिया सेक्युरिटी गार्डको रोजगारीमा कम्तीमा पनि दुई हजार रिंगेट (५८ हजार रुपैयाँ) भुक्तानी गरिन्छ । कामदारको अनुभव र शैक्षिक योग्यताका आधारमा दुई हजार पाँच सय रिंगेट (७२ हजार पाँच सय रुपैयाँ)सम्म भुक्तानी हुने उनले बताए । यसका साथै सप्लाई कम्पनीले सेक्युरिटी गार्डलाई बस्ने सुविधा भने दिन्छ । तर, खानाको व्यवस्था भने आफैँ गर्नुपर्छ । गार्डले दैनिक चार घन्टाजति ओभरटाइम पाउँछन् ।
कम्पनीको प्रतिस्पर्धाले कामदार मर्कामा
मलेसियामा सेक्युरिटी गार्ड सप्लाई गर्ने कम्पनीबीचको प्रतिस्पर्धाले कामदार मर्कामा परेका छन् । टेन्डरमा कम्पनीहरू अस्वस्थ प्रतिस्पर्धामा उत्रिँदा सेक्युरिटी गार्ड मर्कामा पर्ने गरेको मलेसियामा सप्लाई कम्पनी सञ्चालक एवं नेपाल गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष बालध्वज लिम्बूले बताए ।
मलेसिया सेक्युरिटी गार्डमा काम गर्ने सबै शोषणमा नभएको, केहीले राम्रो सुविधा पनि पाएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले बताए । मलेसियामा धेरै कम्पनीहरू छन् । सबै कम्पनी खराब छैनन् । केहीको भने गुनासो छ । त्यसैले मलेसिया आउनुअघि सम्झौतापत्र राम्रोसँग अध्ययन गरेर मात्रै आउन उनले आग्रह गरे । यद्यपि, दूतावासले भने कम्पनीहरूको अनुगमन गरी यस्ता समस्या समाधान गर्न प्रयासमा रहेको उनले बताए ।
पहिला कम्पनीको संख्या कम थियो । नेपालबाट भर्ना गरिएका कामदारलाई मलेसियामा ल्याइएपछि तालिम पनि दिइन्थ्यो । गार्डले सेवा–सुविधा पनि सोहीअनुसार पाउँथे । कोभिडपछिको अवस्था फरक भएको छ । मलेसिया जाने नेपाली कामदारको संख्या पनि ह्वात्तै बढेको छ । त्यस्तै, मलेसियामा सप्लाई कम्पनीको संख्या पनि बढेको छ ।
बुटवलका ४२ वर्षे तेजबहादुर पाण्डे सेक्युरिटी गार्डका लागि मलेसिया पुगेको दुई महिना मात्रै भयो । मलेसियास्थित जोहरबरुमा काम गर्ने उनको मासिक पारिश्रमिक करिब ५८ हजार छ । दैनिक १२ घन्टा र महिनाको ३० दिन नै काम गर्नुपर्ने उनको गुनासो छ । त्यस्तै, कञ्चनपुरका केशव कुँवर भने तीन महिनाअगाडि मलेसिया पुगेका हुन् । मलेसियाको क्वालालम्पुरमा कल सेन्टरमा सेक्युरिटी गार्ड उनले दैनिक १२ घन्टा ड्युटी गर्नुपरे पनि हप्तामा एक दिन भने बिदा पाउने गरेको बताए । क्वालालम्पुरमा भेटिएका उनलाई कम्पनीले ७५ हजार चार सय पारिश्रमिक दिएको छ । कञ्चनपुरकै रामबहादुर विष्ट वैदेशिक रोजगारीका लागि मलेसिया पुगेको तीन महिनामा भयो । उनलाई पनि कम्पनीले सातामा एक दिन बिदा दिएको छ । विष्ट पूर्वआर्मी हुन् । उनलाई पनि कम्पनीले मासिक २६ सय रिंगेट पारिश्रमिक दिएको छ ।