हुलाकी राजमार्गको काम अघि बढाउन निर्देशन

शनिबार, २३ बैशाख, २०८०
डिजिटल संस्करण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गको बेतौना–विराटनगर सडकखण्डको समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

हुलाकी राजमार्गको मोरङखण्डमा ठेकेदार कम्पनीले काम रोकेपछि संघीय सांसद, प्रदेश सभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले बिहीबार पत्रकार सम्मेलन गरेका थिए । त्यसलगतै मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गरी समस्या समाधान गर्न निर्देशन दिएका हुन् । झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला कार्यक्षेत्र रहेको इटहरी योजना कार्यालयले ४४ किमि खण्डमा पाँच ठेक्का लगाई निर्माण कार्यलाई तीव्रता दिएको छ, जसमध्ये २० किमि कालोपत्रे भइसकेको छ । 

बेतौनादेखि विराटनगरसम्मको करिब १८ किलोमिटरमा सञ्चालित दुई ठेक्काको निर्माण कार्य करिब एक महिनादेखि ठप्प रहेको छ । निर्माणको काम ठप्प भएपछि जनप्रतिनिधिले पत्रकार सम्मेलन गरेका थिए । त्यसपछि मन्त्री ज्वालाले यस्तो निर्देशन दिएका हुन् ।

एक महिनादेखि निर्माण कार्य रोकिएपछि आयोजनाको इटहरी कार्यालयले र निर्माण सुचारु गर्न निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ । समयमा निर्माणको काम सक्ने गरी तत्काल काम नथाले निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले चेतावनी दिएको छ ।

सुझावित समाचार