कुनै पनि कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरधनीहरूलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरी अर्थात् कम्पनीको प्रतिफलमा अन्तिम अधिकार हुने गरी जारी गरिएको धितोपत्रलाई साधारण सेयर भनिन्छ ।
साधारण सेयरमा लगानी गर्ने लगानीकर्तालाई आफ्नो लगानीको अनुपातअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण सेयरधनीले बढी जोखिम उठाउनुपर्दछ । कम्पनीको कार्यसम्पादनलगायतका विषयलाई विश्लेषण गरी साधारण सेयरमा लगानी गरेमा उच्च लाभ प्राप्त हुने भए तापनि यसमा गरिने लगानीमा उच्च जोखिमसमेत हुने गर्दछ ।
अग्राधिकार सेयर : कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयर हो । कम्पनीले वितरण गर्ने लाभांशसम्बन्धमा साधारण सेयरधनीभन्दा अग्राधिकार सेयरधनीको अग्राधिकार हुने हुनाले नै यसलाई अग्राधिकार सेयर भनिएको हो ।
अग्राधिकार सेयरधनीले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा बाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउँदैनन् । यस प्रकारको अग्राधिकार सेयरधनीलाई कम्पनी खारेजीमा जाने भएमा आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने अधिकार साधारण सेयरधनीभन्दा अगाडि हुन्छ । तर, अग्राधिकार सेयरधनीलाई बोनस सेयर तथा हकप्रद सेयरको फाइदा भने प्राप्त हुँदैन ।
बोनस सेयर : कम्पनीको बचत वा अवितरित नाफालाई पुँजीमा परिवर्तन गरी सो पुँजी बराबर हुने गरी विद्यमान सेयरधनीहरूलाई लाभांशको रूपमा वितरण गरिने थप सेयरलाई बोनस सेयर भनिन्छ । संगठित संस्थाहरूले लगानीकर्तालाई कागजी प्रमाणपत्र वितरण गर्दै आएकोमा बोर्डको निर्देशनअनुरूप हाल लगानीकर्ताको आफ्नै हितग्राही खातामा बोनस सेयर सीधै जम्मा हुन्छ । – नेपाल धितोपत्र बोर्ड