बजारमा कालोबजारी, मूल्यवृद्धि र अखाद्य वस्तुको बिगबिगी बढिरहे पनि प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट दैनिक खटिने अनुगमन टोलीले भने बजारको अवस्था सामान्य रहेको रिपोर्ट दिँदै आएका छन् ।
विभागले उपत्यकाको बजार अनुगमन गर्न दैनिक तीन–चार टोली परिचालन गर्दै आएको छ । सो टोलीले दिनभर खाद्य किराना, कपडा, हार्डवेयर, इलेक्ट्रिक, मार्ट तथा ग्रोसरी, होटेल–रेस्टुरेन्ट, जुत्ता–चप्पल, भाँडाकुँडा, तरकारी तथा फलपूmल, कस्मेटिक, निर्माण सामग्री, मिठाई, अटो पार्टस्, औषधि, डेरी, स्टेसनरीलगायतका पसलमा अनुगमन गर्ने गरेका छन् ।
दैनिक अनुगमनमा खटिने टोलीले पछिल्लो अवस्था सामान्य रहेको रिपोर्ट दिनेक्रम बढेको छ । चालू आवको १९ वैशाखसम्म गरेको विभागको अनुगमन रिपोर्टअनुसार कुल दुई हजार नौ सय ९० फर्ममा अनुगमन भएको छ । त्यसमध्ये एक हजार तीन सय २३ फर्ममा कुनै कैफियत नदेखिएको उल्लेख छ ।
१ देखि १९ वैशाखसम्म मात्रै उपत्यकाको एक सय ५१ वटा पसलमा अनुगमन भएकोमा ७१ वटा कैफियतविहीन अवस्थामा कारोबार गरिरहेको भेटिएको विभागको रिपोर्टमा उल्लेख छ । थप ४३ वटा पसलमा कामदार रहेका कारण कागजात नभएको अनुगमन टोलीले जनाएको छ, तर यी पसलका सञ्चालक विभाग आएर कागजात पेस गरिसकेका छन् । अधिकांशको कागजात सही हुने गरेको विभागका निर्देशक होमनाथ भट्टराईले जानकारी दिए ।
कागजातसमेत दुरुस्तै हुने फर्मको संख्यालाई समेत जोड्ने हो भने अनुगमन भएको एक सय ५१ मध्ये विभागको अनुगमन टोलीले एक सय १४ वटा फर्ममा कुनै कैफियत नभेटिएको र सामान्य रूपमा कारोबार भइरहेको अवस्थामा भेटिएको देखिन्छ । विभागको यस्तो रिपोर्टले बजारको समस्या घट्दै गएर उपभोक्ताअनुकूल बन्न थालेको निष्कर्ष निस्किन्छ, तर यथार्थमा बजार अझै पनि उपभोक्ताप्रतिकूल नै रहेको अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।
‘बजारमा मूल्य, गुणस्तर र नापतौल ठगीमा कुनै कमी आएको छैन । उपभोक्ताको अनुहार हेरेर वस्तुको मूल्य निर्धारण गर्ने प्रवृत्ति विद्यमान छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमिल्सिनाले भने । उनले अहिलेको अनुगमन प्रणालीका अनुसार बजारमा सुधार आउनै नसक्नेसमेत बताए ।
विभागका निर्देशक भट्टराईले भने दैनिक अनुगमन भइरहेकाले बजार अवस्थामा सुधार नै आएको जिकिर गर्छन् । ‘हामीले अनुगमन नगरेको उपत्यकाका ठूला पसल त पाउनै मुस्किल हुन्छ,’ उनले भने, ‘हामीले दोहो¥याएर अनुगमन गर्ने प्रणालीको विकास गरेका कारण पनि व्यवसायी सचेत हुन थालेका छन् ।’ विभागको टोलीले मूल्यसूची र साइनबोर्ड, बिलबिजक जारी गरे–नगरेकोलगायतका विषय बढी हेर्ने गरेका छन् । व्यवसायीको खरिद र बिक्री मूल्यबीचको अन्तर, गुणस्तर, अधिकतम खुद्रा मूल्य–एमआरपी), प्याकेजिङ भएको सामानको यकिन तौललगायतका विषयमा खासै अनुगमन केन्द्रित हुन सकेको छैन ।
जरिवाना असुलीमा मनपरी
विभागका निरीक्षण अधिकृतले एउटै कसुरमा पनि फरक–फरक जरिवाना असुल गर्ने गरेका छन् । ५ वैशाखमा नयाँ बानेश्वर क्षेत्रको एक विद्युतीय पसलमा अनुगमन गर्न गएको टोलीलाई सञ्चालकले अभद्र व्यवहार गरेका थिए । त्यसपछि टोलीले पसल सञ्चालकलाई अनुगमनमा असहयोग गरेको भन्दै २० हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सोही अनुगमन टोलीले सोही दिन अर्को एक कपडा पसल सञ्चालकबाट आवश्यक सहयोग नपाएको भन्दै पाँच हजार मात्रै जरिवाना तिराउन निर्णय लिएको थियो ।
३ असोज ०७९ मा लाजिम्पाट क्षेत्रमा डिपार्टमेन्टल स्टोरमा अनुगमन हुँदा खरिद बिल नराखेको पाएपछि १० हजार जरिवाना तिराइएको थियो । सोही दिन बागबजारको कपडा पसलमा अर्को अनुगमन टोलीले खरिद बिल नराखेकै कसुरमा पाँच हजार जरिवाना तिराएको थियो भने वटुगल्लीको कपडा पसललाई सोही कसुरमा २० हजार रुपैयाँ जरिवाना तिराएको थियो ।
३ असोज ०७९ मै ललितपुरस्थित एक औषधि पसल दर्ता प्रमाणपत्रविनै सञ्चालन गरेको पाएपछि ५० हजार जरिवाना तिराइएको थियो । १४ कात्तिकमा ओखरपौवाको एक पानी उद्योगमा अनुगमन गर्दा पनि मूल्यसूची र दर्ता प्रमाणपत्र नभेट्टाएपछि एक लाख जरिवाना गरिएको थियो ।
उपभोक्ता संरक्षण ऐन, ०७५ मा विभिन्न कसुरमा निश्चित रकम जरिवाना तिराउने व्यवस्था नगरी न्यूनतमदेखि अधिकत जरिवाना रकमबारे उल्लेख छ । यही व्यवस्थाअनुसार अनुगमनमा खटिने निरीक्षण अधिकृतले सनकका भरमा मनपरी जरिवाना तिराउने निर्णय गर्दै आएका छन् ।
डेढ करोड राजस्व संकलन
वाणिज्य विभागले चालू आव ०७९/८० को १९ वैशाखसम्म दुई हजार नौ सय ९० फर्ममा अनुगमन गरेको छ । यीमध्ये विभिन्न कसुरमा पाँच सय ९६ वटा फर्मलाई कारबाही गर्ने क्रममा एक करोड ६० लाख ४४ हजार एक रुपैयाँ जरिवाना संकलन गरिएको छ ।विभागले पाँच हजारदेखि तीन लाख रुपैयाँसम्मको जरिवाना अनुगमनस्थलमै तिराउने निर्णय गर्दै आएको छ । विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै खाद्य–किराना पसलमा अनुगमन हुने र सोही क्षेत्रबाट जरिवानासमेत धेरै असुल हुने गरेको छ ।
खाद्य–किराना पसलले बिलबिजक जारी नगर्ने, मूल्यसूची र साइनबोर्ड नराख्ने, अनुगमन टोलीलाई असहयोग गर्ने, दर्ता–नवीकरणविनै पसल सञ्चालन गर्नेलगायतका कैफियत देखिने गरेका छन् । यस अवधिमा दुई सयवटा खाद्य–किराना पसललाई कारबाही भई ४२ लाख ४६ हजार एक रुपैयाँ जरिवाना असुल भएको छ ।त्यस्तै होटेल, रेस्टुरेन्टबाट १९ लाख १५ हजार र कपडा पसलबाट ११ लाख ९२ हजार रुपैयाँ जरिवाना असुल भएको छ । विभागले यस अवधिमा एक करोड ५० लाख ३३ हजार चार सय ८० रुपैयाँबराबरको अखाद्य वस्तु नष्ट गरेको पनि जनाएको छ ।
