नयाँ स्टक एक्सचेन्जसँग प्रतिस्पर्धा गर्न रणनीति बनाउँदै नेप्से

आइपिओ जारी गर्नेदेखि नयाँ इन्डेक्स र अध्ययन प्रतिवेदन कार्यान्वयनमा ल्याउने तयारी

बिहिबार, २१ बैशाख, २०८०
डिजिटल संस्करण

नयाँ प्रतिस्पर्धी स्टक एक्सचेन्ज आउने भएसँगै सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रतिस्पर्धा रणनीति बनाउने तयारीमा जुटेको छ । नेपाल धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज खोल्ने आवेदन परेसँगै नेपाल स्टक एक्सचेन्जले प्रतिस्पर्धामा उत्रिने तयारी सुरु गरेको हो । 

वर्षौँदेखि एउटै स्टक एक्सचेन्ज भएकाले प्रभावकारी हुन नसकेको, टिएमएस प्रणाली, कारोबारको राफसाफ राम्रो नभएको भन्दै लगानीकर्ता र सरोकारवाला निकायले नै प्रतिस्पर्धी स्टक एक्सचेन्ज ल्याउनुपर्ने माग गरेका थिए । मागलाई सम्बोधन गर्दै गत वर्ष भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले धितोपत्र निष्कासन नियमावली २०६४ लाई संशोधन गर्दै २०७९ जारी गरेसँगै नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल तथा व्यवसायी (ब्रोकर) लाइसेन्स दिने बाटो खुला गरेको थियो । 

नयाँ स्टक एक्सचेन्ज खोल्नका लागि नेपाल धितोपत्र बोर्डमा ठूला घराना जोडिएका कम्पनीको आवेदन परेको छ । आवेदन परेका कम्पनीमा हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल, अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेड रहेका छन् । यीमध्ये कुनै एकले लाइसेन्स पाउने लगभग निश्चित छ । त्यसका लागि धितोपत्र बोर्डले मूल्यांकन समिति बनाएको छ । मूल्यांकन समितिकै आधारमा योग्य कम्पनीले नयाँ लाइसेन्स पाउनेछन् । 

हाल नेपाल स्कट एक्सचेन्जमा नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४ दशमलव ६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव १५ प्रतिशत, लक्ष्मी र प्रभु बैंकको पाँच–पाँच प्रतिशत र केही पुराना ब्रोकरलगायत अन्यको शून्य दशमलव ६ प्रतिशत सेयर स्वामित्व रहेको छ । नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स आउने भएसँगै नेपाल स्कट एक्सचेन्ज (नेप्से)लाई प्रतिस्पर्धामा उत्रिन चुनौती थपिएको हो । 

३० प्रतिशत आइपिओ जारी गर्ने
नयाँ स्टक एक्सचेन्ज आउने भएसँगै लगानीकर्ताहरूलाई आकर्षित गर्नका लागि नेप्से आइपिओ जारी गर्ने तयारीमा जुटेको छ । पब्लिक कम्पनीमा गएर लगानीकर्तालाई ३० प्रतिशत सेयर जारी गर्ने तयारीमा जुटेको हो । नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पाइपलाइनमा भएका कम्पनीमध्ये जुन आए पनि प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।

उनले भने, ‘हामी प्राविधिक रूपमा सुधार गर्नुपर्ने र लगानीकर्तालाई आकर्षित गर्ने विषयमा कुनै कसर राख्दैनौँ, त्यसका लागि सेयर जारी गरेर भए पनि लगानीकर्तामुखी बजार बनाउनेमा जोड हुनेछ ।’नयाँ स्टक एक्सचेन्ज आएसँगै अनिवार्य रूपमा पब्लिक (साधारण) सेयर जारी गर्नुपर्ने नियामावलीमा उल्लेख गरिएको छ । पब्लिक कम्पनीमा गएको दुई वर्षभित्र अनिवार्य रूपमा ३० प्रतिशत सेयर निष्कासन गर्नुपर्नेछ । 

नेप्से–३० इन्डेक्स लागू गर्ने योजना
नेप्सेले दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यअनुरूप बजारमा तत्काल कारोबारयोग्य सेयरलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकका रूपमा नेप्से–३० ल्याउने तयारीमा जुटेको छ । 

उक्त सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड सञ्चालनलगायतमा सघाउ पु¥याउने नेप्सेले अपेक्षा गरेको छ । यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्ताले भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त गर्ने नेप्सेले जनाएको छ । प्रस्तावित नेप्से–३० इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था (कम्पनी) छनोटका ६ वटा आधार तय गरिएको छ ।

साथै विगत पाँच आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा तीन वर्ष नाफामा रहेको हुनुपर्नेछ । यस किसिमको दीर्घकालीन महत्वको सूचकांकको गणना विधि तथा यसमा समावेशका लागि लिइने सूचीकृत संगठित संस्था छनोटको विधि पारदर्शी तथा विश्वसनीय बनाउन सरोकार राख्नेसँग नेप्सेले बुधबार सुझाव पनि मागिसकेको छ । 

 प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने दबाब
नेपाल स्टक एक्सचेन्जलाई पुनः संरचना गर्नुपर्ने भन्दै यसअघि भएका अध्ययन प्रतिवेदनमा आएका कुरालाई कार्यान्वयन गर्नुपर्ने दबाब बढेको छ । यसका लागि नेप्सेका कर्मचारीले नै बुधबार नेप्सेकै अगाडि धर्ना दिएर विरोध जनाएका छन् । ०८० भित्रै नेप्सेको पुनर्संरचना गर्नसमेत माग गरेका छन् । नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले नयाँ स्टक एक्सचेन्ज आएसँगै नेप्सेलाई बलियो बनाएर लैजानुको विकल्प नभएको भन्दै दबाब दिएको बताए । 

कर्मचारीले अध्ययन प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । पछिल्लो समय हालका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीकै अध्यक्षतामा नेप्से सुधारको प्रतिवेदन बनाइएको छ । पूर्वसचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा बनाएको उक्त प्रतिवेदनले नेप्सेको पुँजी संरचनालाई वृद्धि गर्नुपर्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा ‘अहिलेको आवश्यकता पुँजी वृद्धिको हो, त्यसलाई तीन अर्ब रुपैयाँ पुर्याउनुपर्ने’ उल्लेख छ ।

त्यस्तै, अर्थविद् तथा नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतवहादुर कार्की निजी क्षेत्रबाट आउने कम्पनीले जस्तो रणनीति अपनाउँछन्, अहिले भएका स्टकले पनि सोही फलोअप गर्दै जाने हुँदा भोलिका दिनमा प्रतिस्पर्धा हुने बताउँछन् । दुई स्टक एक्सचेन्ज नेपाल टेलिकम र एन्सेलजस्तै बिस्तारै प्रतिस्पर्धी हुँदै जाने उनको अनुमान छ । त्यसका लागि नेप्सेले पनि तयारी गर्नुपर्ने र आफूलाई प्रतिस्पर्धामा उतार्न सबै हिसाबले तयार रहनुपर्ने कार्कीको भनाइ छ । उनले भने, ‘सुरुका दिनमा केही अन्योल भए पनि बिस्तारै प्रतिस्पर्धा हुन्छ, नयाँ कम्पनीले कस्तो रणनीति अपनाउँछ, त्यसैअनुसार अहिलेकाले पनि आफूलाई तयार राख्नुपर्छ ।’

सुझावित समाचार